नेपालमा करिब ४७ लाख उच्च रक्तचापका बिरामी
काठमाडौं । नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको स्वास्थ्य सेवा विभागको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको जानकारी दिएका हुन् ।
उनका अनुसार तीमध्ये १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको र चार लाखले मात्र औषधि सेवन गर्नेगरेका छन् । औषधि सेवन गर्नेमध्ये दुई लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको उनको भनाइ थियो । उच्चरक्तचाप तनाव, प्रदूषण, अस्वस्थ्यकर खाना, मध्यपान, सुर्तीजन्य पदार्थको प्रयोग र निष्क्रिय जीवनशैलीले हुने गर्दछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले रक्तचापबाट बच्नका लागि सन्तुलित जीवनशैली अपनाउनुपर्ने बताए । उनले नसर्ने रोगलाई मन्त्रालयले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारी समेत गरेको जानकारी दिए ।
उच्च रक्तचापका कारण मस्तिष्कघात, हृदयाघात, मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ मिर्गौलाको समस्याजस्ता रोग लागेर अकालमै मानिसको मृत्यु हुने गर्दछ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवले रक्तचापबाट बच्नका लागि नुन र चिनीको मात्रा कम गर्नुपर्नेमा जोड दिए । उनले उच्च रक्तचापमा सर्वव्यापी गुणस्तरीय समतामूलक स्वास्थ्य सेवाको पहुँच बढाई यस वर्ष नियमित औषधि सेवन गर्ने संख्या १० लाख पु-याउने बताए । विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले रक्तचापको उपचारसँगै जनचेतना समेत जगाउनुपर्ने बताए । उनले रक्तचापको रोकथामका लागि स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट नै विशेष सेवा प्रवाह गरिरहेको जानकारी दिए ।
महानिर्देशक सिंहले नियमित रक्तचाप परीक्षण र औषधि सेवनले रोगको रोकथाम गर्नसकिने बताए । वरिष्ठ हृदयरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले १५ देखि २४ वर्ष उमेरसमूहमा उच्च रक्तचाप १० प्रतिशत र ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत उच्च रक्तचाप देखिएको जानकारी दिए । उनले काठमाडौंमा पेसागतरूपमा काम गर्ने युवामा बढी उच्चरक्तचाप देखिएको बताए । डा. अनिलले नुनले मात्र उच्चरक्तचाप नभएर गुलियो र चिल्लो खानेकुरा खाँदा पनि रक्तचाप बढ्ने उल्लेख गरे । उनले ५० प्रतिशत मानिसले आफूमा उच्च रक्तचाप भएको थाहा नपाउने भएकाले यसको रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
‘दीर्घ जीवनको आधारः नियमित रक्तचाप परीक्षण, नियन्त्रण र उपचार’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर नै यो दिवस मनाइँदै छ । टाउको दुख्ने, रिंगटा लाग्ने, थकाइ महसुस हुने, एक्कासि नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या उच्च रक्तचापका लक्षण हुन् । उच्च रक्तचापबाट बच्नका लागि धु्रमपान तथा मदिरासेवन नगर्ने, हरियो सागसब्जी तथा फलफूल धेरै खाने, खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने, नियमित व्यायाम तथा योग गर्ने गर्नुपर्दछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया