Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीआँखाको उपचारका लागि फत्तेवाल आँखा अस्पताल नै भरपर्दो

आँखाको उपचारका लागि फत्तेवाल आँखा अस्पताल नै भरपर्दो


जानकी (बाँके) । गत शुक्रबार देब्रे आँखाको शल्यक्रिया गराएका भारत श्रावस्ती चिरैयारानीसिरका ६२ वर्षिय अमेरिकाप्रसाद यादव आँखाको उपचारका लागि नेपालगञ्ज–६ फुलटेक्रा स्थित फत्तेवाल आँखा अस्पताल आउने गरेका छन् । यसअघि उनले दाहिने आँखाको शल्यक्रिया यही अस्पतालमै गराइसकेका छन् ।

यादव श्रावस्तीमा आँखा अस्पताल नभएर यहाँ आएको भने होइन । “जिल्लामा दुई वटा आँखा अस्पताल छन् । तर यहाँ जस्तो गुणस्तरीय सेवा छैन”, उनले भने, “म मात्रै होइन परिवारका अन्य सदस्य र साथीहरु पनि आँखाको यहीँ उपचारका लागि आउने गरेका छन् ।”

नेपाल नेत्र ज्योति सङ्घ, बाँके शाखाले सञ्चालन गरेको उक्त अस्पतालका अनुसार यादव मात्रै होइन, उपचारका लागि यहाँ आउने भारतीयहरुको सङ्ख्या उल्लेख्य छ । छिमेकी देश भारतबाट मात्रै होइन टाढाका बिकट पहाडी जिल्लाबाट पनि बिरामीहरु अस्पतालमा आउने गरेका छन् ।

अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माका अनुसारमा अस्पतालमा नेपालीसँगै भारतीयहरुको पनि विश्वास बढ्दो छ । “स्थापनाकालदेखि नै अस्पतालमा उपचारका लागि आउने भारतीयको सङ्ख्या उल्लेख्य छ” उनले भने ।

जुम्लाका ६४ वर्षे मुनबहादुर बुढा क्षेत्री आँखाको शल्यक्रियाका लागि गत शुक्रबार अस्पतालमा आएका थिए । पतारासी गाउँपालिका–५ माथिल्लो लोर्पाका क्षेत्रीले आँखाको उपचारका लागि अस्पताल भरपर्दो लागेकाले यहाँसम्म आएको सुनाए ।

आँखाको शल्यक्रियाका लागि धेरैले अन्यत्रै जान सुझाव दिए पनि आफूलाई यहीँ अस्पतालमा विश्वास लागेर आएकी बाँके बैजनाथ–५ बनकट्टिका देउमा बुढामगरले बताइन् ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै भारतका बहराइच, गोण्डा, श्रावस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबङ्की, लखनउ, अयोध्या, फैजाबाद तथा सुल्तानपुरलगायतबाट पनि बिरामीहरु अस्पतालमा सेवा लिनका लागि आउने गरेका छन् ।

२०४३ सालमा स्थापना भएको उक्त आँखा अस्पतालमा हालसम्म २७ लाख ४६ हजार पाँच सय १४ जनाको आँखाको परीक्षण तथा उपचार गरिसकेको डा. बर्माको भनाइ छ ।

उनका अनुसार दुई लाख ७९ हजार छ सय ९६ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ । हाल अस्पतालमा दैनिक सरदर चार सयको हाराहारीमा आँखाका बिरामीहरु उपचारका लागि आउने गर्दछन् । अस्पतालले वार्षिक १० हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया गर्दै आएको डा. बर्माले बताए ।

डा. बर्माका अनुसार सुरुवातमा १० शय्या क्षमताको अस्पतालले हाल दुई सय ५० शय्यामार्फत सेवा दिइरहेको छ । अस्पताल अन्तर्गत विभिन्न जिल्लामा पाँच वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । सो अस्पतालले निःशुल्क आँखा शिविर पनि सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया