Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या तीन सय नाघ्यो

कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या तीन सय नाघ्यो


काठमाडौं ।
कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या तीन सय नाघेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या तीन सय एक जना पुगेको हो ।

संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई जना नेपालीको विदेशमा निधन भएको छ । यो साता जर्मनीमा एक जना र भारतमा एक जना नेपालीको कोरोनाका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घट्ना हो । स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, यूएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म विदेशका ४९ मुलुकमा ४८ हजार छ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार छ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१ प्रतिशत रहेको हो ।

यसैगरी गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाले कोरोना भाइरसविरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने संकेत देखापरेको बताएका छन् । रुसले निर्माण गरेको स्पुत्निक पाँच खोपको सामूहिक परीक्षण सुरु भएको र बेलायत र बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्तरूपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उनको भनाइ छ । यद्यपि नेपाली समुदायको ठूलो आवादी रहेको अमेरिकालगायतका मुलुकमा खोप प्रयोगको लागि एफडीएद्वारा अझै मान्यता प्राप्त नभएको र संक्रमण दर समेत उच्च रहेकोले सावधानी अपनाउनुको विकल्प नरहेको उनले बताए ।

कोरोना प्रभावित प्रत्येक मुलुकमा खोप उपलब्ध हुने आफ्नै समयरेखा तय भएको हुने हुँदा र खोपको पहुँचका लागि अझै केही समय प्रतीक्षा गर्नुपर्ने हुनसक्ने भन्दै डा. सापकोटाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे । खोपको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, जोखिमयक्त अवस्थाका मानिस, कमजोर स्वास्थ्य अवस्थाका बिरामी पर्ने भन्दै अन्य सबैले कोरोना लाग्नबाटै बच्ने उपाय अवलम्बन गर्न सकिने उनले बताए । विदेशमा रहेका नेपालीहरू संक्रमणको उच्च जोखिमबाट अझै मुक्त नभएको भन्दै डा. सापकोटाले उच्च स्वास्थ्य सावधानी अपनाएर जनजीवन सामान्य बनाउन आग्रह गरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया