Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधघरेलु उद्योग कार्यालय प्रमुखविहीन

घरेलु उद्योग कार्यालय प्रमुखविहीन


कञ्चनपुर । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुर कार्यालय प्रमुखविहीन बनेको छ । करिब एक वर्षदेखि घरेलु तथा साना उद्योग कार्यालय प्रमुखविहीन बनेको हो । कार्यालय प्रमुखमा अधिकृत आठौँ तहको दरबन्दी भए पनि कार्यालय प्रमुखका लागि जिल्लामा कुनै पनि कर्मचारी आउन मान्दैनन् । सेवाग्राहीबाट अतिरिक्त कमाइ नहुने झन्झटिलो, मानसिक तनाव भन्दै सो स्तरका कर्मचारी आउन नमानेपछि कार्यालयको कामकाज प्रभावित भएको छ ।

गत ०७७ असोजमा मोहनचन्द्र जोशीको एक सेवाग्राहीसँग विवाद भएपछि सरुवा भएको थियो । पहुँचवाला एक ठूला उद्योगीले गैरकानुनी काम गर्न दबाब दिएसँगै विवाद भएपछि जोशीको सरुवा भएको थियो । तर ती कुन उद्योगीसँग विवाद भएको भन्नेबारे निमित्त कार्यालय प्रमुख धर्नानन्द जोशीले बताएनन् ।

तत्कालीन कार्यालय प्रमुख जोशीको सरुवासँगै डिभिजन वन कार्यालयबाट मुख्यमन्त्री कार्यालयले तीन महिनाका लागि तलब खुवाउनका लागि मात्रै काजमा हेमन्तबहादुर सिंहलाई खटाइएको थियो । ‘तीन महिनापछि पुनः सिंह आफ्नै कार्यालयमा फर्किए’, अहिलेका निमित्त कार्यालय प्रमुख भट्टले भने, ‘मलाई माघदेखि निमित्त दियो, फागुनमा आएर अख्तियार दिएको छ, कार्यालयमा ठूलो चाप छ, काम गर्न समस्या भयो, बुझिदिने कसले ।’ छैटौँ तहका भट्टलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको अढाइ महिनापछि लकडाउन भएसँगै गत वर्ष आएका योजना समेत कार्यान्वयन भएका छैनन । तालिमबाहेक अन्य अनुदान वितरणका योजना मात्रै कार्यान्वयन भएका छन् । ‘तीन महिनाका लागि आएको सिलाइकटाइ तालिम सुरु गरेको १० दिनमै लकडाउन भयो’, निमित्त प्रमुख भट्टले भने, ‘बाँकी तालिम त सुरुवात समेत गर्न सकिएन ।’

उनका अनुसार चार उद्योगले पाँच लाखका दरले अनुदान पाएका छन् भने २० उद्योगले १४ हजारदेखि एक लाखसम्म प्रविधि पाएका छन् । कार्यालयको लापर्बाहीले सीपविहीन नागरिकका लागि आएको तालिम सञ्चालन गर्न नसकेपछि सयौँ नागरिक तालिमबाट वञ्चित भएका छन् । गत वर्षसम्म मेट्पा कार्यक्रममार्फत तालिम सञ्चालन भएकाले कार्यालयमा कामकाज गर्न सहज भएको थियो । प्रदेशले समेत तोकेरै आफन्त भर्ना गर्ने र त्यस्ता कर्मचारी शक्ति पहुँचका भरमा काम नगर्ने भएकाले कर्मचारी सञ्चालनमा समेत समस्या भएको छ ।

काम गर्दै आएका कर्मचारी आफूखुसी राख्ने हटाउने प्रवृत्तिले समेत घरेलु कार्यालयमा गोलमटोल भएको छ । ‘फुल कार्यालय प्रमुखको पदपूर्तिका लागि पटक–पटक मुख्यमन्त्री र मन्त्रालयसहित मन्त्रीज्यूलाई समेत आग्रह गर्दा प्रदेशबाट पठाइदिँदैनन्’, उनले भने, ‘यहाँ कामको चापले हामीलाई हम्मेहम्मे भएको छ, दैनिक औसतमा ५० सम्म सेवाग्राही आउँछन् ।’ निमित्त प्रमुख भट्टले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले प्रमुख आउन नमान्ने बताउँदै उनले मानसिक दुःख लिन नचाहेको बताए । गत वर्ष कार्यालयले १ करोड १७ लाख ८८ हजार ४५ रूपैयाँ राजस्व संकलन गरेको थियो । दरबन्दीअनुरूप कर्मचारीको पदपूर्ति भए कामपनि गुणस्तर हुने कर्मचारीलाई समेत सहज हुनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया