Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगचिटले गर्दैन कसैको हित

चिटले गर्दैन कसैको हित


काठमाडौं । अंग्रेजी शब्दको हिज्जेअनुसार चिट शब्दको अर्थ एक सानो कागजको टुक्रा र अर्को निहित स्वार्थपूर्तिका लागि विश्वासघात गरी गरिने अनुशासनहीन धूर्त कामलाई जनाउँछ । परीक्षामा सानो कागजको टुक्रामा उत्तर लेखेर निरीक्षकको आँखा छली चोर्ने काम हुने भएकोले वर्तमानमा चिट शब्द अंग्रेजीका उल्लिखित दुवै अर्थको रिमिक्सका रूपमा प्रयोग भएको पाइन्छ । अझ एसईई परीक्षाको समयमा त चिट सर्वत्र बहसको विषय बन्ने गरेको छ । अन्य क्षेत्रमा पनि नेपालीले यसलाई विनाहिचकिचाहट आफ्नो बानीव्यहोरामा उतारेको बग्रेल्ती उदाहरण पाइन्छ । एकले अर्कालाई ठग्ने झुक्याउने धोखा दिने काम हाम्रो संस्कार र संस्कृति बन्दै गएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले एसईईलाई मर्यादित बनाउने प्रयास गरे पनि चिट चोर्ने चोराउनेको चर्चामा कमी आएको छैन । एसईई परीक्षामा चिटलाई चाहिँदोभन्दा बढी प्रचारका कारणबाट पनि विद्यार्थीमा मनोवैज्ञानिक त्रासादी फैलिएको छ । विद्यार्थीलाई एक्जामिनेसन फिभरले छोइसकेको छ । फलामे ढोकाको रूपमा चित्रित एसईई परीक्षामा अधिकतम अंक ल्याएर उत्कृष्ट स्थानमा हाँसिल गर्न परीक्षार्थीले आफ्नो अध्ययनलाई घनीभूत पारिराखेका छन् । एसईईसँगै चिट चोर्ने चोराउने प्रसङ्ग पनि उत्तिकै चर्चाको विषय बन्ने गरेको छ । चिट अंग्रेजी शब्द भए पनि नेपाली भाषामा पनि विशेषतः एसईईका कारणले आफ्नो लोकप्रियतामा वर्चश्व कायम गर्दै आएको छ ।

माध्यमिक शिक्षा परीक्षा मर्यादित बनाउन हरप्रयास गरे पनि निमिट्यान्न पार्न हम्मेहम्मे परेको यर्थाथता हो । एसईईमा मात्र चिटको चर्चा किन व्यापक हुन्छ ? कारण खोजिनु पर्दछ । चिट चोर्न चोराउन विद्यार्थी शिक्षक र अभिभावक किन मरिहत्ते गरेर लाग्छन् ? बहसको विषय बन्नुपर्दछ । परीक्षा सञ्चालन समयमा गरिने कडाइ चिट निराकरणको एक मात्र उपाय हो त ? सार्थक अध्ययन अनुसन्धानबाट समस्याको जरो र समाधानको चुरो पहिल्याउन विलम्ब भइसकेको छ । शैक्षिक विकृति विसङ्गतिरूपी रोगको एक लक्षण मात्र हो अहिलेको सदाबहार चिट लोकप्रियता ।

पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि हासिल गर्दै तोकिएको समयावधि पठनपाठन गरेर विद्यार्थीलाई सहज परीक्षा दिनेगरी सक्षम बनाउन असफल हुनुको विकल्प हो चिट लोकप्रियता । यसप्रकार चिटको दोषी विद्यार्थीलाई मात्र बनाएर अन्य सरोकार पक्ष उम्किन खोज्नु अक्षम्य भुल हो । अर्कोतर्फ चिट चोर्नु चोराउनु र चोर्न विवस बनाउने सबै गतिविधि एकप्रकारको शैक्षिक भ्रष्टाचार हो । चिट चोरर पास हुनु र सुन्निएर मोटाउनु एकै हो । चिट चोरेर अधिक अंक ल्याएर सफल भए पनि पछि व्यवहारमा असफल हुँदाको ग्लानियुक्त यथार्थता व्यहोर्दाको क्षण पश्चात्तापपूर्ण हुन्छ । तसर्थ वास्तवमा चिटले गर्दैन कसैको हित । केही वर्षअगाडि रुकुमको एक परीक्षार्थी छात्राले चिट खोसिएको अपमान सहन नसकेर आत्महत्या गरिन् । चिट चार्ने बाध्यतालाई निरुत्साहित गर्न अभिभावक, विद्यार्थी, शिक्षक सरोकार सबैले बेलैमा सोच्नु बुद्धिमत्ता काम हुनेछ । शैक्षिक विसंगति, विकृति र क्षतिरूपी रोगको लक्षण मात्र हो चिट समस्या । अतः शिक्षण संस्थाका लागि तोकिएका न्यूनतम सेवासर्त पूरा नगरी सेवाप्रदायक संघसंस्था निकाय र पदाधिकारीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा आर्जन गर्नबाट ठगेको (चिटिङको) प्रतिफल हो चिट संस्कारको विकास र विस्तार । तसर्थ परीक्षामा चिट संस्कृति मौलाउनुमा विद्यार्थीलाई मात्र दोष दिनु अन्याय हुन जान्छ ।

चिट चोर्ने चोराउने तथा परीक्षालाई बिथोल्ने जो–कोहीलाई कसुरअनुसार परीक्षाबाट निष्कासन तथा छ महिनासम्म जेल सजाय वा एक लाखसम्म जरिवाना गर्ने प्रावधान रहेको छ । अनि मर्यादित परीक्षा सञ्चालन गर्ने उत्कृष्ट विद्यालयलाई पुरष्कृत गर्ने नीतिले परीक्षा सञ्चालनमा सुधार आउने अपेक्षा गर्न सकिन्छ । शैक्षिक सत्रभरि हुने पठनपाठनलाई प्रभावकारी बनाउन सरोकार पक्ष उदासीनताको प्रतिफल हो चिट । शिक्षक, अभिभावक, विद्यालय तथा नीति निर्माताले विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर इमान्दारितापूर्वक शैक्षणिक गतिविधि सञ्चालनले मात्र परीक्षाको समयमा धेरै चर्चामा आउने चिटिङ संस्कारलाई निरुत्साहित गर्न बल पुग्दछ ।

एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरूको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको सहजता प्रदान गर्दै उत्साह र ढाढस दिएर मर्यादितरूपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारीभित्र पर्दछ । जसले विद्यार्थीलाई परीक्षादेखि डराउने रोग एक्जामफोविया हुनबाट बचाउँछ । यस मानेमा एसईई अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।

त्यस्तै विद्यालयले पनि विद्यार्थीको रुचि क्षमताअनुसारको विषयको छनोट तथा परीक्षालाई सहजरूपमा सामना गर्नसक्ने बानी र योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक विभिन्नता एवं उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठनको अभ्यास गर्ने अवसरको चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यर्थाथता हो । किनकि एसईईको नतिजाको आधारमा विद्यालयको छबी सरकार र समुदायमा कायम हुनेगरेको छ । तसर्थ आफ्ना विद्यार्थीको उपलब्धिस्तर उच्चतम बनाउन अधिकाधिक सकरात्मक प्रयास गर्नुपर्ने हुन्छ।

प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पारेके हुन्छ नै । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको हैसियत निक्र्याैल गर्दछ । विद्यार्थीले परीक्षालाई सहज र सामान्यरूपमा आत्मसात गर्ने खालको वातावरण बनाउन सकेमा पनि चिट संस्कारलाई निरुत्साहित गर्न टेवा पुग्दछ ।

एसईई परीक्षा प्रत्यक्षरूपमा विद्यार्थीको लागि मात्र फलामे ढोका भएजस्तो लागे पनि परोक्ष्यरूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको नीतिनियम तथा कार्यक्रमको प्रभावकारिता जाँच्ने कसी पनि हो । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पु-याउन चासो देखाए भन्ने कुराको एकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ एसईई विद्यार्थीको लागि मात्र परीक्षा नभएर सम्बन्धित सरकारी निकाय, विद्यालय, शिक्षक, अभिभावकलगायत सरोकारपक्षको पनि परीक्षा हो । परीक्षामा असफलताको प्रत्यक्ष क्षतिको भागेदार विद्यार्थी भए पनि परोक्षरूपमा अन्तत्वगत्वा समग्र राष्ट्रलाई पर्नेतर्फ हेक्का राखेर परीक्षाको सही विश्लेषण र व्याख्या गरी आ–आफ्नो जिम्मेवारी र जवाफदेहिता वहन गर्न ढिलो भइसकेको छ । तसर्थ एसईईलाई मर्यादित एवं अनुशासितरूपमा सञ्चालन गर्न सबै क्षेत्रबाट इमान्दारितापूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्न सक्र्यौँ भने विद्यार्थीले कर र डरले नभई रहरले परीक्षा दिन उत्साहित हुनेछन् । परीक्षामा जसरी भए पनि पास गर्ने गराउने नकरात्मक प्रवृत्तिलाई निरुत्साहित गर्न सकेमा मात्र एक सफल, सभ्य, सुशील, स्वाभिमानी तथा प्रतिस्पर्धी नागरिक उत्पादन गर्न सकिएला कि ?


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया