Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाले बंगलादेशी अर्थतन्त्रलाई १३ अर्ब डलर क्षति हुने एडीबीको अनुमान

कोरोनाले बंगलादेशी अर्थतन्त्रलाई १३ अर्ब डलर क्षति हुने एडीबीको अनुमान


ढाका, वैशाख २३
एसियाली विकास बैंक (एडीबी)ले विश्व महामारी कोरोनाभाइरसका कारण बंगलादेशी अर्थतन्त्रमा १३ अर्ब ३० करोड अमेरिकी डलर क्षति हुने अनुमान गरेको छ । मनिलामा रहेको एडीबीले उक्त क्षति उसले नै गत मार्चमा गरेको अनुमानको चार गुणा बढी रकम हो । उक्त क्षति कुल गार्हस्थ्य उत्पादनको ४.९ प्रतिशत क्षति हो । यदि उक्त मात्रामा क्षति हुने हो भने सरकारले ल्याएको जीडीपीको ३.३ प्रतिशत राहत प्याकेज अपर्याप्त हुनेछ । एडीबीका अनुसार ३७ लाखसम्म रोजगारी गुम्ने खतरा देखिएको छ । बंगलादेशमा मार्च २६ यता सम्पूर्ण आर्थिक गतिविधि ठप्प छ । निर्यातमा कमी, घट्दो रेमिट्यान्स र घरेली आर्थिक गतिविधिमा सुस्तताजस्ता मुख्य आर्थिक माध्यममा भाइरसको असर देखिनेछ ।

यसैबीच, बंगलादेशी सरकारले एडीबीबाट ५० करोड अमेरिकी डलर बजेटरी सहयोग खोज्ने भएको छ । बंगलादेशमा साढे २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् भने साढे १० प्रतिशत जनसंख्या अतिगरिब छन् । यस्तो परिस्थितिमा कोरोना महामारीले थप दबाब सृजना गर्ने देखिएको हो । बंगलादेशमा कुल कार्यशक्तिको ८५ प्रतिशत अनौपचारिक अर्थतन्त्रसँग जोडिएका छन् भने ४.३ प्रतिशतको बेरोजगारी दर रहेको छ । धेरैजसो बंगलादेशी गार्मेन्ट, ठूला, साना तथा मध्यम उद्यमसँग सम्बन्धित छन् । यी क्षेत्रका कतिपयले रोजगारी गुमाइसकेका छन् । एडीबीले बंगलादेशलाई ३ लाख ५० हजार डलर बराबरको प्राविधिक अनुदान सहायता प्रदान गरिसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया