Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकालिञ्चोक गाउँपालिकाद्वारा छ किलोमिटर पक्की सडक निर्माण

कालिञ्चोक गाउँपालिकाद्वारा छ किलोमिटर पक्की सडक निर्माण


दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिकाले चालू आर्थिक वर्षमा आफ्नै लगानीमा करिब छ किलोमिटर पक्की सडक निर्माण गरेको छ । गाउँपालिकाले यस आवमा विभिन्न वडा हुँदै पालिका र सदरमुकाम चल्ने ग्रामीण सडक स्तरोन्नति गरिरहेको जनाएको छ ।

पालिकाले वडा नम्बर–४ मा सात सय मिटर पक्की आरसीसी ढलान गरेको छ । त्यस्तै, वडा नम्बर–७ को सिसागोलाई–भदौरे खोला सडक र स्याउली बजार– तोरी खेत सडकमा डेढ किलोमिटर पक्की सडक निर्माण गरेको जनाएको छ । त्यसैगरी वडा नम्बर–८ र ९ का विभिन्न सडकको पनि आरसीसी ढलान गरिएको कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले बताए । पालिकाले वडा नम्बर–१, २, ३, ५, ६ का विभिन्न सडकमा पनि सडक स्तरोन्नति गरिरहेको छ । उनका अनुसार पाँच वर्षभित्र ५० किलोमिटर पक्की सडक निर्माण गर्ने लक्ष्यअनुसार पहिलो वर्ष छ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । पालिकाले यस आर्थिक वर्ष २०७९/०८० मा सडक स्तरोन्नति तथा ढलानको लागि १२ करोड रकम छुट्याएको थियो ।

बागमती प्रदेशअन्तर्गतको समपूरक अनुदान तीन करोड र गाउँपालिकाको आफ्नै बजेट नौ करोडले छ किलोमिटर सडक आरसीसी ढलान गरिएको अध्यक्ष शिवाकोटीले जानकारी दिए । भौगोलिक हिसाबले दुर्गम र ठूलो पालिका भएकाले दुर्गम गाउँसम्म आवतजावत हुने सवारीलाई समस्या नहोस् र आफ्ना नागरिकले सहजरूपमा पालिका तथा वडा पुगेर सेवा लिन सकून् भन्ने उद्देश्यले ग्रामीण सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । संघ तथा प्रदेश सरकारले सीमित योजनालाई मात्र समेटेर अनुदान दिने हुँदा पालिकाको थोरै बजेटले पनि सबै ठाउँलाई समेट्नुपर्ने भएकाले पहिलो वर्ष करिब छ किलोमिटर मात्र सडक ढलान गर्न सकेको उनले बताए ।

‘सरकारले स्थानीय तहलाई कुल बजेटको जम्मा ११ प्रतिशतको हाराहारीमा बजेट छुट्याउँदा जम्मा ४०/४२ करोड बजेट आउँछ’, उनले भने, ‘त्यो पनि धेरै कर्मचारीको तलबमा खर्च हुने हुँदा रहेको ९/१० करोड बजेटले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पूर्वाधार, रोजगारीलगायत सबै क्षेत्रलाई समेट्नुपर्ने हुन्छ ।’ थोरै बजेटमा सबैलाई समेटेर काम गर्नुपर्ने बाध्यता रहेकोे अध्यक्ष शिवाकोटीले बताए । यस गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पनि कृषि र ग्रामीण सडकलाई प्राथमिकता राखेर बजेट निर्माण गर्ने जनाएको छ । कालिञ्चोक गाउँपालिका केही दिनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४२ करोड १२ लाख बराबरको बजेट ल्याउन लागेको जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया