Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनिकुञ्जले उठायो एकै महिना दुई करोड बढी राजस्व

निकुञ्जले उठायो एकै महिना दुई करोड बढी राजस्व


सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले एकै महिना दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ । गएको असोज महिनामा खुम्बु भ्रमणमा आएका पर्यटक र क्याम्प शुल्कबाट दुई करोड २१ लख ४१ हजार दुई सय ५० रूपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार छ सय ५० गैरसार्क मुलुकका विदेशी पर्यटकबाट एक करोड ९५ लाख तीन हजार रूपैयाँ, आठ सय ५६ सार्क मुलुकका पर्यटकबाट १२ लाख ८४ हजार रूपैयाँ र एक हजार एक सय ४२ नेपाली पर्यटकबाट एक लाख १४ हजार दुई सय रूपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै पाँच सय ८१ पर्यटक गाइडबाट आठ लाख ७१ हजार पाँच सय रूपैयाँ, तीन हजार एक सय ७० जना भरियाबाट ७९ हजार दुई सय ५० रूपैयाँ र क्यापहरूबाट दुई लाख ९६ हजार पाँच सय रूपैयाँ रजस्व संकलन भएको निकुञ्जले जनाएको छ । निकुञ्जले सार्क मुलुकका विदेशीलाई प्रतिव्यक्ति एक हजार पाँच सय रूपैयाँ, गैरसार्क मुलुकका पर्यटकलाई तीन हजार रूपैयाँ, गाइडलाई एक हजार पाँच सय रूपैयाँ, नेपाली पर्यटकलाई एक सय रूपैयाँ र भरियालाई २५ रूपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।

असोजमा १२ हजारभन्दा बढी खुम्बु पुगेका छन् । पर्यटकीय सिजन भएसँगै गत असोजमा १२ हजार चार सय ५१ जनाले सगरमाथा क्षेत्र भ्रमण गरेको निकुञ्जको तथ्यांक छ । जसमा सात हजार तीन सय ५७ जना विदेशी र बाँकी नेपाली रहेका छन् । निकुञ्जले सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको छ ।

सगरमाथालगायतका हिमाली दृश्यको अवलोकन गर्ने पर्यटकको संख्या बढेसँगै यस क्षेत्रका व्यवसायीहरू उत्साहित बनेका छन् । यतिबेला जिल्लाको खुम्बु क्षेत्र पुग्ने पर्यटकहरू दिनप्रतिदिन बढिरहेका छन् । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायीहरू पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । लुक्लामा अहिले दैनिक ३२ वटाभन्दा बढी उडान हुनेगरेको छ । उडानसँगै व्यस्तता बढेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया