Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयतापक्रम घटबढले जीडीपीमा प्रभाव

तापक्रम घटबढले जीडीपीमा प्रभाव


सामान्यतया तापक्रमलाई त्यति महत्व दिइँदैन तर यसले आयात, निर्यात, व्यापारघाटाजस्तै प्रत्यक्ष देखिनेगरी नै मानिसको गतिविधि र देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने रिपोर्ट हालै सार्वनिक भएको छ । यसले कति तापक्रम घटबढ भयो त्यति प्रतिशतमा नै नोक्सानीको अंक आउँदो रहेछ । त्यसकारण जलवायु परिवर्तन पनि देशको आर्थिक अवस्था देखाउने परिसूचक गार्हस्थ्य उत्पानदको एउटा अभिन्न अंग मानेर सोअनुसारको व्यवहार गर्नुपर्ने रहेछ भन्ने पाठ सिकाउँछ । खासगरी जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा मात्रै वार्षिक २५ अर्ब रूपैयाँसम्मको क्षति हुँदोरहेछ । यो भनेको पत्यक्ष प्रभावको उदाहरण हो । तापक्रम घटबढका कारण एउटा क्षेत्रमा मात्रै यति ठूलो धनराशिको नोक्सानी हुन्छ भने समग्र क्षेत्रमा त्यसको प्रभाव कस्तो पर्ला ?

अध्ययनले के देखायो भने तापक्रम एक डिग्री सेल्सियसका दरले वृद्धि भए कुल गार्हस्थ्य उत्पादनमा एक दशमलव ६१ प्रतिशतले घाटा हुने रहेछ । तापक्रम एक डिग्री सेल्सियस तलमाथि हुनु भनेको १६ अर्ब रकमको नोक्सानी भएको भनी बुझ्नुपर्ने अवस्था आयो । विज्ञहरूका अनुसार जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरितगृह ग्यास उत्सर्जनले तापक्रम वृद्धि हुँदा हिउँ र हिमनदी पग्लिने र हिमतालको आकार बढ्ने हुनाले जोखिम उच्च हुने अवस्था आउँछ । यस्तो जोखिम बढेपछि स्वाभाविक छ त्यसको प्रत्यक्ष असर हिमाल आरोहण र हिमाली क्षेत्रको पदयात्रामा पर्नेछ नै । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, इसिमोडको प्रतिवेदनमा शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री कायम हुँदा पनि ३६ प्रतिशत र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिएको विवरण सार्वजनिक भएको छ ।

प्रतिवेदनअनुसार सन २०१७ र २०१८ मा गरिएको उक्त अध्ययनले जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा नोक्सानीको दरसमेत बढ्दै गएको देखाएको छ । प्रतिवेदन भन्छ जलवायुजन्य विपद्का कारण सन १९८५–२०१५ सम्म पर्यटन क्षेत्रमा घाटा बढेको छ । पर्यटन क्षेत्रमा यो घाटादर वार्षिक २५ अर्ब रूपैयाँ (९२४१/६३५) मिलियन अमेरिकी डलर) सम्मको हुनेछ । हिउँ पग्लिने दरमा वृद्धि, बाढी, पहिरो, हिमआँधी, हिमपहिरो र मौसमी गतिविधिजस्ता प्रभाव सबै क्षेत्रमा प्रकट हुन्छन् र त्यसले जनधन दुवैको अकल्पनीय क्षति गराउँछ ।

यसका अर्थ हो जलवायु परिवर्तनलाई र त्यसको रोकथामका सन्दर्भमा राष्ट्र गम्भीर हुनुपर्छ । शक्तिशाली देश अमेरिकाका राष्ट्रपतिको हालै सम्पन निर्वाचनमा एउटा विषय यही जलवायु परिवर्तनका सम्भावित जोखिमप्रति ध्यान दिएको नदिएको विषय मत परिणाममा प्रकट भएको थियो । त्यसकारण यो विषयले सरकारको समेत मूल्यांकन गर्दोरहेछ भन्ने यो दृष्टान्त मननीय छ । यो सम्बन्धमा विज्ञहरू भन्छन्– आज गरिएको कामले कालान्तरमा जोखिम बढ्ने भएकाले कसरी अनुकूलित हुने भनेर बेलैमा ध्यान दिनुपर्ने हुन्छ । त्यसो भएन भने हेर्दाहेर्दै जोखिमको शिकार हुनुपर्ने अवस्था आफैँले मोलेको भन्ने हुन्छ । त्यसै कारण हिमालय क्षेत्रको संरक्षणका लागि दीर्घकालीन कार्यक्रम प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ । यसबारे राज्यका निकाय र व्यक्ति–व्यक्तिले पनि ध्यान दिनुपर्ने हुन्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया