पोसकान्त पोखरेल
बुटवल, असार २६
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ र १४ का स्थानीय बासिन्दाहरुले पत्थरडाँडा तिनाउ सडक खण्डअन्तर्गत तीनधुरेमा रोपाइँ गरेका छन् । रोपाइँको समयमा गाइने मौलिक गीत (बाली) गाएर गरिएको रोपाइँलाई सडकमा यात्रा गर्ने यात्रीहरुले निकै कौतूहलताका साथ हेरेका थिए । बिहान ८ बजेबाट सुरु भएको रोपाइँ सडकको तीन स्थानमा भएको थियो ।
क्रसर र सिमेण्ट उद्योगमा चल्ने टिप्परहरुका कारण धूवाँ–धूलो र ध्वनि प्रदूषणमा बाह्रै महिना बाच्न बाध्य भएका स्थानीयहरुले वर्षायामको हिलोको कारण आवजावतमा समस्या परेपछि सडकमा रोपाइँ गरेर स्थानीय सरकारलाई सडक मर्मतका लागि दबाब दिएको स्थानीय अभिषेक न्यौपानेले बताए । न्यौपानेले पटक–पटक आग्रह गर्दा पनि जनप्रतिनिधिहरुबाट गुनासो सुनुवाइ तथा समस्या समाधानको लागि कुनै कदम नचालिएपछि रोपाइँ गर्न बाध्य भएको बताए ।
सडकबाट नगरपालिकाले वर्षेनी सडक करको नाममा लाखौं रुपैयाँ संकलन गरे पनि सडक मर्मतमा खासै चासो नदिँदा सरकारप्रति स्थानीयहरु आक्रोशित बनेका छन् । अन्य वडाहरुबाट भन्दा तिलोत्तमा–१३ र १४ बाट नगरपालिकाको नदीजन्य पदार्थ उत्खननबाट वार्षिक करोडौं आन्तरिक आम्दानी हुने गरेता पनि भोट बैंक विकासे नीतिले समस्यामा पार्ने गरेको अर्का स्थानीय निम बहादुर क्षेत्रीले बताए । यस क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गरेबापत केही प्रतिशत स्थानीय क्षेत्रको विकासको लागि लगाउने भन्ने नीति भए पनि उक्त नीति कार्यान्वयनमा नआएको उनको भनाइ छ ।
तिलोत्तमाका भित्री सडकहरुमा सबैभन्दा बढी व्यस्त सडकको रुपमा चिनिने उक्त सडक तीनधुरे चोकदेखि तिनाउ खोलासम्म समस्याग्रस्त छ । प्रदेश नं. ५ का पूर्वप्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता स्वर्गीय बलदेव शर्मा पोखरेल, प्रदेश सभा सदस्य रमा अर्याल, तिलोत्तमा १३ का वडा अध्यक्ष गणेश न्यौपानेको घर पनि सोही सडकखण्डअर्न्तगत पर्दछ । वडा अध्यक्ष न्यौपानेको घरसम्मको सडक ठीक भएको र सडकका कारण १४ का वडा अध्यक्ष सोहन थारुलाई समेत समस्या नपर्ने हुँदा सडक मर्मतमा उदासीनता देखाएको स्थानीयको आरोप छ ।
सडकमा पटक–पटक दुर्घटना हुने गरेको स्मरण गर्दै स्थानीयले सडककै कारण सोही क्षेत्रमा बस्ने नापी कार्यालय बुटवलका सर्भेक्षक हेमन्त पौडेल गम्भीर घाइते भएर उचारको लागि काठमाडौं लगेको सुनाए । यस विषयमा सम्पर्क गर्न खोज्दा वडा अध्यक्षसँग सम्पर्क हुनसकेन ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया