Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारकिन घटिरहेको छ सेयरबजार ?

किन घटिरहेको छ सेयरबजार ?


काठमाडौं । गतसाता सेयरबजार दुई हजार विन्दुभन्दा तल ओर्लिएको छ । सातामा कारोबार भएको चारै दिन सूचक घटेको छ । चार कारोबार दिनमा नेप्से ५३ दशमलव ५६ अंकले घटेर एक हजार नौ सय ७२ दशमलव १४ विन्दुमा झरेको छ । नेप्से परिसूचक एक हजार नौ सयको लाइनमा आएपछि झन् तीव्र गतिले तल झरेको देखिन्छ ।

दुई हजार विन्दुभन्दा तल ओर्लिएपछि लगानीकर्ताको मनोविज्ञान पनि कमजोर भएको छ । यही कारण बजारमा चहलपहल पनि घटेको छ । गतसाता कारोबार रकममा समेत गिरावट आएको छ ।

बजार घट्नुमा नियामक निकायबाट नीतिगत सुधार नहुनु प्रमुख कारण रहेको लगानीकर्ताले बताउँदै आएका छन् । ब्याजदर लगातार घटिरहेको छ । बैंकमा लगानीयोग्य रकम पनि प्रशस्तै छ । तर, केन्द्रीय बैंकको नीतिले सेयरबजारमा प्रशस्त लगानी भित्रिन नसकेको लगानीकर्ताको बुझाइ छ । त्यसका लागि अझै बाँकी रहेका केही नीतिगत अवरोधहरू हटाउनुपर्ने लगानीकर्ताको भनाइ छ ।

अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत बन्दै गएपछि आन्तरिक अर्थतन्त्र निकै सुस्त छ । महँगीले गर्दा बजारमा वस्तु तथा सेवाको माग बढ्न सकेको छैन । यस्तो बेला उद्योग व्यवसायका गतिविधि पनि सुस्त हुन्छन् । फलस्वरुप आर्थिक क्रियाकलाप पनि घट्न जान्छ । यसको असर बजारमा पैसाको सर्कुलेसन घटेर जान्छ । त्यसो हुँदा सेयर बजारमा पनि लगानीकर्ता पैसा लगानी गर्न डराउँछन् । अझ चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुको नाफामा आएको गिरावटले बजारमा थप दबाब पर्ने सम्भावना देखिन्छ । किनभने पुँजीबजारमा अझै पनि बैंक तथा वित्तीय संस्थाको हिस्सा ७० प्रतिशतभन्दा धेरै छ । अर्थतन्त्रमा देखिएका यी समस्याको छायाँ सेयरबजारमा प्रतिबिम्ब भएको कतिपय लगानीकर्ताको बुझाइ छ ।

नयाँ कम्पनीको आईपीओ, पुरानोको हकप्रद र बोनस सेयरले बजारमा सेयरको संख्या बढेको छ । यसबाट आपूर्ति बढेको छ तर अर्थतन्त्रमा देखिएको मन्दीका कारण बजारमा लगानी बढ्न सकेको छैन । यी सबै पक्षको असर गतसाता पनि बजारमा देखियो ।

गतसाता औसतमा दैनिक दुई अर्ब ५१ करोड रुपैयाँको सेयर किनबेच भयो । उत्पादनमूलक समूह सबैभन्दा धेरै चार दशमलव ११ प्रतिशत घट्यो । बजार घटे पनि मेन्छियामा हाइड्रोपावरका सेयरधनीले करिब ११ प्रतिशत कमाएका छन् । गुराँस लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै २१ दशमलव ५४ प्रतिशत र रुरु जलविद्युत्को २० दशमलव ५२ प्रतिशतले सेयरमूल्य घटेको छ । गोर्खाज फाइनान्सको सबैभन्दा धेरै ४७ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया