‘पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन ठोस कार्यक्रम’
काठमाडौं, वैशाख १७
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुनर्जीवन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेटमार्फत ठोस कार्यक्रम ल्याउने बताएका छन् ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) र नेपाल टे«किङ ट्राभल राफ्टिङ एयरलाइन्स संस्कृति पुरातात्विक कार्गो कुरियर श्रमिक युनियन (युनिट्राव)ले पर्यटन व्यवसायी तथा श्रमिकहरुको पुनर्जीवनका लागि बुझाएको ध्यानाकर्षण पत्र बुभ्दै मन्त्री भट्टराइलेसरकार एक्लैको प्रयासबाट यो क्षेत्रलाई माथि उकास्न नसकिने पनि उल्लेख गरे ।
सरकार र निजी क्षेत्रको संयुक्त पहलमा मात्र व्यवसायीको लगानी र श्रमिक तथा कर्मचारीको जीवनयापन सुरक्षित गर्न र पर्यटन व्यवसायलाई ब्युँताउन सकिने उनको भनाइ थियो । यस्ता खालका प्रकोपबाट मात्र नभएर अन्य उतारचढावले पनि पहिलो निशाना पर्यटन क्षेत्रलाई नै पार्नेे उल्लेख गर्दै मन्त्री भट्टराईले जनसंख्याको ठूलो हिस्सा धानेको पर्यटन क्षेत्रलाई फेरी कसरी ब्युँताउन सकिन्छ भनेर सरकारले गृहकार्य गरिरहेको बताए । नेपालको पर्यटन क्षेत्रमा १५ खर्ब ९५ अर्बभन्दा बढी र आठ/नौ लाख प्रत्यक्ष रोजगारी रहेको प्रारम्भिक तथ्यांक रहेको उनले बताए ।
यसअघि मन्त्रिपरिषद्को बैठकबाट पनि तत्काल राहतका लागि व्यवसायीहरुले तिनुपर्ने ब्याजको समयसीमा बढाउने, घरभाडा छुटका लागि घरधनीसँग आग्रह गर्ने लगायतका केही घोषणा भइसकेको उल्लेख गर्दै मन्त्री भट्टराइले दीर्घकालीन राहतका प्याकेजबारे पनि आन्तरिक तयारी भइरहेको बताए ।
त्यस्तै, यदि यो क्षेत्रमा आबद्ध श्रमिकहरु जान चाहन्छन् भने हाइड्रोपावर, सडक निर्माण, विमानस्थल निर्माण, सगरमाथा सरसफाइ, सम्पदा सरसफाइलगायतका काममा लगाउन सकिने गरी वैकल्पिक रोजगारीबारे पनि गृहकार्य भइरहेको मन्त्री भट्टराईले बताए । कोरोनाका कारण अलपत्र परेका तथा खान नपाएका कोही श्रमिक/कर्मचारी छन् भने तिनको समस्याको तत्काल सम्बोधन गरिने उल्लेख गर्दै मन्त्री भट्टराईले समस्यामा परेकाहरुको तथ्यांक तत्काल उपलब्ध गराउन टान र युनिट्रावका प्रतिनिधिसँग आग्रह गरे ।
टान र युनिट्रावका तर्फबाट बुझाइएको ध्यानाकर्षण पत्रमा ब्याज मिनाहा, एक वर्षसम्म विना धितो दुई प्रतिशत ब्याजदरमा २० लाखसम्म कर्जा सुविधा तथा घरभाडा छुटका लागि पहल गर्नुपर्ने, टिम्सअन्तर्गत मजदुर कल्याण कोषको जम्मा भएको रकम श्रमिकहितको लागि प्रयोग गर्नुपर्ने, ट्रेकिङ कम्पनीको नवीकरणको समयावधि ६ महिना थप्नुपर्ने, आउँदो बजेटमार्फत पर्यटन क्षेत्रमा विशेष छुटका योजना ल्याउनुपर्ने लगायतका माग उल्लेख गरिएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया