Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर

धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर

५९ लाख रुपैयाँ तिर्न आदेश


काठमाडौं,धादिङ जिल्लाको सुनौला बजारमा रहेको साना किसान कृषि सहकारी संस्थामा अनियमितता भएको अदालतले ठहर गरेको छ । उक्त सहकारी संस्थामा अनियमितता भएको आन्तरिक छानबिनले यसअघि नै देखाए पनि सो विषय अदालतमा पुगेपछि आम सर्वसाधारणको निक्षेप के हुने भन्नेमा लामो समयदेखि अन्यौलमै थियो । तर, जिल्ला अदालतले हालै गरेको फैसलाको कारण सर्वसाधारणको रकम ठगी गर्ने व्यक्ति पहिचान भएको छ र उसैले अब सर्वसाधारणको पैसा फिर्ता गर्नुपर्नेछ ।

२०७८ असार ३० गते जिल्ला अदालत धादिङमा साना किसान कृषि सहकारी संस्था सुनौला बजारका सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठसहितका १३ जनाले उक्त सहकारीकी प्रबन्धक लिलादेवी पोखरेलविरुद्ध मुद्दा दायर गरेका थिए । तत्कालीन समयमा उक्त संस्थामा भएको रकम हिनामिनाको सम्बन्धमा गठन भएको अध्यक्ष श्रेष्ठसहितको छानबिन समितिले संस्थामा ५९ लाख २३ हजार एक सय रुपैयाँ ८६ पैसा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।

संस्थामा सेयर सदस्यहरूको बचतको जिम्मा लिने काम व्यवस्थापन प्रमुख भएको र लामो समयदेखि संस्थाको प्रबन्धकमा लिलादेवी पोखरेल रहेको र उक्त अनियमितामा पोखरेलकै हात रहेको दाबी सञ्चालक एवं छानबिन समितिले गरेको संस्थाका अध्यक्ष श्रेष्ठले त्यतिबेला नै बताएका थिए ।

लामो समयदेखि प्रबन्धक रहेकी पोखरेलले संस्थामा हिसाब मिलान नगरेको र आफूखुुसी रकम चलाएको देखिएको तथा उनले पनि आफूले गरेको गल्ती स्वीकारेको र उक्त रकम आफूले तिर्ने बताए पनि पछि पोखरेलले हिनामिना भएको पैसा नतिर्ने मनासायले मुद्दा मामिलामा गएको अध्यक्ष श्रेष्ठले बताएका थिए । व्यवस्थापन प्रमुुखको नाताले संस्थामा आर्थिक पारदर्शिता कायम गर्ने जिम्मा उहाँको हो, अध्यक्ष श्रेष्ठले त्यतिबेला नै आर्थिक दैनिकका प्रतिनिधिसँग भनेका थिए । तर, त्यस विषयमा साना किसान सहकारीका प्रबन्धक पोखरेलसँग पटक–पटक सम्पर्क गर्न खोज्दा उनको एनसेल र एनटीसी दुवै नम्बर अफ गरिएको थियो ।

‘अहिले ढिलै भए पनि जिल्ला अदालतले सहकारीका पीडित सदस्यहरूको पक्षमा फैसला गरेको छ, यसबाट सहकारीमा रहेका छ सय ६७ सेयर सदस्यहरू खुसी भएका छन्’, अध्यक्ष श्रेष्ठले भने, ‘जिल्ला अदालत धादिङका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले २१ पटकको पेसीपछि उक्त मुद्दाको फैसला गर्दै सहकारीमा कबुल गरेको रकम ५९ लाख २७ हजार एक सय ६७ रुपैयाँ १३ पैसा सहकारीमा तिर्नका लागि फैसला भएको छ । अदालतको यो फैसलापछि पोखरेलले यो रकम सहकारीमा फिर्ता बुझाउनु पर्छ । फैसला सहकारीका आम सेयर सदस्यहरूको पक्षमा आएको छ । जसले हामी सबैलाई खुसी बनाएको छ ।’

धादिङको सुनौलो बजारमा रहेको उक्त साना किसान सहकारी संस्थामा लाखौँ रुपैयाँ आर्थिक अनियमितता भएको थियो । संस्थामा भएको रकम हिनामिनाको सम्बन्धमा गठन भएको छानबिन समितिले संस्थामा ५९ लाख २३ हजार एक सय रुपैयाँ ८६ पैसा अनियमितता भएको निष्कर्ष निकालेको थियो । संस्थामा सेयर सदस्यहरूको बचतको जिम्मा लिने काम व्यवस्थापन प्रमुख भएको र लामो समयदेखि संस्थाको प्रबन्धकमा लिलादेवी पोखरेल रहेको र उक्त अनियमितामा पोखरेलकै हात रहेको दाबी सञ्चालक एवं छानबिन समितिले गरेको थियो । सोहीबमोजिम अध्यक्ष श्रेष्ठसहितको १३ सदस्यीय छानबिन समितिले प्रबन्धक पोखरेलविरुद्ध धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

पोखरेलले पनि त्यतिबेला साना किसान सहकारीसँग सम्बन्धित विषयमा आफू पीडित भएको भन्दै जिल्ला अदालत धादिङमा मुद्दा हालेकी थिइन् । यता उक्त सहकारीका अध्यक्ष श्रेष्ठले भने संस्थाका प्रबन्धक पोखरेलले उक्त संस्थामा २४ वर्षदेखि कार्यरत रहेको र करिब १८ वर्षदेखि उनी प्रबन्धको रूपमा कार्यरत रहेकी भन्दै पोखरेलले संस्थामा गरेको अनियमितताको विषयमा छानबिन भएपछि आफ्नो नाउँमा भएको धेरै सम्पत्तिहरू दोस्रो व्यक्तिहरूको नाउँमा नामसारी समेत गरेको दाबी गर्दै आएका थिए ।

माओवादी युुद्धकालमा सो साना किसान सहकारी संस्थामा आगलागी गराइएको थियो । त्यहाँ कार्यरत कर्मचारी पनि माओवादी नै भएका कारण किसानहरूहरूको लालपुुर्जा जम्मा गरेर आगो लगाइएको थियो । त्यसरी आगो लगाएपछि त्यहाँ भएको कागजात जलाएर लाखौँ रुपैयाँ लिएर त्यहाँ काम गर्ने केही कर्मचारीहरूले काठमाडौंमा जग्गा किनेका थिए । अहिले ती व्यक्तिहरू काठमाडौंका धनीमानी गनिन्छन् ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया