Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालमा पनि प्रधानमन्त्रीले नियम नमाने दण्डित हुने दिन आउला ?

नेपालमा पनि प्रधानमन्त्रीले नियम नमाने दण्डित हुने दिन आउला ?


काठमाडौं ।
आफैँले बनाएको नियम आफैँले उल्लंघन गर्दा देशको सर्वाेच्च पदाधिकारीले पनि दण्ड व्यहोर्नुपरेको समारचार सुन्दा मात्रै पनि कानुनी राज्यको पालनाको सुखद अनुभूति हुन्छ । जब संसारभरिका कुनै देशबाट यस्ता समाचारहरू आउँछन् त्यसपछि नेपाली जनता भने आफ्नो देशका यस्ता तहका पदाधिकारीले हाक्काहाक्की गरेका कानुन उल्लंघनका घटनाहरूको शृंखला सम्झन्छौँ र मन कुँड्याउछौँ । त्यसबाहेक अर्को उपाय छैन पनि ।

नेपालका पदाधिकारीको पछिल्लो उदाहरण हो सर्वोच्च अदालतको एउटा फैसला र प्रधानमन्त्रीको अटेरपन । सर्वोच्चले प्रधानमन्त्रीले देशमा प्रचलनमा रहेको सविधानविपरीत काम गरेको भनी फैसला सुनायो । सर्वोच्च भनेको संविधानको व्याख्या गर्ने अन्तिम निकाय हो । त्यस्तो निकायले देशको कार्यकारी प्रमुखलाई संविधानविपरीत काम गरेको भनी विधिवत ठहर गरेपछि त्यस्ता पदाधिकारीले त्यही पदमा बसिरहन र फेरि त्यस्तै असंवैधानिक काम गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न आम तहमा नै उठेको छ । त्यस्ता व्यक्ति वा पदाधिकारी यस्तो ठहर भैसकेपछि पनि त्यही पदमा बसिरहनु भनेको आफू कुनै पनि कानुनभन्दा माथि रहेको ठान्नु हो । आफ्नो देशका पदाधिकारीले यस्तो चरित्र देखाइरहेका बेला अन्यत्रका यस्ता पदाधिकारी दण्डित भएका समाचार आउँदा हाम्रो देशमा यस्तो कहिले होला भन्ने प्रश्न उब्जिन्छ नै ।

त्यससम्बन्धी विभिन्न माध्यममा प्रकाशित समाचारको एउटा विवरणः
जन्मदिन मनाउँदा नियम उल्लंघन भएको भन्दै नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगलाई २० हजार क्रोनर (करिब दुई लाख ८० हजार नेपाली रूपैयाँ जरिबाना हुने भएको छ । प्रधानमन्त्री सोल्वेगले गत फेब्रुअरी २५ का दिन आफनो ६०औं जन्मदिन मनाउन आफूसहित १४ जना परिवारिक सदस्यसँग दुई दिनको लागि नर्वेको राजधानी ओस्लोबाहिर होल नगरपालिकामा गएकी थिइन । सोही क्रममा कोरोना रोग नियन्त्रण गर्न नर्वे सरकारले जारी गरेका नियमको उल्लंघन भएको सरकारी सञ्चारमाध्यम एनआरकेले समाचार सार्वजनिक गरेको थियो ।
समाचार सार्वजनिकसँगै प्रहरीले अनुसन्धान थालेको थियो । चैत्र २७ मा अनुसन्धान सम्पन्न गरेर प्रहरीले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री सोल्वेगबाट नियमको उल्लंघन भएको निष्कर्ष निकाल्दै २० हजार क्रोनर जरिबाना हुने निर्णय सुनाएको छ ।

स्थानीय दक्षिण–पूर्वी जिल्ला पुलिस प्रमुख ओले बी. सवेरुदले पत्रकार सम्मेलनमार्फत जनताको विश्वास कायम राख्न पनि संक्रमण नियन्त्रणका नियमहरू उल्लंघन गरेपछि त्यसको भागिदार प्रधानमन्त्री सोल्वेग हुनुपर्ने बताए । ‘कानुन सबैको लागि बराबर हो’ सवेरुदको भनाइलाई उल्लेख गर्दै नर्वेको सरकारी सञ्चारमाध्यम एनआरकेले लेखेको छ, ‘नियमअनुसार उनलाई २० हजार क्रोनर जरिबाना हुनेछ ।’
तत्कालीन समयमा जारी नियममा व्यक्तिगत भेटघाट तथा कार्यक्रमको लागि १० जनाभन्दा बढी संख्यामा भेला गर्न नपाउने उल्लेख थियो । तोकिएको संख्याभन्दा बढी भेला गरेर व्यक्तिगत कार्यक्रम गरेमा तत्कालीन समयको नियमले २० हजार जरिबाना हुने तोकेको छ ।

प्रधानमन्त्री सोल्वेग आफूसहित १४ जना परिवारिक सदस्य लिएर कोल नगरपालिका पुगे पनि उनी भने सोही दिनै फर्किएकी थिइन् । आँखामा समस्या देखिएपछि उपचारको लागि ओस्लो फर्केकी प्रधानमन्त्री सोल्वेग पुनः त्यहाँ पुगिनन् । प्रहरीका अनुसार व्यवस्थापनमा प्रधानमन्त्री सोल्वेगका श्रीमान्को भूमिका रहे पनि आयोजक प्रधानमन्त्री सोल्वेग रहेकाले उनलाई नियमअनुसार जरिबाना तोकिएको हो ।

समाचार सार्वजनिकपछि तत्कालै माफी मागेकी प्रधानमन्त्री सोल्वेगले नियमले तोकेको जरिबाना तथा कारबाही भोग्न तयार रहेको बताएकी थिइन् । प्रहरीले उनलाई २० हजार जरिबाना हुने निर्णय सुनाएपछि उनले आफूबाट भएको गल्तीप्रति क्षमाप्रार्थी रहेको बताएकी छन् । ‘मैले नियम उल्लंघन गरेको हुँदा अन्य व्यक्तिजस्तै गरेर नियमअनुसार जरिबाना तिर्नेछु ।’ प्रधानमन्त्री सोल्वेगको भनाइलाई उद्धृत गर्दै एनआरकेले उनको टिप्पणी उल्लेख गरेको छ ।

समाचार सार्वजनिक भएपछि एनआरकेसँग कुराकानी गर्दै सोल्वेगले आफूबाट भएको गल्तीको ‘रिगरेट फिल’ गर्दै माफी मागेकी थिइन । ‘म प्रत्येक दिन कोरोना संक्रमणको लागि काम गर्ने तथा नियम बनाउने गर्दछु’ उनले त्यसबेला एनआरकेसँग कुराकानी गर्दै भनेकी थिइन्, ‘यस अर्थमा पनि नियम राम्रोसँग थाहा भएर कार्यान्वयन गर्नपर्ने हो । तर, मैले नियमहरूको राम्रोसँग याद नगर्दा गल्ती हुनगयो । म माफि चाहान्छु ।’ उनले कोरोना दिनप्रतिदिन बढिरहेकाले सरकारबाट जारी गरिएका नियमहरू पूर्णरूपमा पालना गर्न पनि जनतालाई अनुरोध गर्दै आएकी छिन् ।

नर्वेमा कोरोना संक्रमणको दर बढ्दै गएपछि दोस्रो पटक नोभेम्बरबाट कोरोना नियन्त्रणको मापदण्डहरू लागू गरिएको छ । त्यस यता कोरोना नियन्त्रणको लागि नियमहरू झन् कडा बनाउँदै लगेको छ । केही समयअघिसम्म १० जना बढी भेला हुन नपाउने नियम थियो भने अहिले दुई जनाभन्दा बढी जम्मा हुन नदिने नियम जारी छ । खोप कार्यक्रम पनि निरन्तर चलिरहेको हुँदा अप्रिलपछि क्रमिकरूपमा चरणचरणमा बन्द गरिएका क्षेत्रहरू खुलाउँदै जाने योजना सरकारको छ । नर्वेमा हालसम्म एक लाखभन्दा बढी संक्रमित भइसकेका छन् । ज्यान जानेको संख्या छ सय ८४ जना रहेका छन् । नर्वेको जनसंख्या आप्रवासी नागरिकसहित ५४ लाख रहेको छ । हालसम्म करिब सात लाखले खोप पाएको तथ्यांक छ ।

नेपालको अवस्था : उता कोरोना संक्रमण र त्यसको नियमनसँग जोडिएको विषयमा यस्ता समाचार आइरहेका बेला यता नेपालको अवस्था झनै डरलाग्दो रूपले प्रकट भइरहेको थियो । तर यताका प्रधानमन्त्री भने नुनपानीले कुल्ला गरेर र अम्बाको पात चपाएर कोरानालाई चैट पार्ने सार्वजनिक मञ्चबाट सुझाव दिरहेका थिए ।

चैत्र ३१ मा कोरोनासम्बन्धी एउटा समाचारः ‘कोरोना संक्रमणका कारण ३० चैत्रको एकै दिन १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या पाँच महिनायताकै उच्च हो ।  आइतबारभन्दा सोमबार संक्रमण दरसमेत बढेको छ । आइतबार ३०३ जनामा संक्रमण पुष्टि भएकोमा भोलिपल्ट यो संख्या पाँच ५९ पुगेको हो । जसमा ६३ जना एन्टिजेन परीक्षणमा रिपोर्ट ‘पोजिटिभ’ देखिएका छन् । पाँच हजार एक सय जनाको परीक्षण गरिएकामा १० दशमलव ९५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

आइतबार संक्रमण दर नौ दशमलव सात प्रतिशत थियो । अस्पतालका आइसोलेसन र सघन उपचार कक्ष (आईसीयू)का श्यया पुनः संक्रमित बिरामीले भरिन थालेका छन् । देशभरका अस्पतालहरूमा आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या एक सय पुगेको छ । १८ वर्ष मुनिकाहरूमा सोमबार संक्रमण दर छ सय ८५ प्रतिशत देखिएको छ । छिमेकी मुलुक भारतमा डबल म्युटेन्ट भाइरस पुष्टि भइसकेको छ । नेपालमा पनि केही व्यक्तिमा कोरोनाको बेलायती भेरिएन्ट देखिएको छ । हाल पुष्टि भएको भाइरसको नयाँ भेरिएन्ट चारदेखि छ गुणासम्म तीव्र गतिले विस्तार हुने विभिन्न अध्ययनबाट प्रमाणित भएको डा. झा बताउँछन् ।’

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार (३० चैत्र)सम्म दुई लाख ८० हजार पाँच सय २४ जना संक्रमित भइसकेकामा तीन हजार ५३ ले कोरोनाकै कारणले ज्यान गुमाइसकेका छन् । यस्तो अवस्थामा सतर्कताको सरकार आफैँल जारी गरको सूचनाको पालनामा अनुकरणीय पात्र बन्नुपर्नेमा प्रधानमन्त्री फुटबल हेर्नेदेखि दिनमा दुई/चारवटा नै हुनेगरी उद्घाटन शिलान्यासजस्ता दशौँ हजारदेखि कम्तीमा पाँच/सात सयको संख्याका घेरामा सार्वजनिक कार्यक्रम सम्पन्न गर्ने गरेका दृश्यहरू प्रत्येक दिन आइरहेका छन् । पहिले बेसारपानीले कोरोना भाग्ने भनेर जसरी बताइरहेका थिए यतिबेला अर्थात् यो दोस्रो चरणको संक्रमण चट बनाउन नुनपानी र अम्बाको पात खान सिफारिस भएको छ ।

२६ चैतमा नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै भनेका कुराका अंशः ‘भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तर पनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ भने कोभिड जहाँ लागे पनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेट्नु परेन ? प्रधानमन्त्रीले पनि कोभिडलाई लखेट्छ ।

हाम्रो जनजीवनलाई ठप्प पनि नगरौँ तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने, हामी सावधान हुनुपर्छ अहिलेदेखि, दूरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी कोभिड–१९ लाई अवसर नदिऔँ । तातोपानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिन्छ । अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔँ पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट । नुनपानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिऔँ बेसरी गालगुल गरिदिऔँँ घाँटीमा बसेको चट, स्टिम लिइदिओँँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।’


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया