Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसहकारी बैंकको १७औं वार्षिक साधारणसभाको एकाइ सभा–२

सहकारी बैंकको १७औं वार्षिक साधारणसभाको एकाइ सभा–२


काठमाडौं ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सहकारी सघं संस्थाहरूमार्फत देशको स्वास्थ्य र शिक्षा आमुल परिवर्तनका लागि अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंकको १७औं वार्षिक साधारणसभाअन्तर्गत बुधबार सम्पन्न प्रदेश २ को एकाइसभामा उनले सो कुरा बताएका हुुन् । सीमित स्रोत साधनका बीच राष्ट्रिय सहकारी बैंकले निभाएको भूमिका प्रभावकारी रहेको भन्दै उनले प्रदेश नं. : २ सरकार हर तरिकाले सहयोग गर्न तयार रहेको बताए ।

समृद्धिका लागि केही प्रक्रिया समेतमा त्रुटि देखिएको बताउँदै उनले सिस्टमलाई समेत समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा बैंकका सल्लाहकार केशवप्रसाद बडालले बहुआयामिक गरिबी कम गर्न सहकारीको भूमिका प्रभावकारी हुनुपर्ने बताए । आर्थिक तथा सामाजिकरूपमा रहेको गरिबी कम गर्न सहकारीको भूमिका प्रभावकारी गराउन आवश्यक रहेको समेत उनको भनाइ थियो । प्रदेश २ का जनताको जीवनस्तरमा सुधार ल्याउन समेत उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा सहकारीहरूको भूमिका हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रम बैंकका अध्यक्ष केवी उप्रेतीको अध्यक्षता, सञ्चालक ध्रुवनारायण यादवको सञ्चालन र सञ्चालक तथा २ नं. प्रदेश संयोजक विश्वनाथ मण्डलको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक लक्ष्मीप्रसाद उप्रेतीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिदसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । एकाइसभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरूको नामावली घोषणा गरेका थिए ।

हरेक वर्ष वार्षिक साधारणसभामा प्रदान गरिने पुरस्कार तथा सम्मान यस वर्ष कोरोना संक्रमणका कारण भर्चुअलरूपमा कार्यक्रम गर्नुपरेको हुनाले घोषणा मात्र गरिएको र सहज वातावरण भएपछि पुरस्कृत तथा सम्मान गरिने उनले जानकारी दिए । वाग्मती प्रदेशको मंसिर २५ गते, गण्डकी प्रदेशको एकाइसभा मंसिर २९ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते र सुदूरपश्चिम प्रदेशको २८ गते सम्पन्न गर्ने तालिका रहेको छ । एकाइसभाबाट चुनिने प्रतिनिधिहरूको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया