टीकाराम पोखरेल
प्युठान, असार ३
प्युठान नगरपालिका–४ गाजुरीका विष्णु पोखरेलले कृषियन्त्र प्रयोग गरी खेती गर्न थालेको चार वर्ष भयो । गाउँमा पहिलो पटक ट्र्याक्टरमार्फत खेती गर्दा कम उब्जनी हुन्छ भन्ने सुनेका छिमेकीले पोखरेलको अग्रसरतालाई खुबै ख्याल गरे । ४५ मुरी धान उत्पादन हुने पोखरेलको खेतबाट ट्र्याक्टर लगाएर जोतेको वर्ष ५१ मुरी उब्जनी भयो । त्यसपछि छिमेकीमा समेत यन्त्रीकरणमा आकर्षण थपिएको छ ।
समयको बचत र कम लगानीमा ठूलो क्षेत्रफलमा एकै दिन काम हुने भएपछि कृषियन्त्रले सहजता ल्याएको उनी बताउँछन् । भर्खरै सरकारी जागीरबाट अवकाशप्राप्त गरेका पोखरेलको परिवारका सदस्यहरू काम र अध्ययनको सिलसिलामा घरबाहिर रहेका छन् । घरमा पशुचौपाय पाल्न पनि नसक्ने भएपछि खेत जोत्ने समयमा हरेक वर्ष गाउँभरि गोरु खोज्न हैरान भएका पोखरेल अहिले ट्र्याक्टरको प्रयोगले ढुक्क छन् । ‘सात रोपनी जमीनमा ५ हल गोरु नभई कामै थिएन’, पोखरेलले भने, ‘दुई घण्टामा ट्र्याक्टर लगाएर सबै सकियो ।’ हली गोरुले खेत जोत्दा पहिले आठ हजार पाँच सय रूपैयाँ पर्दथ्यो तर ट्र्याक्टरले जोत्दा त्योभन्दा सस्तो र छिटो पाँच हजार आठ सय रूपैयाँले सकिएको उनले बताए । विगत वर्षमा ठूलो ट्र्याक्टरले रोपाइँ गर्दा बढी माटो निस्कने भएकाले उब्जनी पनि बढी भएको उनी बताउँछन् ।
जिल्लाका अन्य अगुवा किसान पनि कृषिमा आधुनिकीकरण गर्दै कृषियन्त्रप्रति आकर्षित भएका छन् । ठूलो ट्र्याक्टर, हातेट्र्याक्टर, थ्रेसर, रोटाभेटरजस्ता कृषियन्त्रमा किसानको आकर्षण थपिँदै गएको छ । संघ, प्रदेश, स्थानीय सरकारले विभिन्न समूह तथा सहकारीमार्फत कृषियन्त्र वितरण गर्दा गाउँ–गाउँसम्म कृषिमा यन्त्रीकरणको प्रयोग बढ्दै गएको छ । समूह सहकारीले समेत अनुदानका कृषियन्त्रको व्यवस्थापन गर्दै किसानलाई सहजता प्रदान गरिरहेको अगुवा किसान तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड प्युठान नगरपालिका–७ पुन्यखोलाका अध्यक्ष गीता जिएमले बताइन् । ‘किसानको पहुँचमा कृषियन्त्र पुग्दा सहजता बढ्दै गएको छ’, उनले भनिन्, ‘बाली लगाउनेदेखि भित्र्याउनेसम्म कृषियन्त्रको माग बढ्दो छ ।’
परम्परागत साधनबाट खेतीपाती गर्दा व्यावसायिक बन्न नसकिने र समयअनुसार कृषिमा यान्त्रिकरणको खाँचो भएको उनको भनाइ छ । पहाडका टुप्पोमा समेत सडकको पहुँच पुगेपछि कृषियन्त्र पुग्नु सामान्य भएको छ । कुनै ठाउँमा ठूला र कुनै ठाउँमा पावर ट्रिलर, मिनीट्रिलर पुगेका छन् । सानायन्त्र पहाडमा पुग्दा थप सहजता भएको छ । पछिल्लो समय गाउँमा पशु चौपाया पाल्नेको संख्या घट्दो छ । गोरुले जोत्दा हप्तौँ लाग्ने किसानका बारीमा कम समयमा कृषि बाली लगाउने र भित्र्याउन सकिने भएपछि आकर्षण थपिएको जिएमको भनाइ छ ।
चालू आर्थिक वर्षमा मात्रै जिल्लामा प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान जोन) बाट २१, प्रदेश सरकार कृषि ज्ञान केन्द्र, दाङबाट १०, प्युठान नगरपालिकाबाट १२, झिमु्रक गाउँपालिका बाट १३ गरी ५६ थान मिनीटेलर किसानलाई वितरण गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट एक सय ६८, प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धानजोन) २१, प्युठान नगरपालिका १२, माण्डबी २, नौबहिनी ४ र झिमरुक गाउँपालिकाबाट १३ गरी दुई सय २० मिनीट्रिलर वितरण गरिएको थियो । त्यसैगरी साबिकको जिल्ला कृषि विकास कार्यालयबाट ५० भन्दा बढी र पछिल्लो समय प्रदेश, स्थानीय तहले गरी जिल्लाभर करिब तीन सयभन्दा बढी मिनीट्रिलर र पावरट्रिलर किसानले अनुदान प्राप्त गरेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी उमेशचन्द्र श्रेष्ठले जानकारी दिए ।
गाउँ–गाउँमा कृषियन्त्रहरू अनुदानमा पाएपछि किसानले व्यक्तिगत लगानीमा समेत खरिद गर्न थालेका छन् । परिश्रम र लागत कम र उत्पादन बढ्ने भएकाले किसान मिनीट्रिलर, पावरट्रिलर, धान काट्ने रिपर, रोटाभेटर, मकै छोडाउने मेसिन (मेइज सेलर), सिकेचर (कैची), कोदोको थे्रसर, हजारी, स्प्रेलगायतका आधुनिक कृषियन्त्रको प्रयोगमा आकर्षित भएको श्रेष्ठको भनाइ छ । सुरु–सुरुमा अगुवा किसानले मात्रै यन्त्रको प्रयोग गरे पनि पछिल्लो समयमा अन्य किसानमा यान्त्रिकरणप्रति आकर्षण बढेको प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना ‘धान जोन’ प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण सुरु भएदेखि नै पाँच स्थानीय तहका २४ वटा वडामा एक सयभन्दा बढी मिनीट्रिलर वितरण गरिसकेको छ । ‘समयको बचत, कामको प्रभावकारिता, उत्पादन तथा उत्पादकत्व बढ्छ’, खनालले भने, ‘सोही कारण पनि किसानमा यन्त्रीकरण मोह बढेको छ ।’ परियोजनामार्फत कृषियन्त्रको प्रयोगबारे प्राविधिक सहयोग प्रदान गरिँदै आएको छ । कृषिमा आधुनिकीकरणले किसानलाई व्यावसायिक बनाउनुका साथै उत्पादनको गुणस्तरीयता, उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न कृषियन्त्रको प्रयोग हुनुपर्ने किसानको बुझाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया