Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअक्सिमिटरको कालोबजारी गर्ने सात जना पक्राउ

अक्सिमिटरको कालोबजारी गर्ने सात जना पक्राउ


काठमाडौं ।
शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको कालोबजारी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई सात सय ६५ थान अक्सिमिटरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने सिन्धुली कमलामाई नगरपालिका–४ घर भएका बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ, ललितपुर महानगरपालिका–५ कुपण्डोल बस्ने बाजुरा खप्तड गाउँपालिका–६ घर भएका २१ वर्षीय थुमराज उपाध्याय, ललितपुर ग्वार्को बस्ने स्याङ्जा पञ्चमूल गाउँपालिका–६ घर भएका नानोटेक फर्मा थापाथलीका सञ्चालक २७ वर्षीय शेषकान्त अधिकारी, काठमाडौँ भीमसेनगोला बस्ने सुनसरी इनरुवा नगरपालिका–६ घर भएका चिरायु केडी गु्रप प्रालिमा काम गर्ने ३९ वर्षीय पुष्कर घिमिरे, काठमाडौँ अनामनगर बस्ने मोरङ विराटनगर महानगरपालिका–२ घर भएका आहा इन्डस्ट्रियल कम्पनी प्रालिमा कार्यरत ४४ वर्षीय विशाल आचार्य, काठमाडौँ बागबजार बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घर भएका २१ वर्षीय सन्तोष भण्डारी र काठमाडौँ ढुङ्गेअड्डा बस्ने भारत राजस्थान झुन्झुनु घर भएका ५५ वर्षीय जगदिश प्रसाद रानासरिया रहेका छन् ।

अक्सिमिटरको अत्यधिक माग भइरहेको अवस्थाको फाइदा उठाउँदै औषधिजन्य पसल एवं फर्माहरूले सर्वसाधरण नागरिकहरूलाई बजारमूल्यभन्दा बढी मूल्य लिई अक्सिमिटर खरिदब्रिक्री गरी कालोबजारी गरेको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उत्पादन मिति, म्याद समाप्त मिति, बिक्री मूल्य, उत्पादक कम्पनीको नामलगायत केही उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मूल्य भएका अक्सिमिटर फेला पारी बरामद गरेको हो ।

उक्त अक्सिमिटर बरामद भएपश्चात् तत्काल जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमखु जिल्ला अधिकारी, औषधि व्यवस्था विभाग, वाणिज्य विभाग र प्रहरी समेतको संयुक्त टोलीको सहभागितामा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–२८ बस्ने मोरङ विराटनगर महानगरपालिका–२ तीनपैनी घर भएका आहा इन्डस्ट्रियल कम्पनी प्रालिमा काम गर्ने ४४ वर्षीय विशाल आचार्यले डी एण्ड डी इन्टरप्राइजेज न्यूरोडमार्फत चीनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्साभित्र लुकाई उक्त अक्सिमिटर ल्याएका थिए ।

बजारमूल्य सात सय पर्ने उक्त अक्सिमिटरहरू दुई हजार दुई सय २० रुपैयाँसम्मको अधिक मूल्यमा उनीहरूले बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई कालोबजारी ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया