प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिएनन् दक्ष जनशक्ति
काठमाडौं ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा दक्ष जनशक्ति जोड्ने बताए पनि त्यो कार्यान्वयन हुनसकेको छैन । सरकारले आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सीपयुक्त दक्ष जनशक्ति, रोजगारीको क्षेत्र र रोजगारसम्बन्धी अन्य कार्यक्रमहरुसँग आबद्ध गरी यथार्थ उत्पादनमूलक रोजगारी सिर्जना गर्ने बेरोजगार लक्षित अभियानको रुपमा कार्यान्वयन गरिने बताए पनि त्यसो हुनसकेको छैन । जसले गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रममा अदक्ष तथा अर्धदक्ष कामदारहरुमै सीमित भएको पाइन्छ ।
अधिकांश अदक्ष कामदार भएको हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रमले कुनै परिणाम समेत निकाल्नसकेको पाइँदैन । यद्यपि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आर्थिक रुपान्तरण गर्ने आयोजनाको रुपमा हेर्न नहुने बताउँदै आएको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार बेरोजगार भएर बसेकाहरुलाई सीमित समयको काम दिलाएर बेरोजगार छैन भन्ने अनुभूति दिलाउनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन भइरहेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम न्यूनतम सय दिनको रोजगारी दिने र त्यसबापत सुविधा अर्थात् तलब दिने हो ।
यसैबीच सरकारको उद्देश्यअनुरुप मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको पाइँदैन । अर्कोतर्फ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सरसफाइ गर्ने, सडक निर्माण, बाटोघाटो निर्माण, भवन सरसफाइ, ढल खोल्ने, बाँदर लखेट्ने इत्यादि निर्माण गरेको पाइन्छ जसले गर्दा दक्ष कामदार प्रयोग भएको पाइँदैन ।
यस्तै कार्यक्रमको दीर्घकालीन सोच भने ज्ञान, सीप र क्षमतायुक्त प्रतिस्पर्धा श्रमशक्तिको विकास र उत्पादनशील आन्तरिक रोजगारी सिर्जनामार्फत श्रमशक्तिको स्वदेशमै पूर्ण उपयोग गरी आर्थिक समृद्धि हासिल गर्नु, स्वदेशभित्र रोजगारीको पर्याप्त अवसरहरुको सिर्जना र कामलाई सम्मान गर्ने संस्कृतिको विकास गरी रोजगारीको लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने, सबै नागरिकलाई न्यूनतम रोजगारी प्रदान गरी मौलिक हकको रुपमा रहेको रोजगारीको हकको कार्यान्वयन गर्नेलगायतको सोच, लक्ष्य र उद्देश्य भए पनि त्यसले पूर्णता प्राप्त गर्नसकेको छैन ।
यद्यपि कार्यक्रममार्फत सीमित व्यक्तिहरुलाई रोजगारी दिई न्यूनतम रोजगारी प्रदान गर्न भने सरकार सक्षम भएको छ । हाल तेस्रो वर्षमा सञ्चालन भइरहेको कार्यक्रममार्फत ५४ हजार नौ सय जनाले रोजगारी पाएका छन् । यस्तै मुलुकभर बेरोजगारको संख्या भने सात लाख ५१ हजार जना रहेका छन् । सरकारले कार्यक्रममार्फत बेरोजगार युवाहरुलाई समेत समेट्न नसकेको पाइन्छ ।
चालू आर्थिक वर्षमा कार्यक्रममार्फत ६० हजारलाई रोजगारी दिने भन्दै पाँच अर्ब एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । कोरोना महामारीका कारण बेरोजगार बनेकालाई समेत कार्यक्रममार्फत समेट्ने बताए पनि सो सम्भव हुनसकेन । यस आवमा कार्यक्रममार्फत थप दुई लाखलाई रोजगारी दिने बताए पनि सो विषय कार्यान्वयन हुनसकेन । सरकारले कार्यक्रमलाई प्रभावकारी बनाउन नसक्दा कार्यक्रम समस्याग्रस्त बन्नपुगेको पाइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया