Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलमजुङमा लामा कन्स्ट्रक्सनको हेभी उपकरणमा आगजनी

लमजुङमा लामा कन्स्ट्रक्सनको हेभी उपकरणमा आगजनी


काठमाडौं ।
लमजुङको नेपालडाँडा–तारकुघाट–बोर्नाग खोलाको सडक खण्ड निर्माणमा प्रयोग हुँदै आएको लामा कन्स्ट्रक्सन प्रा.लि को हेभी उपकरणमा अज्ञात समुहले आगजनी गरेको छ । राईनास नगरपालिकाको इलाका प्रहरी कार्यालय नजिक पार्किङ गरिराखिएको बा.२ क.७६१३ नम्बरको रोलरमा आगजनी गर्दा रोलरमा पूर्ण क्षति पुगेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन दाहालले बुधवार एक विज्ञप्ति जारी गरि निर्माण व्यवसायीहरूलाई अज्ञात समुहबाट निरन्तर हतोत्साहित गर्ने, उनीहरूको उपकरणहरूमा आगजनी गर्ने जस्ता हिंसात्मक घटनाहरू नरोकिएको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । निर्माण व्यवसायी र उनीहरूका उपकरणहरूको सुरक्षालाई लिएर महासंघले पटक पटक प्रधानमन्त्री सहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत यस्ता हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासंघको भनाइ छ ।

यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण कार्य ठप्प पारी महासंघ सशक्त आन्दोलनमा जान बाध्य हुने महासंघले जनाएको छ । तत्काल दोषीलाई पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित् निर्माण कम्पनीहरुलाई क्षतिपूर्ति दिन महासंघले सरकारसंग माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरूका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले पुन एकपटक सरोकारवाला सबैको ध्यानाकर्षण गराएको जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया