Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वआईजीपी खनालमाथि किन भएन छानबिन ?

पूर्वआईजीपी खनालमाथि किन भएन छानबिन ?


काठमाडौं, चैत ४
नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक सर्वेन्द्रनाथ खनालको संलग्नता भएको भनिएको चिनियाँ नागरिक चेन सितियान र रोङ फोङको गिरोहले काठमाडौंमा चलाएको साइबर आतंकमाथि आईजीपी खनालले अवकाश पाएको एक महिना बितिसक्दा पनि छानबिन हुनसकेको छैन ।

चिनियाँ नागरिकले नेपालमा मच्चाएको साइबर आतंकविरुद्ध गत पुस ७ गते प्रहरीले छापा मारेर १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले गत असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गरेका थिए । त्यसअघि नै चिनियाँ ह्याकर नेपाल छिरिसकेका थिए । उनीहरु चिनियाँ आर्मी पीएलएसँग सम्बद्ध रहेको पनि बताइन्छ । लगभग आठ सयको संख्यामा रहेको प्रहरीकै अनुसन्धानले देखाएको छ ।

राष्ट्रपति सीको नेपाल भ्रमण सकिएलगत्तै असोज २७ गते तत्कालीन आईजीपी सर्वेन्द्र खनाल इन्टरपोलको ८८औं महासभामा भाग लिन चिली गएका थिए । त्यति बेला एआईजी पुरस्कार कार्कीलाई निमित्त दिइएको थियो । त्यतिबेलै चिनियाँ ह्याकरको गतिविधिमाथि अध्ययन भएको थियो र त्यसको नेतृत्व हालका एआईजी शैलेश थापाले गरेका थिए । तर ७ पुसमा चिनियाँ ह्याकरमाथि सर्च अप्रेसन गर्दा उनीहरुलाई थाहा समेत दिएको थिएन । त्यति बेला थापा महानगरीय आयुक्तको कार्यालयबाट प्रधान कार्यालयमा सरुवा भएर त्यहाँ डीआईजी विश्वराज पोख्रेलको भर्खरै सरुवा भएको थियो । मनमैजु, बूढानीलकण्ठ, गोंगबु क्षेत्रमा सर्च अप्रेसन सुरु हुनेबित्तिकै आईजीपी खनालको साहसिक कार्य भनी केही अनलाइनहरुमा प्रचारवाजी सुरु भएको थियो र भर्खरै महानगरीय आयुक्तको कार्यालयमा सरुवा भएका डीआईजी पोख्रेललाई पनि त्यसको क्रेडिट दिइएको थिएन ।

१ सय २२ जना चिनियाँ ह्याकर पक्राउ पर्दा नपर्दै विभिन्न ठाउँमा अखडा जमाएर बसेका चिनियाँ ह्याकरहरु भागिसकेका थिए । प्रहरीले नै सूचना चुहाएका कारण उनीहरुलाई भाग्न सजिलो भएको थियो । तीमध्ये चितवनको सीजी अपार्टमेन्टबाट लुकेर बसेको ठाउँबाट पक्राउ परेका थिए । अरु सबै भागे, भगाइयो । पक्राउ परेका चिनियाँ ह्याकरहरु झण्डै हजारको संख्यामा मोबाइल र सयभन्दा बढी ल्यापटप बरामद गरेको थियो ।

पक्राउ परेका चिनियाँ ह्याकरहरुलाई चिनियाँ दूतावासले धरौटी लिएर प्लेन चार्टर गरेर चीन लगेको छ र उनीहरुसँगै बरामद भएका मोबाइल फोन र ल्यापटप पनि फिर्ता पठाइएको छ । जब कि त्यसमाथि गहिरो अनुसन्धान हुनुपथ्र्यो तर प्रहरी नेतृत्वले अनुसन्धान गर्न चाहेन । चिनियाँ ह्याकरविरुद्ध सर्च अप्रेसन सुरु हुनुअघि शुक्रबार कोष तथा लेखा नियन्त्रण कार्यालयको सर्भर ह्याक भएको थियो र सरकारले त्यसलाई गोप्य राखेको थियो । ह्याकरसँग लेनदेनको बार्गेनिङपछि सर्च अप्रेसन भएको थियो । आईजीपी खनालका लागि उक्त सर्च अप्रेसन बाध्यताको कदम रहेछ भन्ने त्यति बेला थाहा भयो । जतिबेला चिनियाँ ह्याकरका नाइके चेन सितियान र रोङफेङ सँगसँगै बसेको तस्बिर सार्वजनिक भयो ।

त्यसपछि चिनियाँ ह्याकरसँग आईजीपी खनाल जोडिएको प्रस्टै देखियो तर पनि सरकारले आईजीपी खनाललाई कुनै कारबाही गरेन । उनको चीन भ्रमण रोकिदियो तर चीन रिसाउने डरले खनाललाई कुनै कारबाही गरेन । त्यसो त आईजीपी खनाल पछिल्लो समय कांग्रेसीहरुसँग कित्ताकाट गरेर सत्तारुढ नेकपा नेताहरुसँग घनिष्ट भइसकेका थिए । नेकपाको सरकारले चीनलाई चिढ्याउने काम नगर्ने संकेत पाएपछि आईजीपी खनालले चिनियाँ ह्याकर अपराधी गिरोहका नाइकेसँग उठबस गर्न थालेका थिए ।

चिनियाँ ह्याकरले नेपालमा बसेर नेपालीसँग राम्रो सम्बन्ध भएका अमेरिकी र भारतीयहरुको डाटा संकलन पनि गरेको हुनसक्ने अनुमान गरिएको छ । तर आईजीपी खनालले नियोजित रुपमा अप्रेसनको नाममा चिनियाँ ह्याकर र उनीहरुको प्रमाण चीन सरकारलाई बुझाइदिएका थिए । उनले सरकारको भित्री योजनाअनुसार त्यसो नगरेको भए उनी आईजीपीबाट हटेपछि त्यसमाथि छानबिन हुने थियो र यतिबेला उनी राष्ट्रद्रोहको अभियोगमा प्रहरी हिरासतमा पुगिसक्ने थिए तर उनले अवकाश लिएको एक महिना बितिसक्दा पनि उनीमाथि कारबाही नथालिनुले साइबर अपराधको जालो सत्तासम्म बेरिएको लगभग प्रष्ट रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया