Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनेपाल मेडिसिटीले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालन गर्ने

नेपाल मेडिसिटीले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालन गर्ने


काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ । यस सेन्टर मार्फत बिरामीलाई ब्रेन स्ट्रोक भएको ४ देखि ५ घण्टामै अस्पताल आइपुगे तत्काल सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

हृदयघात पछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । यसै कारणलाई मध्यनजर गर्दै अस्पतालले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउन लागेको हो । न्यूरोसर्जन डा. प्रसन्ना कार्कीका अनुसार ब्रेन स्ट्रोक हुने बित्तिकै अस्पतालमा आइपुगे उपचार सम्भव छ । ‘बिरामी ४ देखि ५ घण्टामा अस्पताल आइपुगे रगत पातलो बनाउने औषधी राख्न मिल्छ भने, १८ घण्टा सम्ममा शल्यक्रिया गर्न सकिन्छ । तर १८ घण्टा भन्दा ढिला भए शल्यक्रिया सम्भव हुँदैन भने बिरामीहरूमा प्यारालाईसिस हुन्छ,’ उनले भनिन् । स्ट्रोक हुँदा हरेक एक मिनेटमा १९ लाख नसाहरू मर्दै जान्छन् । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरू मरेर प्यारालाइसिस भई अपाङगता हुने सम्भावना रहन्छ । ‘ब्रेन स्ट्रोक समय अनुरुप संवेदनशील छ र समयमै अस्पताल आईपुगे आजीवन प्यारालाइसिस हुनबाट बचिन्छ,’ उनले भनिन् ।

अस्पतालका न्यूरोलोजी विभागका प्रमुख डा. बाबुराम पोखरेलका अनुसार विश्वभर ब्रेन स्ट्रोकको संख्या बढ्दै जान थालेको छ । विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरूलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरू स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।

अस्पतालले सबै किसिमको न्यूरो सर्जरी सम्बन्धित रोगको उपचार गर्दै आएको जनाएको छ । हालसम्म अस्पतालले २ हजार भन्दा बढि ब्रेन सर्जरी गरिसकेको जनाएको छ । सोमध्ये ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक, मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने शल्यक्रिया रहेको छ । साथै अस्पतालमा ओपन सर्जरी (चिरफार गरेर गरिने शल्यक्रिया) र नन् इन्भेसिभ सर्जरी (सानो प्वाल बनाई गरिने शल्यक्रिया) को सुविधा रहेको छ । गत वर्षबाट शुरु गरिएको नन् इन्भेसिभ सर्जरीबाट न्यूरो भास्कुलर समस्या भएका १५० भन्दा बढि बिरामीहरूको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया