Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण हुने

नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण हुने


काठमाडौँ । नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा त्रिकल प्रोडक्सनले यही वैशाख २१ र २२ गते दुई दिन काठमाडौंमा सो सम्मेलन गर्न लागेको हो ।

‘स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने नारासहित हुन लागेको सम्मेलनले राष्ट्रको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्न बहुपक्षीय सामूहिक कार्यको महत्वलाई उजागर गर्ने लक्ष्य लिइएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र आवश्यकताको पहिचानसहित परिपूर्तिको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्ने जनाइएको छ । सम्मेलनको पहिलो दिन नेपालको जनस्वास्थ्यमा जलवायु परिवर्तनको असर, नेपालमा दिगो स्वास्थ्यको लागि जीवनशैलीको परिदृश्य र पुनर्मूल्याङ्कनको आवश्यकता कति र बहसमा नेपालको चिकित्सा शिक्षा गरी ३ वटा विषयमा विज्ञहरूसँग छलफल हुनेछन् । ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने विश्व स्वास्थ्य संगठनको यस वर्षको नाराअनुसारै सम्मेलनको दोस्रो दिन आमनागरिकको चासोको विषय स्वास्थ्य व्यवसाय वा सेवा, यस्तै सरकारले सबैको स्वास्थ्यमा पहुँच विस्तार गर्ने उद्देश्यले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको चुनौती र अवसरका विषयमा सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै, सम्मेलनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला, सरकारी तथा गैरसरकारी निकायको सहभागिता रहने छ । सम्मेलनमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसँग देशको स्वास्थ्य अवस्था र मन्त्रालयको योजनाका साथै सम्मेलनमा उठेका महत्वपूर्ण प्रश्नको जवाफसहितको छलफल समेत हुने बताइएको छ । सम्मेलनबाट प्राप्त सुझावको प्रतिवदेन तयार गरी सरोकारवाला निकायहरूलाई पेस गरिनेछ । साथै, स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिनेछ । नेपाल स्वास्थ्य सम्मेलनको पहिलो संस्करण २०७७ साल चैत्रमा काठमाडौंमा सम्पन्न भएको थियो ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया