Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभेरी बबई आयोजना : परामर्शदाता कम्पनीका कर्मचारीले तलब पाएनन्

भेरी बबई आयोजना : परामर्शदाता कम्पनीका कर्मचारीले तलब पाएनन्


कर्णाली ।
भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको परामर्शदाता कम्पनीमा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । विगत एक वर्षदेखि पटक–पटक कम्पनीको ध्यानाकर्षण गराउँदा समेत पारिश्रमिक नपाएको भन्दै कर्मचारी आयोजनास्थलमा हडतालमा उत्रेका छन् ।

पारिश्रमिक नपाउने कर्मचारीमा कम्पनीका डेपुटी टिम लिडरदेखि सहयोगी कर्मचारी र चालकसमेत गरी १९ जना छन् । आयोजनाको डिजाइन, क्वालिटी कन्ट्रोल र सुपरभिजन कार्यका लागि आयोजनाले इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इञ्जिनियरिङ (एमजीसीई) तथा नेपालको इञ्जिनियरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी) लाई परिचालन गरेको हो ।

आयोजनाले २०७६ असोज ६ गते इरानी कम्पनी एमजीसीई तथा नेपालको एकोकोडीसँग सम्झौता गरेको थियो । हाल यी दुवै कम्पनीले साझेदारीमा काम गरिरहेका छन् । पारिश्रमिक नपाएर आन्दोलित हुने सबै नेपाली कर्मचारी हुन् । कम्पनीका कन्स्ट्रक्सन सुपरभिजन इञ्जिनियर हर्कबहादुर ऐरले तलबबारे पटक–पटक अवगत गराउँदासमेत कम्पनीले बेवास्ता गरेको बताए ।

‘हामीले माघ १९ गतेदेखि हडताल जारी राखेका छौँ, यसअघि छ पटकसम्म ध्यानाकर्षण गराइसकेका हौँ’, उनले भने, ‘तलब नपाएको एक वर्ष पुग्यो, अब त दैनिकी चलाउन मुस्किल प-यो ।’ आन्दोलनरत कर्मचारीले पारिश्रमिकको विषयलाई लिएर कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सुर्खेत, श्रम विभाग काठमाडौँ भेरी बबई डाइभर्सन आयोजना, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा उजुरी दिएका छन् ।

आयोजनाले परामर्शदाता कम्पनीका कर्मचारीले पारिश्रमिक नपाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोजनाले प्रेस विज्ञप्ति जारी गर्दै तलब नपाउने कर्मचारी आफ्ना नभएको र तलब खुवाउने दायित्वसमेत आफूहरुको नभएको स्पष्ट पारेको हो । आयोजनाले भनेको छ, ‘आन्दोलनरत कर्मचारी आयोजनाको आफ्नै नभएर आयोजनाको सपोर्टर परामर्शदाताको भएकाले तलब भत्ता खुवाउने दायित्वसमेत उसैको हो ।’ कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन परामर्शदाता कम्पनीलाई पटक–पटक निर्देशन दिएको आयोजनाको भनाइ छ ।

कर्मचारीले तलब नपाउनुमा परामर्शदाताका साझेदारबीचको आन्तरिक मामिला जिम्मेवार रहेको र यसमा आयोजनाले हस्तक्षेप गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ । हाल आयोजनाको दोस्रो चरणको निर्माण कार्य (हेडबक्स, सर्ज साफ्ट तथा वापर निर्माण) को काम भइरहेको छ । भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिँदै छ । ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ । दोस्रो चरणका संरचना निर्माणमा छ अर्ब १६ करोड ५२ लाख रुपैयाँ बजेट खर्च हुने बताइएको छ ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका– ५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमि २१० मिटर लामो सुरुङमार्फत वडा नं ११ हात्तीखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । त्यस्तै लुम्बिनी प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउने आयोजनाको लक्ष्य रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया