Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधमाधम उम्मेदवार सिफारिस गर्दै राजनीतिक दल

धमाधम उम्मेदवार सिफारिस गर्दै राजनीतिक दल


दोलखा । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि यतिबेला राजनीतिक दलका तल्ला तहहरू उम्मेदवार सिफारिस गर्नमा व्यस्त छन् । पार्टीको केन्द्रीय समितिले तल्ला तहको समितिलाई उम्मेदवार सिफारिसको अधिकार दिएपछि दलहरू उम्मेदवार सिफारिस गर्नमा व्यस्त भएका हुन् ।

एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको दोलखाका राजनीतिक दलहरू पनि यतिबेला उम्मेदवारको नाम सिफारिस गर्न केन्द्रित छन् । यहाँका मुख्य तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधि र प्रदेशसभा सदस्यको लागि प्रत्यक्ष र समानुपातिकतर्फको लागि दर्जनौँ उम्मेदवारको नाम प्रदेश र केन्द्रलाई सिफारिस गरिसकेका छन् । नेपाली कांग्रेस दोलखाले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष र समानुपातिकमा गरी ११ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस दोलखाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि पार्टीका केन्द्रीय सदस्यहरू जिपछिरिङ लामा, कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटी, जिल्ला पार्टी सभापति बर्मा लामा, पूर्वपार्टी सभापति रुद्रबहादुर खड्का, ताराबहादुर कोइराला, उद्धवराज काफ्ले र लक्ष्मीकुमारी तमाङको नाम सिफारिस गरेको नेपाली कांग्रेस दोलखाका प्रवक्ता राकेश श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरेको छ । जसमार प्रभुराम श्रेष्ठ, पुष्कर कुमार खड्का र सुमित्रा न्यौपाने रहेका छन् । त्यस्तै कांग्रेसले प्रदेश सभा ‘क’ र ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि २७ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदेशसभा ‘क’ बाट १३ जना र प्रदेशसभा ‘ख’ बाट १४ जना रहेका छन् ।

त्यस्तै नेकपा एमाले दोलखाले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आठ जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा एमाले पोलिटब्युरो सदस्यदय पार्वत गुरुङ र आनन्द प्रसाद पोखरेल, केन्द्रीय सदस्यहरू सरस्वती बस्नेत र रचना खड्का, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन, एमाले दोलखाका निवर्तमान अध्यक्ष इश्वरचन्द्र पोखरेल, श्याम बस्नेत र भरत प्रसाद दुलाल रहेका छन् । सोमबार बसेको जिल्ला कमिटीको बैठकले उम्मेदवारका आकांक्षी सबैको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै एमालेले प्रत्यक्षतर्फ प्रदेश ‘क’ मा ४ जना र ‘ख’ बाट ५ जनाको नाम सिफारिस गरेको छ । एमाले दोलखाले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश ‘क’ बाट ११ जना र प्रदेश ‘ख’ बाट १२ जनाको नाम सिफारिस गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र दोलखाले पनि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको लागि ४० जनाको नाम सिफारिस गरेको छ । जिल्ला समन्वय कमिटीको सोामबार बसेको बैठकले प्रतितिधिसभाको प्रत्यक्षतर्फ छ जनाको नाम सिफारिस गरेको हो । माओवादी केन्द्रले पोलिटव्युरो सदस्य गंगा कार्की र देवी खड्का, वैकल्पिक केन्द्रीय सदस्यहरू विशाल खड्का, शंकर लामा, गोपाल पाण्डे र हेम श्रेष्ठको नाम सिफारिस गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया