Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधठेकेदार सम्पर्कविहीन हुँदा दोलखाका १० विद्यालय निर्माणको काम अलपत्र

ठेकेदार सम्पर्कविहीन हुँदा दोलखाका १० विद्यालय निर्माणको काम अलपत्र


दोलखा । विद्यालय भवन निर्माणको जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भएपछि जिल्लाका १० वटा सामुदायिक भवन निर्माणको काम अलपत्र परेको छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण सुरु गरिएका यहाँका विद्यालयको निर्माणकार्य अलपत्र परेको हो ।

निर्माण कम्पनीले करिब ८० प्रतिशत काम सकेको भए पनि बाँकी काम भने त्यत्तिकै छाडेर हिँडेको विद्यालयहरूले बताएका छन् । नेपाल सरकारले पटक–पटक समय थपेर निर्माण सक्न समय दिए पनि ठेकेदार कम्पनी तथा कामदार काममा नफर्किँदा विगत चार महिनादेखि विद्यालय निर्माणको काम अलपत्र परेको हो । मुख्य निर्माणकम्पनीले जिल्लाका धेरै विद्यालयको काम पेटी ठेकेदारलाई दिएको छ । पेटी ठेकदारहरू आर्थिक अभावको कारण देखाउँदै फोन अफ गरेर सम्पर्कविहीन बनेको निर्माणाधीन विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् ।

गत साउनअघि फाट्टफुट्ट काम गरिरहेको ठेकेदार कम्पनी त्यसयता भने विद्यालयसँग सम्पर्कमा नरहेको कालिढुङ्गा माध्यामिक विद्यालय मिर्गेका प्रधानाध्यापक पुष्कर कुमार दाहालले बताए । विद्यालय निर्माणको काम अन्तिम चरण पु-याएर पछिल्लो समय ठेकेदार विद्यालयको सम्पर्कमा नआएको उनको भनाइ छ । उनका अनुसार भारत सरकारको अनुदान सहयोगमा पुननिर्माण भइरहेको कालिढुङ्गा माविसहित अन्य १० वटा सामुदायिक विद्यालयको पुन निर्माण हालसम्म सम्पन्न हुन सकेको छैन ।

२०७२ सालको विनाशकारी भूकम्पले पूर्ण क्षति पु¥याएका यहाँका विद्यालय कतै निर्माणकै चरणमा छन् भने कतै निर्माण अलपत्र अवस्थामा छोडिएका छन् । विद्यालय भवन समयमै निर्माण नहुँदा ७ वर्षदेखि पठन–पाठन अस्थायी टहरोमै भइरहेको दाहालले बताए । भारत सरकारले वैतेश्वर गाउँपालिकाकाभित्रका दुईवटा विद्यालय भवन निर्माणको जिम्मा लिएको थियो । पालिकाको वडा नम्बर ८ क्षेत्रपामा रहेको क्षत्रावती माध्यामिक विद्यालयको पुनर्निर्माण पनि चार वर्षअघि सुरु भए पनि अझै सकिएको छैन ।

विद्यालयका अनुसार निर्माण कम्पनी श्याम सुन्दर प्रेरा जेभी कम्पनी काठमाडौंले पछिल्लो ६ महिनादेखि निर्माण सामग्री अलपत्र पारेर काम छाडेको छ । यस्तै निर्माण व्यवसायी तथा पेटी ठेकेदार सम्पर्कविहीन बनेको विद्यालयका प्रधानाध्यापक पदम जिरेलले बताए । क्षेत्रवती माध्यामिक विद्यालयमा निर्माण सामग्री एउटा कम्पनीले खरिद गर्ने तथा अर्को ठेकेदार कम्पनीले विद्यालय निर्माण गर्ने कार्यले पनि निर्माण अलपत्र अवस्थामा पुगेको जिरेलले बताए । कामदारहरू ज्याला नपाएपछि काम छाडेर घर फर्किएका छन् । विद्यालय निर्माण अलपत्र हुँदा विद्यार्थीको पढाइमा समेत असर पुगिरहेको प्रअ जिरेलको भनाइ छ ।

वैतेश्वरका यी दुई विद्यालयसँगै यस कम्पनीले जिल्लाका अन्य आठ विद्यालयको काम पनि ८० प्रतिशत निर्माण सकेर छाडेको छ । जिल्ला सदरमुकाम चरीकोटमै रहेको कालिञ्चोक माध्यामिक विद्यालयको १९ कोठे र १२ कोठे भवनको पुनर्निर्माण पनि अझै पूरा हुन सकेको छैन । सात करोड रूपैयाँ लगानीमा निर्माण हुने भनिएको भवन दुई वर्षदेखि निर्माणकै अवस्थामा रहेको कालिञ्चोक माध्यामिक विद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेले बताए । विद्यालयका केही भवनको स्टक्चरको काम सकिए पनि पलास्टर, रङ्गरोगन, झ्याल ढोका निर्माणलगायतका संरचनाको काम बाँकी रहेको उनले बताए । निर्माण कम्पनी र पेटी ठेकेदारबीच समन्वय नहुँदा काम अलपत्र परेको हुनसक्ने प्रअ न्यौपानेले बताए । निर्माण कम्पनी श्याम सुन्दर प्रेरा जेभी कम्पनी काठमाडौंले १० वटै विद्यालय पुनर्निर्माणको जिम्मा लिएको चार वर्ष बितिसकेको छ ।

सरकारले कोरोना भाइरसको कारण निर्माणमा समस्य आएको भन्दै गत असारसम्म अन्तिम समय दिएको थियो । तर कम्पनीले सो समयमा पनि काम नसकेपछि समय थप गरेर २०७९ सालको मंसिरसम्म समय दिएको छ । तर कम्पनीले यो मंसिरभित्र काम सक्न कुनै चासो देखाएको छैन । निर्माण कम्पनीले भवन निर्माणमा चासो नदिएकाले एक दुई दिनभित्र निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइ दोलखा प्रमुख शंकर बाबु श्रेष्ठले जानकरी दिए । निर्माण कम्पनीले तिहारपछि तीव्ररूपमा काम गर्ने बताएको र एक पटक फेरि छलफल गरेर मंसिरभित्र काम सक्न लगाउने प्रमुख श्रेष्ठले बताए ।

जिल्लामा भारतीय अनुदान सहयोगमा निर्माण सुरु भएका अन्य विद्यालयको निर्माण सकिए पनि १० विद्यालयको काम भने अझै नसकिनु निर्माण कम्पनीको सुस्तपन भएको इकाइ प्रमुख श्रेष्ठले बताए । यसअघि शिक्षा विकास तथा समन्वय इकाइ दोलखाको पहलमा निर्माण कम्पनी, सम्बन्धित विद्यालयका प्रतिनिधिको छलफलले २०७८ चैतमै विद्यालयको निर्माणसम्पन्न गरी हस्तान्तरण गर्ने सहमति भएको थियो । तर त्यसयता कम्पनीले केही विद्यालयको काम गरे पनि धेरै विद्यालयको काम बीचमै अलपत्र पारेको छ ।

भूकम्पका कारण क्षतिग्रस्त भएका तीन सय ६३ विद्यालयमध्ये अधिकांशको पुनर्निर्माण सम्पन्न भइसकेका छन् । तर उक्त कम्पनीले निर्माणको जिम्मा लिएको कालिनाग माध्यामिक विद्यालय सुनखानी, भीम माध्यामिक विद्यालय दोलखा, कालिढुंगा माध्यामिक विद्यालय मिर्गे, कालपानी माध्यामिक विद्यालय जफे, शान्ति आदर्श माध्यामिक विद्यालय, मानेडाँडा माध्यामिक विद्यालय जुँगु, दुर्गा माध्यामिक विद्यालय शैलुङ, गुप्तेश्वर माध्यामिक विद्यालय, क्षेत्रावती माध्यामिक विद्यालय र कालिञ्चोक माध्यामिक विद्यालय चरीकोटको भवन निर्माणको काम भने अलपत्र परेको हो । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया