Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकृषि विकासका लागि पकेट क्षेत्र

कृषि विकासका लागि पकेट क्षेत्र


काठमाडौं । प्राकृतिक स्रोतमध्ये भूमिलाई महत्वपूर्ण मानिन्छ । यो सीमित प्रकृतिप्रदत्त उपहार हो । भूमि जुनसुकै देशको पनि अमूल्य सम्पत्ति हो । जसमा सम्बन्धित देशका जनताको भविष्य निर्भर रहन्छ । यसमा धेरै किसानले खेतीपाती गरी जीविकोपार्जन गर्ने हुनाले धेरै महत्व छ । भूमिविना कुनै पनि देशको चौतर्फी विकास गर्न सकिँदैन । वास्तवमा भौगोलिक वास्तविकतालाई आधार मानेर भूमिको सदुपयोग गर्न सके कृषि क्षेत्रबाट धेरै फाइदा प्राप्त गर्न सकिन्छ ।

नेपालको कुल भूभागमध्ये झन्डै २८ प्रतिशत भूमि खेतीयोग्य छ । तर, यहाँबाट प्रत्येक वर्ष करिब दुई करोड ४० लाख मेट्रिक टन माटो बगेर अन्यन्त्र जान्छ । नेपालको कुल भूभागमध्ये झन्डै २८ प्रतिशत कृषियोग्य छ । यहाँको उचाइ ७५ मिटरदेखि आठ हजार आठ सय कृषि उपजहरू उत्पादन गर्न सकिन्छ । यहाँको हावापानीले विश्वकै हावापानीको प्रतिनिधित्व गर्छ ।

वस्तुतः यहाँको कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान झन्डै २७ प्रतिशत छ । तर, केही वर्षयता यहाँ खाद्यान्न उत्पादन घटेकाले आयात बिस्तारै बढिरहेको छ । तर, यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान राम्ररी आकृष्ट हुन सकेको छैन ।

सबै बाली सबै ठाउँमा समानरूपले फस्टाउन सक्दैन । किनभने कुनै निश्चित भू–धरातल कुनै निश्चित बालीका लागि उपयुक्त हुन्छ भने अर्को बालीका लागि अनुपयुक्त हुन सक्छ । यसले भू–धरातलको अध्ययनको आधारमा कुनै निश्चित क्षेत्रलाई कृषि पकेट क्षेत्रको रूपमा विकास गर्न सकिन्छ ।

वस्तुतः नेपालका केही कृषि उपजहरू विश्व प्रसिद्ध छन् । उदाहरणका लागि यहाँ उत्पादित अलैँची विश्वको प्रथम स्थानमा अङ्कित छ भने अदुवा तेस्रो र मुसुरो छैटौँ स्थानमा छ । यहाँका केही स्थानहरू निश्चित बालीका लागि निकै नै प्रख्यात छन् । उदाहरणका लागि पाल्पा अम्रिसो र तेजपत्ताका लागि प्रसिद्ध छ भने संखुवासभा र तेह्रथुम अलैँची तथा अकबरे खुर्सानीका लागि प्रख्यात छन् ।

यसैगरी, सिमी हुम्ला, जुम्ला र मनाङमा; धान र नरिवल झापामा; कफी गुल्मी, अर्घाखाँची र पाल्पामा; अदुवा, सल्यान र रुकुममा; चिया पाँचथर, इलाम र झापामा; स्याउ जुम्ला र हुम्लामा; आँप महोत्तरीमा; जुनार सिन्धुलीमा; बेल कैलालीमा; आलु ओखलढुङ्गामा र माछा धनुषामा पकेट क्षेत्रको सम्भावना रहेको छ ।

पकेट क्षेत्रमा ठूलाठूला व्यावसायिक फार्महरू सञ्चालन गरी प्रशस्त कृषि उत्पादन गर्न सकिन्छ । फलतः कृषि विकास भई यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । कुनै पनि पकेट क्षेत्रमा उन्नत बीउविजनविना कृषि उत्पादन बढाउन सकिँदैन । वास्तवमा उन्नत जातका बीउविजन प्रयोग गर्दा कृषि उत्पादन तीन गुणा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । हालसम्म पनि नेपालमा खासगरी ग्रामीण क्षेत्रमा रैथाने बीउविजन प्रयोग भइरहेकाले पकेट क्षेत्रबाट बढी फाइदा लिन उन्नत बीउविजनको प्रयोगमा जोड दिनुपर्छ ।

कुनै जग्गामा लामो अवधिसम्म एकै किसिमको बीउविजन प्रयोग गर्दा उत्पादन क्षमतामा विस्तार ह्रास आउने हुँदा निश्चित समयपश्चात् नयाँ बीउविजन प्रयोग गर्ने किसानलाई सचेत गराउन जरुरी छ । हालसम्म पनि कुनै जग्गामा कस्तो बीउविजन उपयुक्त हुन्छ भन्ने कुराको गहिरो अध्ययन भएको छैन । यस सम्बन्धमा अध्ययन अनुसन्धान गरी उपयुक्त बीउविजन सिफारिस गर्नु समयको माग हो ।

सिँचाइ सुविधाविना पकेट क्षेत्रबाट कृषि उत्पादन वृद्धि असम्भव छ । कृषि उत्पादन बढाउन ठूला सिँचाइ आयोजनाको आवश्यकता पर्छ । यसैले विगतमा सिकटा, कुलरिया जमुनिया र बेरी बबई डाइभर्सनजस्ता ठूला सिँचाइ आयोजना निर्माण गर्न सुरु गरिएको भए पनि यी आयोजनाहरू सुरु गरिएको धेरै वर्ष बितिसक्दा पनि सम्पन्न गर्न सकिएको छैन । यसैले उपर्युक्त आयोजनाहरू यथाशीघ्र सम्पन्न गर्न सरकारको ध्यान जानु आवश्यक छ ।

कुनै पनि पकेट क्षेत्रमा उन्नत बीउविजनविना कृषि उत्पादन बढाउन सकिँदैन । वास्तवमा उन्नत जातका बीजविजन प्रयोग गर्दा कृषि उत्पादन तीन गुणा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । हालसम्म पनि नेपालमा खासगरी ग्रामीण क्षेत्रमा रैथाने बीउविजन प्रयोग भइरहेकाले पकेट क्षेत्रबाट बढी फाइदा लिन उन्नत बीउविजनको प्रयोगमा जोड दिनुपर्छ ।

हालसम्म सिँचाइ सुविधा नपुगेका जमिनमा लघु सिँचाइ, स्यालो ट्युबवेल, लिफ्ट सिँचाइ र थोपा सिँचाइ व्यापक बनाउनुपर्छ भने चन्द्र, गण्डक र जुद्धजस्ता पुरानो नहरहरूको मर्मत सम्भार पनि समयमै गर्नुपर्छ । हालसम्म पनि ठूला सिँचाइ आयोजनाहरू सरकारले मात्र गर्नुपर्छ भने मान्यता भए पनि यिनीहरूको सफलताका लागि निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता छ । तर, उचित सुविधा प्रदान नगरी निजी क्षेत्रलाई आकृष्ट गर्न नसकिने हुँदा सरकारको ध्यान यसतर्फ जानु आवश्यक छ ।

यान्त्रीकरण नगरेसम्म पकेट क्षेत्रको कुनै महत्व हुँदैन । वास्तवमा यान्त्रीकरण गर्नु भनेको थोरै खर्च गरेर कम समयमा बढी कृषि उत्पादन गर्नु हो । विकसित मुलुकमा पाँचदेखि १० प्रतिशत श्रमशक्ति परिचालन गरेर कृषि उपजहरू अन्य देशहरूमा निर्यात गर्न सक्नु यान्त्रीकरणको देन हो । यहाँ पनि पकेट क्षेत्रहरूमा यान्त्रीकरण गर्न सके धेरै फाइदा उठाउन सकिन्छ । पकेट क्षेत्रबाट फाइदा लिन कृषि वैज्ञानिकहरूको आवश्यकता पर्छ ।

नेपालमा कृषि वैज्ञानिकहरूको उत्पादन नभएको होइन । तर सरकारले उनीहरूका सदुपयोग गर्न नसक्दा धेरैजसो कृषि वैज्ञानिकहरू विदेशिन बाध्य छन् । त्यसैले सरकारले आगामी दिनमा उनीहरूलाई आकर्षण गर्ने सुविधाहरू प्रदान गर्नुपर्छ ।

यथार्थतः पकेट क्षेत्र घोषणा गर्नुको प्रमुख उद्देश्य कृषि उत्पादन बढाई निर्यात बढाउनु हो । तर, कृषि उपजहरू निर्यात गर्दा क्वारेन्टाइन जाँच गराउनुपर्ने बाध्यता छ । यहाँ गरिएको क्वारेन्टाइन जाँचलाई भारत तथा अन्य देशहरूले मान्यता दिएका छैनन् । यसैले क्वारेन्टाइन चेकपोस्टहरू भन्सार नाकाहरू नजिक निर्माण गर्न जरुरी छ ।

पकेट क्षेत्रमा उत्पादित कुनै पनि वस्तु शीतगृहको अभावमा सञ्चय गर्न सकिँदैन । एउटा शीतगृह निर्माण गर्न कम्तीमा एक करोड आवश्यक पर्छ । जुन ग्रामीण क्षेत्रमा स्थानीय तहद्वारा निर्माण गर्नु कठिन छ । महँगो मूल्यमा निर्माण गरिएका शीतघरमा स्थानीय कृषकहरूले आफ्ना कृषि उपजहरू सञ्चय गर्न सक्दैनन् । त्यसैले सरकारले आवश्यकताअनुसार अनुदानमा शीतघर निर्माण गरिदिनु जरुरी छ ।

वस्तुतः पकेट क्षेत्रबाट फाइदा लिन प्रशस्त लगानी गर्नुपर्छ । जसका लागि प्रत्येक वर्ष पर्याप्त बजेट छुट्याउनु पर्छ । तर, हालसम्म पनि यस्तो गर्न नसक्नाले उक्त क्षेत्रबाट आशा गरेअनुरूप फाइदा प्राप्त गर्न सकिएको छैन । तसर्थ, आगामी दिनहरूमा यसतर्फ सम्बन्धित पक्षको ध्यान आकृष्ट हुनुपरेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #page 2

तपाईको प्रतिक्रिया