Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित

पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित


इस्लामाबाद, जेठ ९
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण पाकिस्तानमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई हजार १ सय ९३ जना संक्रमित भएका हुन् । योसँगै देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल संक्रमितको संख्या ४८ हजार ९१ पुगेको पनि अधिकारीहरुले बताएका छन् ।

उनीहरुले अहिलेसम्म कोरोनाका कारण एक हजार १७ जनाको मृत्यु भएको र ती मध्ये ३२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि जानकारी दिएका छन् । देशभर अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै परीक्षण पनि बुधबार नै गरिएको छ । बुधबार मात्रै १५ हजार ३ सय ४६ जनाको कोरोनाभाइरस परीक्षण गरिएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ । उनीहरुका अनुसार अहिलेसम्म देशभरी कुल चार लाख २९ हजार छ सय भन्दा बढीको परीक्षण गरिएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेका छन् । सिन्ध प्रान्तमा मात्रै १८ हजार ९ सय ६४ जना संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । त्यसपछि दोस्रो धेरै संक्रमित रहेको पन्जावमा छ हजार ८ सय १५ जना, तेस्रो धेरै रहेको खैबर पख्तुन्खवामा ६ हजार ८ सय १५ जना र बालुचिस्तानमा दुई हजार ९ सय ६८ जना संक्रमित भएका छन् ।

त्यसैगरी केन्द्रीय राजधानी रहेको इस्लामावादमा एक हजार २ सय ३५ जना, गिल्गित बालोचिस्तानमा ५ सय ७९ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा १ सय ४८ जना संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । देशभर कोरोनाभाइरसबाट कुल संक्रमितमध्ये अहिलेसम्म १४ हजार १ सय ५५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया