Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिराष्ट्रिय हेमजा आलु महोत्सवमा ८० टन आलु बिक्री गर्ने लक्ष्य

राष्ट्रिय हेमजा आलु महोत्सवमा ८० टन आलु बिक्री गर्ने लक्ष्य


पोखरा । विष्णुपादुका क्लबले आयोजना गर्न लागेको राष्ट्रिय हेमजा आलु महोत्सवमा ८० टन आलु बिक्री गर्ने लक्ष्य राखिएको छ । यही चैत २५ देखि सुरु हुने महोत्सवमा प्रतिकेजी ३८ देखि ४० रुपैयाँका बीचमा आलु बिक्री गर्ने आयोजकको तयारी छ ।

आयोजक क्लब अध्यक्ष सुविन श्रेष्ठका अनुसार गत वर्षको महोत्सवमा पाँच करोड रुपैयाँको आलु बिक्री भएको थियो । महोत्सवलाई यहाँका किसानले ठूलो पर्वका रूपमा लिने गरेका छन् । महोत्सवमा आलु तथा ताजा तरकारी प्रदर्शनी गरिनेछ भने आलुको पहाड नै निर्माण गर्नुका साथै आलुका विभिन्न परिकार प्रदर्शन गरिनेछ । माटो र बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शन, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्र प्रदर्शन, कृषक सम्मान तथा पुरस्कार प्रदान, रत्यौली गीत प्रतियोगिता, हास्यव्यङ्ग्य एवं लाइभ पप कन्सर्ट पनि महोत्सवमा रहने क्लबका महासचिव वसन्तकुमार श्रेष्ठ बताउँछन् । महोत्सवमार्फत बचत हुने रकम बहुउद्देश्यीय भवन निर्माण गर्ने लक्ष्य क्लबको छ ।

क्लबले १२ वर्षदेखि राष्ट्रिय हेमजा आलु महोत्सव आयोजना गर्दै आएको छ । यस वर्षको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको क्लब अध्यक्ष श्रेष्ठले जानकारी दिए । पोखरा– २५ हेमजाको पहिचान नै आलु खेती हो । यहाँको कुल १२ हजार पाँच सय हेक्टरमध्ये पाँच सय ९० हेक्टरमा आलु खेती हुँदैै आएको छ । यहाँका केही किसानले भाडामा जग्गा लिएर आलु उत्पादनसँगै अन्य व्यावसायिक कृषिजन्य उत्पादन समेत गर्ने गरेका छन् । यहाँका पाँच सय ४० घरपरिवार किसान व्यावसायिक आलुखेतीमा आबद्ध छन् । हेमजामा विशेषगरी एमएस ४२, कुफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खसमल सेतो र डेजिरे नामक आलु लगाइन्छ ।

विषादीरहित, स्वादिलो र छिटो पाक्ने भएकाले पनि हेम्जाको आलु उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । यहाँको आलुमा प्राङ्गारिक मल मात्र प्रयोग गरिँदै आएको किसानको दाबी छ । हेमजाको आलु पोखरासहित देशका प्रमुख सहरमा पुग्ने गरेको छ । डेढ दशक अघिसम्म हेमजाका किसानलाई आलु बजार पुर्याउन निकै सकस थियो । किसानलाई मुख्य बजार पोखराका बजार डुलाएरै बिक्री गर्नुपर्ने बाध्यता थियो । तर अहिले अवस्था फेरिएको छ । अहिले किसान बजार होइन व्यापारी र आलुका ग्राहक किसानको घर र बारीमा पुग्छन्् । कतिपय आलु त खनेर नसक्दै बुकिङ भइसक्छ । हेमजामा अझ आलु महोत्सव सञ्चालन हुन थालेपछि किसानको अवस्था झनै फेरिएको छ । त्यस क्षेत्रमा उत्पादित अधिकांश आलु महोत्सवबाटै बिक्री हुन्छ । केही आलु बाँकी रहेमा पनि किसानलाई चिन्ता छैन । आलु खोज्दै ग्राहक घरमै पुग्छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया