स्टासेफ नामक औषधिमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँसेर बिक्री गर्ने पक्राउ
स्टासेफ बिक्री गर्ने ड्रग्स हाउस शंकाको घेरामा
विराटनगर ।
स्टासेफ नामक औषधिमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँसेर बढी मूल्यमा बिक्री गर्ने दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१० अशोक चोक बस्ने २६ वर्षीय सोनु आलम र सोही महानगरपालिका–१६ रानी बस्ने २३ वर्षीय श्रवण कुमार यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
आलमले सोही महानगरपालिका–४ स्थित साथी मेडिकल औषधि पसलबाट स्टासेफ नामक औषधि किनेर त्यसमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँस गरी बढी मूल्य राखी बिक्री गर्नेगरेको थिए । साथै प्रहरीले उक्त औषधि पसलबाट स्टासेफ नामक औषधि चार सिसि र रेम्डिसिभिर नामक औषधि एक सिसि समेत बरामद गरेको छ । थप अनुसन्धान गर्ने क्रममा उक्त स्टासेफ औषधि ९० रूपैयाँमा खरिद गरी आठ हजार रूपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उक्त
औषधिमा टाँस्ने स्टीकर भारतको पटनाबाट आयात गरी ल्याएको र त्यसमा श्रवण कुमारको समेत संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनलाई घरबाट नै पक्राउ गरेको हो । कोरोनाको उपचारका लागि परीक्षणको रूपमा रहेको रेम्डिसिभिर बिक्री गर्ने अनुमति नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग आबद्ध कोरोना अस्पतालका फार्मेसीलाई मात्र प्राप्त छ । यो औषधि गतवर्ष भारतबाट आएको थियो । यस पटक भारत आफैँलाई अपुग भएकोले अन्य देशमा भारत सरकारले पठाउने अनुमति समेत दिएको छैन ।
नेपालसहितका अन्य देशहरूमा अहिले रेम्डिसिभिर औषधिको अभाव छ । यो औषधि कोरोना संक्रमितका लागि अझै पनि परीक्षणकै रूपमा रहेकोले कति प्रतिशत लाभकारी छ भन्ने हालसम्म कुनै ठोस प्रामाणिक आधार समेत बनिसकेको छैन ।
यद्यपि हाम्रो देशमा चलेको अहिलेको उपचार पद्धतिमा अन्तिम विकल्पको रूपमा यसको प्रयोग गर्नेगरेको चिकित्सकहरूले बताउने गरेका छन् । यो औषधि नै अन्तिम ‘रामवाण’ हो भन्ने बुझाइका साथ बिरामीका आफन्तजनले चिकित्सकलाई प्रयोग गर्न दबाब दिनेगरेका समेत घटना सार्वजनिक हुनेगरेका छन् । जसका कारणले गर्दा रेम्डिसिभिर औषधिको माग उच्च छ । यही मौकाको फाइदा उठाउनको लागि अहिले नक्कली रेम्डेसिभिर बनाउने गिरोह सक्रिय भएको पाइएको हो । आलम र यादव पक्राउ भएपछि विराटनगरमा नक्कली रेम्डिसिभिर बेच्ने ठूलै गिरोह सक्रिय रहेको प्रहरीस्रोतको दाबी छ ।
स्टासेफ र रेम्डिसिभिर बट्टाको साइज र आकार एउटै हुने भएकोले नक्कली लेबल लगाएर सो गिरोहले स्टासेफलाई रेम्डेसिभिर भन्दै बेच्दै आएको प्रहरीको भनाइ छ । ‘स्टासेफ’ इन्जेक्सन एन्टिबाइटिक औषधि हो । त्यसको बजारमूल्य ९० रूपैयाँ मात्र पर्ने गरेको छ । रेम्डिसिभिरको बजार मूल्य साढे पाँच हजारसम्म पर्ने जानकारहरू बताउँछन् ।
उक्त गिरोहोले नक्कली रेम्डिसिभिर समेत १३ हजारसम्म प्रतिभाइल बेच्ने गरेको प्रहरीको दाबी छ । स्रोतका अनुसार पक्राउ परेका सोनु आलमलाई नक्कली रेम्डिसिभिर बनाउनका लागि स्टासेफ विराटनगरको श्री गणेश ड्रग्स हाउसले पनि बिक्री गर्दै आएको थियो । उक्त ड्रग्स हाउसका सञ्चालक ताराचन्द अग्रवाल रहेका छन् । तर उक्त ड्रग्स हाउसको कारोबार सौरभ र गौरभ अग्रवाल दुई दाजुभाइले नै हेर्ने गरेको स्रोतको दाबी छ ।
कोरोनाको माहामारी चल्न थालेपछि अग्रवाल दाजुभाइले ठूलो मात्रामा स्टासेफ स्टक गरी भण्डारण गरेका थिए । नक्कली रेम्डिसिभिर बनाउने गिरोहसँग स्टासेफ सप्लायर्सको साँठगाठ हुनसक्नेतर्फ पनि प्रहरीले आफ्नो अनुसन्धान थाल्नुपर्ने टड्कारो आवश्यकता देखिनथालेको स्थानीय बताउँछन् । नक्कली रेम्डिसिभिर बनाउने गिरोहको सार्वजनिकपश्चात् औषधि व्यवसायी संघ मोरङको उपाध्यक्ष देशबन्धु ढकालको अस्वाभाविक दौडधुप चलेको छ ।
प्रहरीले पक्राउ परेका आलम र यादवउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै यसअघि विराटनगर महानगरपालिका–११ बसपार्कनजिक रातोभाले होटलमा १० ग्राम ब्राउनसुगर बरामद भएको घटनामा समेत यादवको संलग्नता रहेको अनुसन्धानबाट खुल्नआएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया