Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकासमयसापेक्षरुपमा शिक्षा नीति परिवर्तन हुनुपर्छ : मन्त्री आले

समयसापेक्षरुपमा शिक्षा नीति परिवर्तन हुनुपर्छ : मन्त्री आले


दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित माहेन्द्री माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्णमहोत्सवका अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्ने बताएका छन् । सोमबार आयोजित कार्यक्रममा उनले समयसापेक्षरुपमा शिक्षा नीति परिवर्तन हुनुपर्ने बताए ।

मन्त्री आलेले पुरानै ढाँचामा चलेका सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न नसकेको बताउए । उनले प्रदेश सरकारले स्रोत, साधनको अधिकतम परिचालन गरी जनताका आवश्यकता पूर्तिका लागि योजना ल्याएको बताए । उनले ‘योजना बैङ्क’ बनाएर सङ्घ, प्रदेश र स्थानीय तहले सम्पन्न गर्ने योजना नदोहोरिने गरी काम अगाडि बढाइने जानकारी दिए ।

माहेन्द्रीमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र सकारात्मक शैक्षिक वातावरण बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने गण्डकी प्रदेशसभाकी पूर्व सदस्य सरिता गुरुङले बताइन् ।

भौतिक सुधारमा उल्लेखनीय काम भएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । अबका दिनमा शैक्षिक गुणस्तर हासिल गर्न सक्नु विद्यालयको प्रमुख चुनौतीका रुपमा देखिएको उनको भनाइ थियो ।

सोमबार प्रारम्भ भएको स्वर्ण जयन्तीको कार्यक्रम विसं २०८१ पुस १ गते विशेष समारोहको आयोजना गरी सम्पन्न गरिने विद्यालयले जनाएको छ । ‘स्वर्ण जयन्ती वर्ष’का रुपमा मनाउँदै एक वर्षसम्म विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

विद्यालयमा विभिन्न समयमा अध्ययन गरेका विद्यार्थीहरुबाट आर्थिक सङ्कलन गरी स्वर्ण जयन्ती स्तम्भ निर्माण गर्न लागिएको पूर्व विद्यार्थी समाज माहेन्द्री माविका अध्यक्ष उद्धवराज कट्टेलले जानकारी दिए । सोमबारको यस कार्यक्रममा मन्त्री आलेले विद्यालयको स्वर्ण जयन्ती स्तम्भ शिलान्यास गरेका छन् ।


क्याटेगोरी : प्रविधि / शिक्षा, नगरपालिका

तपाईको प्रतिक्रिया