Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविकट गाउँमा रोगले भन्दा भोगले मर्ने चिन्ता

विकट गाउँमा रोगले भन्दा भोगले मर्ने चिन्ता


बझाङ ।
बझाङका विकट गाउँमा खडेरीका कारण हिउँदे बालीको उत्पादनमा कमी आएपछि रोगको भन्दा भोकको चिन्ता बढिरहेको छ । आकाशे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको हो ।

लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, मुसुरोलगायतका हिउँदे बालीको उत्पादनमा कमी आउँदा जिल्लामा चरम खाद्यसङ्कट हुने देखिएको छ । खडेरीका कारण अधिकांश क्षेत्रलगायतको हिउँदे बाली सुकेर नष्ट भएको थियो । उत्पादन घट्दा कृषिमै निर्भर हुनेगरेका र न्यून आयस्रोत भएको परिवारले चरम खाद्य सङ्कटको सामना गर्नुपर्ने अवस्था आएको छ ।

आकाशे पानीको भरमा खेती गर्ने यस क्षेत्रका कृषकहरूमा उत्पादन कमी भएसँगै भोकमरी हुने चिन्ताले सताउन थालेको छ । हिउँदे बाली खेतमै सुकेपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको पडेसका पवन खड्काले बताए ।

खडेरीका कारण बालीनाली सुकेको बारे स्थलगत अध्ययन गरिरहेको सुदूरपश्चिम खाद्य अधिकार सञ्जालको टोलीले बझाङमा चरम खाद्य सङ्कट उत्पन्न भई भोकमरी लाग्नसक्ने बताएको छ । सुक्खा खडेरीले प्रभावित समुदायको प्रारम्भिक तथ्याङ्क सङ्कलन विभिन्न वडामा पुगेको उक्त टोलीले एक सय ८५ घरधुरीमा गरिएको सर्वेक्षणमा ९३ प्रतिशत घरधुरीको बाली क्षति भएको पाइएको उल्लेख गरेको छ ।

प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहत स्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षेबालीका लागि बीउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने टोलीको भनाइ छ ।

आकाशे पानीको भरमा खेती हुने क्षेत्रका किसान सिञ्चाइको सुविधा भएका क्षेत्रबाहेक ठाउँमा ९० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरि १५ हजारभन्दा बढी हेक्टरमा गहुँ, जौलगायतका हिउँदे बाली लगाएकोमा छ हजार दुई सय हेक्टर क्षेत्रफलमा उत्पादन शून्य रहेको ज्ञान केन्द्रले जनाएको छ ।

खडेरीका कारण जिल्लामा नौ हजार तीन सय ३६ मेट्रिक टन हिउँदे बाली पूर्णरूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । जिल्लामा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ ।

सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ । बझाङमा वार्षिक ३२ हजार मेट्रिक टन उत्पादन हुनेगरेको छ । यो जनसंख्याको अनुपातमा पर्याप्त छैन । हरेक वर्ष सात हजार मेट्रिक टन अपुग हुनेगरेको थियो । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया