Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविज्ञान, धर्म र अध्यात्म

विज्ञान, धर्म र अध्यात्म


काठमाडौं । विज्ञान प्रकृति र ऊर्जा अथवा शक्तिको पछाडि हुने नियमहरूको अध्ययनको नाम हो । खासगरी प्रकृतिमा हुने रूपान्तरण, प्रकारान्तरण वा परिवर्तन र त्यसको गुण, प्रभाव अथवा प्रयोग र तिनमा हुने, भइरहने क्रिया–प्रतिक्रियाको अध्ययन–अनुसन्धान, परीक्षण तथा प्रयोग गर्ने विधिको नाम नै ‘विज्ञान’ हो ।

आज विज्ञान प्रविधिको क्षेत्रमा भएकोे अभूतपूर्व प्रगतिका कारण सिंगो विश्व एउटा सानो गाउँमा परिणत हुनपुगेको छ । हामी संसारको कुनै पनि मुलुकमा केही घण्टाको यात्राबाट सहजरूपमा पुग्न सक्ने भएका छौँ । टेलिभिजनको आविष्कारले गर्दा हामी घरभित्रको एउटा सानो कोठामा बसेर संसारका गतिविधिहरू देख्न र सुन्न सक्ने भएका छौँ । वातानुकूलित यन्त्रको आविष्कारले गर्दा हामी घरभित्र कोठामै बसेर मौसमी तातो वा चिसोबाट बच्न सक्ने भएका छौँ ।

विशेषगरी सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व प्रगतिले गर्दा हामी संसारको कुनै पनि मुलुकमा रहेका व्यक्ति अथवा नातेदारसँग घरको एउटा सानो कोठामा बसेर प्रत्यक्ष कुराकानी अथवा सन्देश आदानप्रदान गर्न सक्ने भएका छौँ । केही दशकअघिसम्म मात्र एक ठाउँको चिट्ठी अर्को ठाउँमा पुग्न हप्तौँ र महिनौँ लाग्ने गथ्र्यो । तर आज मोबाइल, टेलिफोन, इन्टरनेट, भाइबर आदिजस्ता सञ्चार प्रविधिको विकासले गर्दा हाम्रो सूचना र सञ्चार प्रणाली अत्यन्त सहज र सुलभ हुनपुगेको छ ।

त्यसो त विज्ञान आफैँमा नराम्रो वस्तु होइन तर यान्त्रिक विकाससँगै मानवीय भावना विलुप्त हुँदै जानुका कारण भने यसको सही उपयोगमाथि प्रश्न पनि उठिरहेको छ । हामी देख्दछौँ कि प्रविधिको उपयोग सकारात्मक कार्यहरूमा भन्दा पनि नकारात्मक कार्यकै लागि बढी हुनेगरेको छ । आज चारित्रिक मूल्य, नैतिक आचरण या धार्मिक मर्यादाहरूले आफ्नो महत्व गुमाउँदै गइरहेको छ । जसको परिणाम, मनुष्यको सुखसुविधाको लक्ष्यलाई लिएर अगाडि बढिरहेको विज्ञानले आज विनाशको लागि पनि सामग्रीहरू उत्पादन गरिरहेको छ ।

त्यसैगरी धर्मको अर्थ हुन्छ ‘धारणा’ । जीवनमा यस्तो नैतिक मूल्यको धारणा, जसबाट हाम्रो कर्म श्रेष्ठ होस् र त्यो श्रेष्ठ कर्मको सकारात्मक सन्देश हामी आफ्नो सामाजिक जीवनमा पनि फैलाउन सकौँ । त्यसैले धर्म मनुष्यको जीवनमा कुनै असल नियम, असल गुण वा असल विचार एवं दृष्टिकोण अपनाउनेलाई भनिन्छ । धर्मले नै हामीलाई गलत कर्मबाट बचेर रहने शिक्षा दिन्छ । हाम्रो मनुस्मृतिमा धर्मको १० वटा लक्षणहरूबारे स्पष्टरूपमा उल्लेख गरिएको पाइन्छ जस्तैः धृति, क्षमा, दमोस्तेयं शौचमिन्द्रियनिग्रहः धीर्विद्या सत्यमक्रोधो दशकम् धर्म लक्षणम् । अर्थात् धैर्य, विद्या, सहनशीलता, क्षमा, इन्द्रिय निग्रह, अस्तेय वा चोरी नगर्नु, क्रोध नगर्नु, पवित्र रहनु, मनलाई दमन गर्नु वा मनलाई वशमा राख्नु, अहस्तक्षेप वा अरुको काममा हस्तक्षेप नगर्नु । यी धर्मका दश आधारभूत लक्षणहरू हुन् ।

संसारमा जति पनि धर्म छन्, तिनको एक प्रमुख उद्देश्य भनेको मनुष्यको असल चरित्र निर्माण गर्नु नै हो । यसको अलावा धर्मको लक्ष्य मनुष्यको संस्कार तथा व्यवहारलाई सुधार गर्दै उसलाई समाजको लागि एक जिम्मेवार र उपयोगी नागरिक बनाउनु पनि हो । उसको नैतिक–चरित्रिक उत्थान गर्दै उसलाई एउटा असल मानवत्वको दर्जामा पु¥याउनु पनि हो । यद्यपि धर्मको विकृत स्वरूप भने मानव समाजको लागि हानिकारक पनि हुन्छ । विगत केही दशकहरूमा धर्मको नाममा जुन किसिमका साम्प्रदायिक युद्धहरू भएका छन् त्यसले गर्दा कतिपय मानिसमा धर्मप्रति एक किसिमबाट वितृष्णा बढेको पनि देखिन्छ । त्यसैले धर्मलाई आ–आप्mनो स्वार्थअनुकूल व्याख्या गर्ने र आफ्नै धर्मलाई मात्र ठूलो ठानी अरुको धर्मलाई गौण मान्ने जुन किसिमको चलन वा प्रवृत्ति देखिने गरेको छ त्यसलाई भने हामीले परित्याग गर्नै पर्दछ ।

वास्तवमा धर्म होस् वा विज्ञान, दुवैको मुख्य उद्देश्य भनेको मानव जीवनलाई सुखी र समृद्ध बनाउनु नै हो । विज्ञानले मानवीय इच्छाहरूको परिपूर्ण गर्ने साधनको खोजी गर्दछ भने धर्मले मनुष्यको अनियन्त्रित इच्छा आकांक्षाहरूलाई सन्तुलित राख्ने यत्न गर्दछ । अतः हामी भन्न सक्छौँ कि धर्म र विज्ञान परस्पर विरोधी होइनन् । बरु यी दुवै एक–अर्काका परिपूरक हुन् र दुवै मानव हित र कल्याणको लागि आवश्यक छ । विज्ञान भौतिक सुखको लागि आवश्यक छ भने धर्म शान्ति र शुद्ध आचरणको लागि । त्यसैले धर्म र विज्ञान मानिसका लागि दुई जोडी आँखाजस्तै हुन् । समाजको लागि पनि धर्म र विज्ञान दुवैको आवश्यक छ ।

अब आध्यात्मिक प्रसङ्गमा पनि अलिकति चर्चा गरौँ । अध्यात्मले मनुष्यको व्यवहार एवं आचरणलाई सुधार गर्दछ र उसको गलत संस्कारहरूमा परिवर्तन ल्याई उसलाई असल मानवीयताको बोध गराउँदछ । आध्यात्मिकताकै कुरा गर्दा योग र ध्यानको प्रसङ्ग पनि जोडिएर आउने गर्दछ । योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित तुल्याउँदछ । साथै यसले हाम्रो मनको एकाग्र शक्ति पनि बढाउँदछ । जसले गर्दा ईष्र्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रोे मनमा जरा गाढ्न पाउँदैन । वास्तवमा मनुष्य जीवनमा आइपर्ने सबै किसिमका व्यावहारिक समस्याहरूको समाधान मानिसको मनोभावनामा आधारभूत परिवर्तनबाट नै हुन सक्तछ र मनोभावनामा आधारभूत परिवर्तन ल्याउनु नै वास्तवमा आध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो । किनकि आध्यात्मिक ज्ञानमा नै मानिसको विचार, भावना अनि मनोकांक्षालाई सही दिशा दिने शक्ति अथवा क्षमता अन्तरनिहित रहेको हुन्छ ।

आज विज्ञान र प्रविधिको उच्चतम विकास गरी भौतिकवादी दृष्टिकोण अपनाइरहेका विकसित मुलुकहरूमा पनि जुन किसिमको हिंसा, कलह र अशान्तिको बादल मडारिँदै गइरहेको छ र यसबाट सामाजिक मूल्य मान्यताहरूमा समेत क्रमिकरूपमा ह्रास आइरहेको छ त्यो धर्म र आध्यात्मज्ञानकै कमीको कारणले गर्दा हो । यसले विज्ञान प्रविधिले गरेको विकास र उपलब्धिलाई मानव हितमा यथोचित रूपले उपयोग गर्न नसकिएको यथार्थतालाई नै उजागर गर्दछ ।

त्यसैले समग्रमा हामी के भन्न सक्तछौँ भने धर्म र अध्यात्मज्ञानको माध्यमबाट आधुनिक विश्व जगतमा भएको विज्ञान र प्रविधिको उपलब्धिलाई सहीरूपमा उपयोग गरी त्यसलाई मानव हित र कल्याणमा लगाउन अभिप्रेरित गर्न सकएिको खण्डमा नै हामी मानवहित र विश्व कल्याणको लागि योगदान पु-याउन सक्तछौँ । यसको लागि विज्ञानसँग धर्म र अध्यात्मको समन्वय गर्नु वर्तमान सन्दर्भमा अति नै आवश्यक देखिन्छ । हैन भने आज जुन विज्ञान प्रविधिको विकास र उपलब्धिलाई लिएर हामी गर्व गरिरहेका छौँ भोलि गएर त्यही नै हाम्रो लागि विनाशको प्रमुख कारक पनि बन्न सक्तछ । विश्वभरि भयावहरूपमा देखा परेको कोरोनाको महामारीलाई पनि हामीले यसै संकेतको रूपमा लिनु युक्तिसंगत होला कि ?


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया