वर्षासँगै आएको हुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना वर्षासँगै आएको हावाहुरीले उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो ।
हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ र कक्षा ५ पठनपाठन हुँदै आएको भवनको छाना उडाएको प्रधानाध्यापक देवेन्द्र श्रेष्ठले बताए । “दिनभर विद्यालय सञ्चालन गरिएको थियो । साँझ वर्षासँगै आएको हावाहुरीले छाना उडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क, बेञ्चलगायतका सामान भिजेको छ”, उनले भने, “हावाहुरीले विद्यालयको जस्तापाताको छाना उडाएर पाखामा पुर्याउँदा ठूलो क्षति भएको छ । हावाहुरीको क्षतिका कारण तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन ।”
बिहीबारको हावाहुरीले पुर्याएको क्षतिको विवरण सङ्कलन तथा विद्यालय सञ्चालनका लागि उपाय खोज्न गाउँपालिकाको कार्यालय र प्रहरी चौकी बतासेको टोली घटनास्थलमा बोलाइएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए । वि.सं २०२३ जेठ २ गते स्थापना भएको सो विद्यालयमा गत वर्षको वैशाख ६ गते आएको हावाहुरीले पनि क्षति पुर्याएको थियो ।
हावाहुरीले क्षति पुर्याएको भवनमा केही दिनभित्रै छाना हालेर नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राईले बताए । हावाहुरीले बिम तथा गारोसहित छाना उडाएपछि एक सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयको पठनपाठन अन्योलमा छ ।
सो विद्यालयमा अधिकांश पुरानो संरचनाका भवन रहेकाले कुनै बेला मानवीय क्षतिसमेत हुनसक्ने सम्भावना रहेको अभिभावकले बताएका छन् । बाह्रै महिना हावाहुरी चलिरहने डाँडामा सञ्चालित विद्यालय नजिकै ठूलो पिपलको रुखसमेत रहेकाले दुर्घटनाको जोखिम बढेको जनाइएको छ ।
गए राति चलेको हावाहुरीले अन्य ठाउँमा समेत क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लामा भएको हावाहुरीको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । हावाहुरीले फलफूल, पाक्न लागेको गहुँ, तरकारी बालीलगायतमा क्षति गरेको किसानले बताएका छन् । व्यावसायिक तरकारी खेती गर्ने किसानको टनेललगायतका संरचनामा समेत क्षति गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
- नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा
- श्रमिक दिवसको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
- मजदुर वर्गको आर्थिक तथा सामाजिक समस्या समाधान गर्नुपर्छ: झलनाथ खनाल
- श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया