Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगढिलो रोपाइँले उत्पादन घट्ने सम्भावना

ढिलो रोपाइँले उत्पादन घट्ने सम्भावना


काठमाडौं । मुलुकको मौसमविद्हरूको भनाइअनुसार गत सालभन्दा यस वर्ष कम हुने भविष्यवाणी गरिएको एकातिर छ भने अर्कोतिर जुलाईमा अझ कम पानी पर्न सक्ने विभिन्न प्रारूपहरूले देखाएका छन् । हाल आएर यसको असर खासगरी तराईका विभिन्न जिल्लामा पर्ने देखिन्छ । यसका साथसाथै मनसुन सिर्जनमा सामुद्रिक तापक्रम औसतभन्दा बढी भएर त्यसको असर वायुमण्डलमा पर्छ । यसले गर्दा वर्षा कम हुन आउँछ । यसरी चालू आर्थिक वर्ष देशभर मनसुनी वायु सुरु भएको ९/१० दिनपछि मात्र देशभर मनसुनी वर्षा सुरु भएको थियो । यसमा मधेशको पश्चिमी क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ढिलो गरी वर्षा भएको थियो । यसका अलावा चालू आर्थिक वर्षमा पर्याप्त मात्रामा वर्षा नुहुँदा धान रोपाइँ विगतका वर्षहरूको तुलनामा कम हुने अनुमान सम्बन्धित क्षेत्रले गरेको छ । यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालय भनाइअनुसार हालसम्म भइरहेको रोपाइँमा सबैभन्दा कम मधेश प्रदेशमा छ । यसर्थ, सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । उक्त प्रदेशमा जेठको दोस्रो सातादेखि नै रोपाइँ सुरु हुनेहुँदा धान रोपाइँको प्रतिशत केही बढेको छ । यसरी सरसर्ती हेर्ने हो भने मधेश प्रदेश, गण्डकी र लुम्बिनीमा मनसुन ढिलो गरी सक्रिय हुँदा रोपाइँ कम भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको थियो । तर तराईमा साउनभर रोपाइँ हुने हुँदा यसको प्रतिशत बढ्छ, कम पानी पर्ने अनुमान हुँदा विगतजस्तो रोपाइँ नहुन पनि सक्छ । यसलाई अहिले भन्न सक्ने स्थिति भने रहँदैन ।

प्रदेशगतरूपमा हेर्ने हो भने सुदूरपश्चिम प्रदेशमा लगभग रोपाइँ सम्पन्न नै भइसकेको छ । त्यहाँ साउन ५ गतेसम्म ९८ प्रतिशत रोपाइँ भएको हो । यो गत वर्षभन्दा पनि बढी हो । सुदूरपश्चिम प्रदेशमा गत वर्ष ९७ प्रतिशत रोपाइँ भएको थियो । सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा ४६ प्रतिशत मात्र भएको छ । पूर्वी मधेशमा साउन मसान्तसम्म धान रोपाइँ हुने भएकाले प्रतिशत बढ्ने मन्त्रालयको दाबी छ । कोशी प्रदेशमा ७६, बागमती प्रदेशमा ६५, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा ७४ र कर्णाली प्रदेशमा ७६ प्रतिशत रोपाइँ भएका छन् । देशमा यस वर्ष साउन हालसम्म ६८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको कृषि विकास मन्त्रालयले जनाएको छ । जबकि गत वर्ष यो अवधिमा ८८ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भइसकेको थियो । जुन आकाशे पानी कम परेका कारण यस वर्ष थोरै रोपाइँ भएको हो । यस वर्षको मनसुन कमजोर रहने मौसम विज्ञान विभागले प्रक्षेपण गरिसकेको छ । सामान्यतया उच्च पहाडी क्षेत्रमा जेठ महिनाभित्र, पहाडी क्षेत्रमा असार महिनाभित्र र तराई क्षेत्रमा साउन १५ गतेभित्र धान रोपाइँ सम्पन्न गरिसक्नुपर्छ । तर यसपटक पानीको अभावका कारण उच्च पहाडी क्षेत्र तथा पहाडी क्षेत्रमा विगतको भन्दा १५ प्रतिशत कम धान रोपिएको छ । तराई क्षेत्रमा भने अझै १० दिन जति सिजन बाँकी छ । अब एक साताभित्र पर्याप्त पानी परेन भने तराई क्षेत्रमा समेत धान खेतीको क्षेत्रफल करिब १५ प्रतिशत घट्ने निश्चित छ । धान खेतीको क्षेत्रफल जति प्रतिशत घट्छ उत्पादन पनि लगभग त्यति नै प्रतिशत घट्छ । त्यसैले आगामी वर्ष नेपाललाई खाद्यान्नको थप अभाव हुने सम्भावना बढेको छ । मनसुनी वर्षा प्रर्याप्त हुँदा समेत मुलुकलाई करिब २० प्रतिशत धान–चामल अपुग हुँदै आएको अवस्था छ ।

धानको उत्पादन अझै घटेको अवस्थामा धान–चामल थप आयात गर्नुपर्ने अवस्था आउँछ । ठीक यही बेला छिमेकी देश भारतले धान–चामल निर्यातमा कडाइ गरेको छ । मनसुनी वर्षा कम भएकोले धानको उत्पादन घट्ने आकलनका साथ भारतले धान–चामल निर्यातमा कडाइ गरेको हो । यसरी एकातिर मनसुनी वर्षा कम भएकाले धानको उत्पादन घट्ने सम्भावना देखिनु र अर्कातिर भारतले धान–चामल निर्यातमा कडाइ गर्नुभनेको हाम्रो देशका लागि निकै ठूलो संकट आउने संकेत हो । किनकि आगामी वर्ष करिब ३० प्रतिशत धान–चामल अपुग हुने सम्भावना देखियो । अब आयात कहाँबाट गर्ने ? धान–चामल निर्यातका देशहरू भारतबाहेक अरू खासै छैनन् । तेस्रो देशबाट आयात गर्न सकिने सम्भावना ज्यादै न्यून छ ।

हाम्रो देशमा अझै पनि खेतीयोग्य जमिनको एकतिहाइ क्षेत्रमा मात्रै वर्षैभर सिँचाइ पुग्ने गरेको सम्बन्धित क्षेत्रको तथ्याङ्कले देखाएको छ । यी सिँचाइको तथ्याङ्कलाई अवलोकन गर्ने हो भने झण्डै पाँच लाख हेक्टरमा मात्रै हिउँदे, वर्षा र चैते सिजनमा सिँचाइ पुग्ने देखिन्छ । यसबाहेक अरू स्थानमा भने खोलामा पानी भए सिँचाइ पु¥याउन सकिने, नभए खेती गर्न नै समस्या हुने गरेको सरकारी तथ्याङ्कले नै पुष्टि गर्छ । यसर्थ मुलुकमा धानको रोपाइँ गर्ने मुख्य महिना भनेको असार र साउन हो । यसरी यी दुई महिनामा देशभर नै रोपाइँ कार्य सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यसमा पनि साउनको मध्यसम्ममा रोपाइँ कार्य सुसम्पन्न गरेको खण्डमा अझै धानको उत्पादनमा वृद्धि हुने कुरा समेत विज्ञले भन्दै आएका छन् । फलतः विश्वमा ब्राजिलपछि जलस्रोतको दोस्रो स्थान राख्ने कृषिप्रधान देशमा कृषकले बर्सेनि पानी तथा मलको अभावमा रोपाइँ गर्न पाउँदैनन् । यसपटक पनि यस्तै अवस्था भएको छ । तर विडम्बना के भने सिँचाइ तथा मलको अभावका कारण धेरै खेत बाँझै रहने कुनै नौलो कुरा होइन । जसलाई देशको अन्नभण्डारको रूपमा चिनिने तराईको पनि हालत पनि आकाशे पानीलाई कृषकहरूले कुर्नुपर्ने स्थिति खट्किएको छ । यसर्थ धानलाई आवश्यक मात्रामा पानी नपरेर समयमा रोपाइँ हुन सक्दैन ।

हाम्रो देशमा यस वर्ष दश दिनपछि नै मनसुन भित्रिए पनि धान रोपाइँ हुन सकिरहेको छैन । खासगरी तराई क्षेत्रमा धान खेती धेरै हुने स्थानमा वर्षाको अभावले गर्दा धानको रोपाइँ हुन सकिरहेको थिएन । यसरी आकाशे पानीको भरमा रोपाइँ गरिने अधिकांश क्षेत्रमा गत वर्षभन्दा रोपाइँयोग्य क्षेत्रफल बढे पनि समयमै वर्षा नहुँदा थपिएको रोपाइँ हुने क्षेत्रको धान रोपाइँ प्रभावित हुन पुगेको मन्त्रालयको भनाइ छ । वस्तुतः देशको वर्षा स्थितिलाई अवलोकन गर्ने हो भने जुन १३ तारिखदेखि मनसुन भित्रिने सरदर मिति भएकोमा जुन २३ मा नै मनसुन भित्रिए पनि धानको रोपाइँ हुन केही ढिला भएको हो । यस वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि धानबालीका लागि मनसुन अनुमान गरिए अनुरूप सुखद् नरहेको कृषि विज्ञहरूको विश्लेषण रहेको छ । अतः ढिलो रोपाइँ हुँदा उत्पादन ह्रास हुन सक्ने विज्ञको भनाइ छ । विगत वर्षलाई पनि अवलोकन गर्ने हो भने पनि १० देखि १४ प्रतिशत धानको उत्पादनमा ह्रास आउने अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरूले गरेका छन् । जसलाई नेपाल सरकारको जलस्रोत तथा सिँचाई विभागको भनाइ के छ भने वर्षायाममा करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ पु-याउने जानकारी एकातिर छ भने अर्कोतिर यस वर्षको वर्षायाममा १५ लाख ३१ हजार ६९ हेक्टर जमिनमा सिँचाइ पु¥याइएको विभागका प्रवक्ताले जानकारी दिएका थिए ।

समग्रमा भन्नुपर्दा मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षायाममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । विसं २०७९ साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको भन्दा यस वर्ष सो अवधिमा २० प्रतिशत कम रोपाइँ भएको देखिन्छ । विशेषगरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिला सुरु भएका कारण धान रोपाइँ कम भएको विभागले उल्लेख गरेको छ । गत अर्थिक वर्ष पनि भारतले धान–चामल निर्यातमा २० प्रतिशत कर लगाएका कारण नेपाली उपभोक्ताले चर्को महँगीको मार ब्यहोर्नुपरेको छ । जुन चामलको मूल्य एक वर्षको यो अवधिमा करिब ३० प्रतिशत बढेको छ । अब केही दिनमै थप मूल्य बढ्ने र कालाव्यापारीले कृत्रिम अभाव सिर्जना गर्ने सम्भावना देखिएको छ । यो सम्भावनातर्फ सरकार बेलैमा सचेत बन्नु जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया