Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक महिनाभित्र अनलाइन टिकेटको व्यवस्था गर्न वायूसेवा निगमलाई निर्देशन

एक महिनाभित्र अनलाइन टिकेटको व्यवस्था गर्न वायूसेवा निगमलाई निर्देशन


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाभित्र अनलाइन टिकेटिङ्ग व्यवस्था गर्न नेपाल वायूसेवा निगमलाई निर्देशन दिएका छन् । सर्वसाधरणले टिकट नपाउने तर, दलालहरुले बिक्री गर्ने गरेको पाईएको भन्दै उनले अनलाइन टिकटको व्यवस्था गर्न निगमलाई निर्देशन दिए ।

सोमबार निगमको निरिक्षण गर्दै उनले जहाज समयमै उडाउन र सेवालाई सरल र प्रभावकारी बनाउन समेत निर्देशन दिए । साथै निगमको वार्षिक रुपमा आर्थिक अवस्था र निगमको समग्र कार्ययोजना ल्याउन पनि निगमलाई आग्रह गरे । यस्तै उनले थन्किएर रहेका विमानहरुको उचित प्रवन्ध मिलाउन समेत निर्देशन दिए । दुर्गम क्षेत्रका जनताले निगमप्रति सकारात्मक धारणा राखेको उल्लेख गर्दै उनले त्यसै अनुसार सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । निगमको हितमा आफू निरन्तर सक्रिय रहने बताउँदै निगम व्यवस्थापन र कर्मचारीहरुबाट पनि त्यस्तै अपेक्षा गरेको उनले उल्लेख गरे । विगतमा निगम प्रतिको जनताको विश्वासलाई पुनजीर्वित गराउन र प्रतिष्ठा बृद्धि गर्न आफ्नो योग्यता, दक्षता र अनुभव प्रयोग गर्नुपर्ने उनको भनाई थियो । उनले भने, ‘हाम्रो उद्देश्य एउटै हो निगम बनाउने । निगम असफल बनाउने छुट छैन । र त्यो समय, परिस्थिति र सन्दर्भले पनि दिँदैन । मलाई विश्वास छ, निगम व्यवस्थापनले सुधारको काम गर्नेछ ।’

पर्यटनमन्त्री किरातीले प्रत्येक दिन निगमको रिपोर्ट मन्त्रालयलाई बुझाउन निगम व्यवस्थापनलाई निर्देशन समेत दिए । ‘कुन जहाज कहाँ कति मिनेट र कति घण्टा डिले भयो । कुन जहाजको कहिले चक्का हरायो, कुन जहाजको तार मुसाले काट्यो, यी सब विषयको दैनिक रिपोर्ट मन्त्रालयमा ल्याउनुस् मन्त्रालयबाट म फर्किँदा प्रत्येक दिन निगमको रिपोर्ट बुझेर फर्कन्छु’, उनले भने । यस्तै उनले निगम सुधारको कार्ययोजना तत्काल ल्याउन निर्देशन दिए । यस्तै पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले निगमको विद्यमान अवस्थालाई सुधार गरी निगमको साख र गौरवलाई उचो बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्ने बताईन् । उनले निगमको सेवालाई चुस्त र प्रभावकारी बनाउन व्यावस्थापकीय सुधार र रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिईन् । यसैगरि उनले पर्यटन क्षेत्रका चुनौती र समस्याबारे गम्भीरतापूर्वक अध्ययन गर्न र देखिने चुनौती सामना गर्न वर्तमान सरकार लागिसकेको बताईन् ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले निगमको सेवा र व्यवसायिक कार्यलाई सन्तुलन मिलाई कामको गति अघि बढाउन आग्रह गरे । उनले सामाजिक सेवाको योजनाका साथै व्यावसायिक एवं प्रशासनीक सुधारमा निगम सक्रिय रहनु पर्ने सल्लाह दिँदै ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझ स्तरीय बनाउन निर्देशन दिए । यस्तै उनले जहाज किन्ने हो भने स्पष्ट कार्ययोजना बनाउन आग्रह गरे । ‘निगमलाई जहाज चाहिएको छ, तर, पहिला बिजनेस प्लान बनाउनुस् । जहाज थपेर मात्रै हुँदैन व्यवस्थापकीय सुधारसँगै गरिनुपर्छ, कुनै पनि वायुसेवा कम्पनी उडानमा प्राथमिकता हुनुपर्छ’, उनले भने ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमका गतिविधिबारे विस्तृत विवरण प्रस्तुत गर्दै मन्त्रीको निर्देशन अनुसार नै कामहरु गरिने बताए । निगमले १० वर्षे व्यावसायिक योजना (२०२१–३०) लाई परिमार्जन गरी व्यावसायिक योजना (२०२२–३१) तयार गरी संचालक समितिमा स्वीकृतिको लागि पेश गरिसकेको समेत उनले जानकारी गराए । यस्तै सरकारको निर्देशन प्राप्त हुनसाथ निगमलाई आवश्यक आन्तरिक उडानका जहाज खरिद प्रक्रिया अघि बढाइने उनको भनाई थियो । निगमको आन्तरिक स्रोतले नै दुई/तीनवटा विमान खरिद गर्न सकिने उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया