Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिजुनारको बजार खोज्दै डडेल्धुराका किसान काठमाडौँमा

जुनारको बजार खोज्दै डडेल्धुराका किसान काठमाडौँमा


काठमाडौं ।
डडेलधुरा जिल्लामा उत्पादन भएको जुनार बजारीकरणका निम्ति त्यहाँका किसानहरूले पहलकदमी थालेका छन् । डडेलधुराका जुनार उत्पादक किसानहरूले बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र बजारीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

साथै उनीहरूले सिँचाइको अभावमा जुनारको बोट मर्ने समस्या रहेको भन्दै सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । कृषिमन्त्री अर्यालले डडेलधुराको जुनार उत्पादन वृद्धि गर्न आगामी वर्षको निति तथा कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता जनाइन् । बजारीकरणको क्षेत्रमा कालिमाटी फलफूल तथा तरकारी बजारमा डडेलधुराका कृषकहरूको उत्पादनलाई बिक्री वितरण गर्न सहजीकरण गरिने उनको भनाइ थियो । जुनार उत्पादन क्षेत्रमा सिँचाइको व्यवस्था समेत गरिने उनले बताइन् ।

भागेश्वर गाउँपालिका ५ चुल्ल–सिराड डडेलधुराका किसानहरूले चुल्लका सिद्धनाथ नागार्जुन बहुउद्देश्यीय कृषक समूहमार्फत जुनार उत्पादन गर्दै आएका छन् । अहिले बजारीकरणका निम्ति १३ सय किलो जुनार लिएर काठमाडौँमा आएको अगुवा किसान अन्तराम जोशीले जानकारी दिए । ‘बाउबाजेको पालादेखि नै डडेलधुरामा जुनारको खेती गर्दै आएको हो तर बजारीकरणको अभावमा बारीमै कुहिएरै जाने अवस्था थियो’, उनले भने, ‘बजार नपाउने समस्या थियो । त्यसैले अहिले हामीले कृषक समूहमार्फत बजारीकरण, प्रचारप्रसारका जुनार लिएर काठमाडौँ आएका हौँ ।’

जुनार लिएर काठमाडौं आएका समूहका अगुवा किसान नारायणदत्त जोशीले सिँचाइको अभावमा जुनारको बोट सुक्न थालेकाले त्यो समस्या समाधान गरिदिन र बजारीकरणमा सहयोग गर्न मन्त्रीसँग आग्रह गरेको बताए । उनले भने, ‘मन्त्रीसमक्ष हामीले हाम्रा उत्पादन र समस्याहरू राख्यौँ । उहाँले जुनारको बजारीकरण र सिँचाइका निम्ति सहयोग गर्छौँ भन्नुभएको छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको डडेलधुरास्थित कार्यालयका प्रमुख खेमराज जोशीले आगामी दिनमा जुनार खेती प्रवर्द्धनका लागि समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कृषि ज्ञान केन्द्र डडेलधुराले बजारीकरणका निम्ति ढुवानीमा सहयोग गरेपछि किसानहरू काठमाडौँसम्म जुनार लिएर आएका हुन् । केन्द्रले नयाँ बिरुवा रोप्नका निम्ति समेत सहयोग गरेको छ । द लोकल्स काठमाडौँले बजारीकरणमा सहयोग गर्दै आएको छ । द लोकल्सका सञ्चालक सुहृद चापागाईले किसानहरूबाट उचित मूल्यमा जुनार लिएर विभिन्न बजारहरूमा बजारीकरणमा सहयोग गर्दै आएको बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया