सेयर सदस्यलाई थाहै नदिई फर्जी ऋण लगानी !
दोलखा,जिल्लाको बैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा रहेको भविष्य निर्माण महिला बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई थाहै नदिईकन उनीहरूको नाममा फर्जी ऋण लगानी गरेको पाइएको छ । संस्थाकी अध्यक्ष र व्यवस्थापकको मिलेमत्तोमा सेयरधनीहरूलाई थाहा नै नदिई उनीहरूको नाममा ऋण निकाल्ने र संस्थाका पदाधीकारी आफैँले चलाउने गरेको पाइएको हो । करिब चार करोड कुल पुँजी रहेको सहकारीमा एक करोडको हाराहारीमा रकम हिनामिना भएको सेयर सदस्यहरूको आरोप छ ।
केही महिनाअघि सञ्चालक समितिकी अध्यक्ष प्रतिभा घिमिरेले १६ लाख र व्यवस्थापक उर्मिला बस्नेतले ३६ लाख रकम चलाएको भेटिएपछि सदस्यहरूले सञ्चालक समितिसामु हरहिसाब खोज्न थालेका छन् । सेयर सदस्यको हस्ताक्षर र औँठाछाप समेत कीर्ते गरी ऋण लगानी भएको पाइएको सहकारीका एक पूर्वसञ्चालक समितिका सदस्यले बताइन् । उनका अनुसार यस संस्थाका सञ्चालक समितिका पदाधिकारी र व्यवस्थापकले आफूखुसी आफ्ना नातेदारहरूलाई विनाब्याज, विनाधितो ऋण दिने गरेको पाइएको छ ।
साथै सहकारीले एक जनालाई पाँच लाखसम्म ऋण लगानी गर्ने नीति लिए पनि नीतिबाहिर गएर पद र पावरको आडमा सेयर सदस्यहरूलाई थाहै नदिई उनीहरूका नाममा फर्जी ऋण लगानी गरिएको लगायतका थुप्रै प्रमाणहरू भेटिएको उनले बताइन् । त्यस्तै उनले ऋण नै नलिएका सदस्यको नाममा एक लाखदेखि पाँच लाख रूपैयाँसम्म ऋण लिएको देखिएपछि सेयर सदस्यहरू समेत अचम्मित बनेको बताइन् । अहिले संस्थामा आकस्मिक ऋण लिन जाने सदस्यलाई पाँच हजार ऋण समेत सहकारी नदिने गरेको उनको भनाइ छ ।
उक्त संस्थाकी सेयर सदस्य शान्तिकुमारी बस्नेतको नाममा फर्जी ऋण लगानी देखिएपछि सहकारीमा भएको हिनामिना सार्वजानिक भएको हो । बस्नेतले सहकारीबाट ऋण लिएकी छैनन्, तर उनको नाममा एक लाख रूपैयाँ ऋण देखिएको छ । त्यस्तै केही महिनाअगाडि संस्थाकी सेयर सदस्य सरस्वती बस्नेतका नाममा पनि ५० हजार रूपैयाँ लगानी भएको पाइएको थियो । सरस्वतीले आफ्नो नाममा फर्जी ऋण देखिएको थाहा पाएर विरोध गरेपछि उनलाई पछि सञ्चालक समितिमा ल्याइएको छ ।
बैतेश्वर गाउँपालिकाकी एक कार्यपालिका सदस्य पदाधिकारी र कर्मचारीको चरम लाहपरबाहीले सहकारी हाल टाट पल्टेको बताउँछिन् । आपत् परेको बेलामा आफूले पाँच हजार ऋण लिन जाँदा समेत नपाएर रित्तै फर्किनु परेको बताइन् । सहकारीको कारोबारका बारेमा सार्वजनिकरूपमै शंका उत्पन्न भएको तथा प्रश्न उठेपछि बैतेश्वर गाउँपालिकाले घटनाको छानबिन गर्ने भएको छ । गाउँपालिकाले छानबिन समिति बनाएर सहकारीको हिसाबकिताब हेर्ने तयारी गरेको बैतेश्वर गाउँपालिकाको निमित्त प्रशासकीय अधिकृत रबिन्द्र चौलागाईले जानकारी दिए । कार्यपालिकाको बैठकले सहकारीका छाता संस्थाका प्रतिनिधिसहितको समिति बनाएर छानबिन गर्ने तयारी थालेको हो ।सुबास बस्नेत
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया