Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला


ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।

जाति र ठाउँको नाम हो, तोक्पेगोला । यो ठाउँ मिक्वाखोला–५ पापुङमा पर्छ । समुद्री सतहदेखि चार हजार १०० मिटर उचाइमा पर्ने सो क्षेत्रमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सीमान्तकृत समूहमा तोक्पेगोला भनी सूचीकृत गरिएको छ ।

झुरुप्प घर, काठले छाएको छानो, भोटे झ्याल, टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल हो ! किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शीतलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो ।

अग्लो चट्टान छिचोलेर बग्ने झरनाको काखको बस्तीबाट वरपरका भिर र चट्टानमा मानव तथा जनावरका आकृतिका देखिन्छन् । पूर्वपट्टिको अग्लो भिरबाट झर्ने झरनाको दृश्य साँच्चिकै लोभलाग्दो छ । झरनाबाट दूध रङको छङ्छङ झर्ने पानीको दृश्य र आवाजले जो–कोहीलाई आनन्दित तुल्याउँछ । वरिपरिका चउरमा फुलेका रङ्गीचङ्गी फूलले सुनमा सुगन्ध थपिए झैँ बस्तीको सुन्दरता अझ बढाइदिएको छ । महिनैपिच्छे रङ फेर्नु र छिनछिनमा मौसम बदलिरहनु तोक्पेगोलाको बस्तीको विशेषता हो । कहिले पहेँलो फूलले पहेँलपुर बन्छ । कहिले नीलो, कहिले रातो त कहिले हरियो फूलको सौन्दर्यले अचम्मित बनाउँछ । कहिले सबै फूल सुकेर मरुभूमि जस्तो देखिन्छ । बस्ती क्षेत्र सिजनमा हरियो घाँसे मैदानमा परिणत हुन्छ । एकै छिनमा डाँडाकाँडा र बस्ती बाक्लो कुहिरोले छोपी दिन्छ । कुनै दुलहीले लजाउँदै घुम्टो खोलेको जस्तै मौसम उघ्रिदिन्छ ।

यहाँ पुग्न बर्खामा घामपानीको लुकामारी छिचोल्नै पर्छ । हिउँदमा कठ्याग्रिँदो जाडो । जुन समयमा पुगे पनि गलेर शिथिल बनेको शरीरमा फुर्ती बढ्छ । तोक्पेगोला क्षेत्रमा दर्जनौँ तालतलैया रहेका छन् । सोदो पोखरी, भूत पोखरी, तीन पोखरी, थाङ्ला पोखरी, साजु पोखरी र पाथीभरा पोखरी इत्यादि । डाँडाकाँडा, पाखा, पखेरा, छाँगा, वन जङ्गल, जडीबुटीले यो क्षेत्र सजिएको छ । बस्तीदेखि तीन सय मिटर दूरीमा छ, सोदोपोखरी । सो पोखरीमा नागपञ्चमीका दिन पूजा हुन्छ । यहाँ आउन चाहनेको एउटै लक्ष्य हुन्छ, तोक्पेगोला र सोदोपोखरी अवलोकन गर्ने । स्थानीय मिलन दोर्जे शेर्पाका अनुसार यहाँका बासिन्दाको मुख्य पेसा पशुपालन हो । गाई, याक तथा चौँरी पालेर जीवनयापन चल्छ । बिहान छाड्दा र गोधुली साँझमा फर्कंदा याक तथा चौँरीको घाँटीमा झुन्ड्याइएको घन्टीको कुन्डुङकुन्डुङ आवाजले मन प्रफुल्ल बन्छ । चीनको तिब्बतसँग सीमा जोडिएको छ यो ठाउँ । तिब्बतको रिउ बजार पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । चामलबाहेक दैनिक उपभोग्य सामग्री तिब्बतबाट ल्याउने गरेको थियो तर चार वर्षदेखि नाकाबन्द भएको छ । लामो समयसम्म नाका नखुल्दा व्यापार व्यवसाय ठप्प भएको तोक्पेगोलाका स्थानीय तेञ्जिङ शेर्पाले बताए ।

यस क्षेत्रमा आवश्यक सामग्री याकमार्फत् ढुवानी गर्छन् । याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ । तोक्पेगोलामा आठ महिनामात्र मान्छे बस्छन् । जाडो र हिउँ छल्न घरपालुवा जनावरसँगै पापुङमा झर्छन् । प्रायः सबैको पापुङमा घर छ । कात्तिकदेखि माघसम्म हिउँ पर्ने र जाडो अधिक हुने भएकाले बस्ती अर्थात् बेंसी झर्छन् । तोक्पेगोला क्षेत्रमा जडीबुटी पनि आम्दानीको स्रोत हो । तोक्पेगोला पुगेर फर्कने भन्छन्, “भर्जिन पर्यटकीय क्षेत्र ।”


क्याटेगोरी : बिबिध
ट्याग : #page 3

तपाईको प्रतिक्रिया