Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगचुनावको मुखमा विदेशिँदै नेपाली, छैन सरकारलाई चासो !

चुनावको मुखमा विदेशिँदै नेपाली, छैन सरकारलाई चासो !


काठमाडौं । निर्वाचन आउन अब धेरै समय बाँकी छैन । तर, निर्वाचनले गरिब जनतालाई केही फर पारेको छैन । भोट हाल्न विदेशबाट भित्रिनुको साटो दैनिक हजारौँ नेपाली बाहिरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर हे-यो भने सबै नेपाली विदेशिसकेका छन् जस्तो महसुस हुन्छ । भोट हाल्ने मतदाताजति सबै खाडी छिरेका छन् । अहिले चुनावलक्षित प्रचारप्रसार कार्यक्रम सुरु भइसकेको छ । राजनीतिक दलका नेताहरू विभिन्न आश्वासन लिएर घरदैलो कार्यक्रम गरिरहेका छन् । त्योमध्ये एक चुनावी एजेण्डा बनेको विषय हो वैदेशिक रोजगारी । हामीलाई भोट दिए देशमै रोजगारीको अवसर सिर्जना गर्छौँ भनेर नेताहरूले वर्षौँदेखि भन्दै आएका छन् । तर, उनीहरूको यो आश्वासनले जनतालाई कुनै प्रभाव पारेको छैन । नेताको उही आश्वासन सुन्दासुन्दै जनताको काम पाकिसकेको छ ।

हिजो पनि नेताहरूले यही भनेर भोट मागेका थिए । तर, जनताको जीवनमा यसले के प्रभाव पा-यो ? निर्वाचनको बेलामा रुँदैरुँदै मुलुक छोडिरहेका छन् । श्रम स्वीकृति लिनेको संख्या दिनँहु बढिरहेको छ । बिहान–बेलुकाको छाक टार्नकै निम्ति विदेश जानुपर्ने बाध्यता छ । देशका जनसंख्याको आधा जनशक्ति त बाहिर छन् । अलिकति सोचविचार गर्ने नै विदेशमा भएको फाइदा राजनीतिक दलले उठाउँदै आएका छन् ।

अधिकांश पार्टीले चुनावलक्षित घोषणापत्र सार्वजनिक गरिसकेको छ भने कतिको सार्वजनिक हुने क्रममा छ । हरेक पार्टीले आफ्नो संकल्पपत्रमा रोजगारीको विषय उठाएका छन् । यति वर्षमा यतिलाई रोजगारी दिन्छौँ भनेर घोषणापत्र त तयार परे तर कुन क्षेत्रमा रोजगारी दिने यो प्रस्ट पारेनन् ? नेपालका उद्योग जति राजनीतिक दलले बेचेर खाइसकेका छन् ।

व्यापार व्यवसाय गर्नका लागि लगानी गर्नसक्ने क्षमता नेपाली जनतासँग छैन । कृषिमै आत्मनिर्भर बनौँ भने पनि देशमा बिचौलियाको बिगबिगी छ । अनि अन्तिम विकल्प के ? वैदेशिक रोजगारी होइन् ? दलहरूले जनतालाई धेरै आश्वासन दिए, खोक्रो सपना देखाए तर त्योमध्ये कुनै पनि पूरा गर्न सकेनन् । यहाँ बसेर दलका फजुल कुरा सुन्नुको साटो विदेशमा गएर कमाउँदै गर्छु भनेर चुनावको मुखमा जनताहरू हिँडेका छन् ।

निर्वाचन आयोगले विदेशमा भएका करोडौं नेपाली जनतालाई मतदान गर्ने व्यवस्था मिलाउन सकेन् । चुनावको बेलामा विदेश जाने क्रम रोक्न पनि आयोग असमर्थ रह्यो । आयोग भन्छ, ‘जनसंख्याको आधारमा ५५ प्रतिशत जनताले भोट हाले भने निर्वाचन सफल हुन्छ ।’ निर्वाचन गराउँदा जनताले तिरेको खर्बौँ रुपैयाँ खर्च हुन्छ । तर, सबै जनताले भोट हाल्न पाउने प्रबन्ध मिलाउन आयोगले सक्दैन ।

चुनाव गराउने भन्ने आयोगको नौटङ्की मात्र हो । अर्थ मन्त्रालयले खर्बौँ बजेट पठाउँछ । यो र त्यो खरिद गरियो भनेर सबै बजेट झयाम्म पारिन्छ । स्पष्ट रुपमा भन्नुपर्दा चुनाव आउनु भनेको आयोगका कर्मचारीलाई दशैँ आउनुसरह हो । कमाउने ठाउँ जो पाउँछन् । आयोगले जति बजेट माग्यो, अर्थ मन्त्रालयले कहीँकतै प्रश्न नगरीकन पैसा दिन्छ । त्यसमध्ये आधा रकम त भ्रष्ट्राचार नै हुन्छ ।

निर्वाचनमा जनताले तिरेको करमा रजाइँ चल्छ । माथिदेखि तलसम्मकाले कमाउने मौका पाउँछन् । विदेशमा गएर जनताले मरीमरी कमाएर पठाइरहेका छन्, यहाँ भने त्यसको केही ‘भ्यालु’ नै छैन । एउटा कलम किनेर सयवटाको बिल बनाउँछन् । चुनाव आउँदा फाइदा हुने भनेको सरकारी कर्मचारी, नेता र व्यापारीलाई हो । सरकारी कर्मचारीले कमाउने अवसर पाउँछन् ।

नेताहरू सत्तामा पुग्छन् । चुनावपछि महँगीले सीमा नाघ्छ । अहिले नेताहरूले व्यापारीसँग चन्दा उठाएर चुनाव लडेका छन्, भोलि यो त व्यापारीले हामी जनतासँगै उठाउने त हुन् । चुनाव गराउँदा सरकारले लिएको विदेशी ऋण नेपालीकै टाउकोमा थुपारिन्छ । जताबाट पनि जनता मार्ने काम भइरहेको छ । निर्वाचन दिन जनतालाई उस्तै सास्ती छ । दुई/तीन घण्टाको बाटो हिँडेर मतदानकेन्द्रसम्म पुग्छन् ।

बिहानदेखि खालीपेट लाइनमा बसेर नेताहरूलाई जनताले भोट दिएका छन् । घाम लागे असिनपसिन हुन्छ, पानी परे भिज्दै मतदान गर्नुपर्छ । निर्वाचन कार्यालयहरूले न खानेपानीको व्यवस्था मिलाएका हुन्छ न शौचालयको । यस्तो सास्ती खेपेर भोट हाल्छन् तर सत्तामा आएका नेताले तिनलाई फर्केर पनि हेर्दैनन् । मतदान गर्ने दिन बेलुकाको ५ बजेसम्म नेताले जनता चिन्छन् ।

त्यसपछि त्यो नेतालाई जनताको मतलब छैन । पाँच वर्षको कार्यकालमा तिनीहरू फर्केर पनि जनताको घरमा पुग्दैनन् । यस्तालाई दुःख गरेर के भोट दिनु ? माधवकुमार नेपाल, आरजु देउवाले ‘फ्रि टिकट र फ्रि भीसा’ भनेर जनतालाई आश्वासन बाँडे । महेश बस्नेतले एउटा भोटका लागि दुई हजार रुपैयाँ खर्च गरिरहेका छन् । उनका कार्यकर्ताले दुई हजार रुपैयाँ बाँडिरहेका छन् ।

चुनावी प्रचारप्रसारको अवधि सुरु हुन नपाउँदै महेश बस्नेतले पार्टी प्यालेसमा लगेर भोज खुवाए । उनले पार्टी प्यालेसमा भोज दिएका भक्तपुर क्षेत्र नम्बर २ का जनता बताउँछन् । त्यस्तै, देउवा पत्नीले डडेल्धुराका जनतालाई बालुवाटारको ढोका सबैभन्दा अगाडि ढोका खोल्ने बताएकी छिन् । डडेल्धुराको जनता मात्र बालुवाटार छिर्ने पाउने हो ? जे मनलाग्यो त्यही बोलिदिने ?

यता, जनता पनि आश्वासनमा पर्छन् । जागिर नपाएकालाई जागिर दिन्छु भनेपछि उसलाई केही चाहियो ? आफ्नो घरअगाडिको बाटो बनाइदिन्छु भनेपछि जनताले भोट दिन्छन् । तर, त्यो सडक कहिल्यै निर्माण हुँदैन । दुई हजार रुपैयाँमा भोट कुनै पनि जनता बिक्नुहुँदैन । नेताहरू सत्तामा पुग्नका लागि जस्तोसुकै काम गर्न पनि तयार छन् । जनतामा पनि चेतनाको कमी भएको जस्तो देखिन्छ ।

नेतालाई त के छ अहिले १० करोड खर्च गर्छन् । पाँच वर्षको कार्यकालमा काम गर्नुको साटो त्यसको दोब्बर कमाउन खोज्छन् । हिजो सरकारी जग्गा, गुठीको जग्गा हिनामिना गर्दाको पैसा त यिनीहरूसँग छ । खर्च गर्न नसक्नेले यो पटक चुनाव नै लडेनन् । पार्टीले टिकट दिन्छु भने पनि उनीहरू चुनावी मैदानमा आएनन् । जनताका लागि काम गर्ने सबै पछाडि हटेका छन्, उही कामचोर नेताहरू चुनावी मैदानमा होमिएका छन् ।

नेताहरूको गुलामी गर्न सक्नेले जागिर पाउने हुन् । अहिले चुनावले जसले आफ्नो साथ समर्थन गरेका छन्, नेताहरूले पनि तिनलाई मात्र देख्छन् । यिनीहरूका लागि जनता सत्तामा पुग्ने भ-याङ मात्र हुन् । जुन कुरा पछिल्लो समय जनताले पनि बुझिसकेका छन् । सरकारले सातवटा खाडी मुलुकमा ‘फ्रि टिकट, फ्रि भीसा’ भनेको छ । तर, म्यानपावरहरूले ती मुलुक पठाउनका लागि पनि दुई तीन लाख उठाइरहेका छन् ।

त्यति पैसा खर्च गरेर बाहिर जान्छु, कमाएर आफ्नो घरपरिवार पाल्छु भनेर जनता हिँडेका छन् । नेतालाई चुनाव लागेको छ तर जनतालाई कुनै चासो छैन । अलिक राम्रा नेता भएको भए पो चासो हुन्थ्यो । पहिले–पहिले खेतीकिसानी गरेर पनि आफ्नो गुजारा गरिरहेका थिए । तर, अहिले त किसानी गर्नलाई जग्गाको अभाव छ । नेताहरूले सबै खेतीयोग्य जमिन प्लानिङ गर्न लगाए । खेतीयोग्य जमिन सबै मासिसकेको छ । पहिले २० रोपनी जग्गा हुने अहिले तीन आनामै सीमित भएका छन् । तीन आनामा बस्ने बास त होला तर भोको पेट त भर्नुप-यो । पासपोर्ट बनाउने, म्यानपावरमा लगेर बुझाउने अनि विदेशतिर दौडिने । हरेक नेपालीको सोच नै यो हो । कि त कमाएर ल्याइन्छ कि कफिनमा फर्किन्छ । आफ्नो ज्यान त दाउमा राखेर हिँडेकालाई नेतासँग के मतलब ?

नेपालमै केही व्यवसाय गर्छु भन्यो भने कसैले ऋण पत्याउँदैन । यहाँ लगानी ग-यो भने पैसा डुब्छ भनेर साहुहरूले ऋण दिँदैनन् । तर, वैदेशिक रोजगारीमा जाने भन्नेबित्तिकै साहुले महँगो ब्याजमा पैसा दिइहाल्छन् । बाठाले पैसा लगानी गरेर पैसा कमाउँछन्, सिधासाधी विदेशमा गएर मर्नेगरी खटिन्छन् । नेपालमा उद्योग खोल्छु, केही गर्छु भन्दा पनि सरकारबाट साथ सहयोग पाइँदैन । बजारको व्यवस्था पनि छैन । त्यसैले पनि वैदेशिक रोजगारीतिर मोह बढ्यो ।

अब पनि सरकारले रेमिट्यान्स मात्र हेर्ने हो भने नेपाल रहँदैन । जनता सबै खाडीमा अनि नेता मात्र देशमा बस्ने ? देशका जनतालाई सरकारले भेडाबाख्राझैँ बेचिरहेको छ । नेपाली जनता भेडाबाख्रा नै हुन् ? रोग नलागेका सबै विदेश हिँडेका छन्, बुढाखाडा मात्र यहाँ छन् । अनि देशको विकास कसरी हुन्छ ? पैसा कमाउनका लागि आफ्नो घरपरिवारबाट टाढिँदा वैवाहिक सम्बन्ध तहसनहस भएका छन् । यसले थप जटिल अवस्था ल्याउन सक्छ । कि त बच्चा जन्माउन रोक लगाउनुप-यो । कर लिने, नागरिकता दिने अनि विदेश पठाइरहने ?


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया