Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिभक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु

भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु


भक्तपुर । ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने बिस्काः अर्थात् बिस्केट जात्रा मंगलबारदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन मंगलबार तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ ।

सर्वसाधारणका लागि मंगलबार बिहानदेखि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयका प्रमुख खिमा वलीले जानकारी दिए । उनले भने, “आज बिहानदेखि नै नित्य पूजा सुरु गरेपछि सर्वसाधारणको पूजा सुरु भइसकेको छ, पहिला आज गुठी संस्थानका प्रमुख र सिकर्मी नाइकेबाट सरकारी पूजा गरिन्छ, त्यसपछि अन्य समुदायको पूजा सकेर ३ बजेदेखि भैरवको रथ तान्न सुरु गरिने छ, यसवर्ष छिट्टै रथ तानेर गहिटी पुर्याउने लक्ष्य राखेका छौँ ।”

तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल बिराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरुप ल्याइएको खड्ग, तरवार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो ।

विगतका वर्षहरुमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म गःहिटी पुर्याउने प्रचलन भए पनि यस वर्ष भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पुर्याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिएको उनले बताए ।

उनका अनुसार यस वर्ष रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न नदिने बताइएको छ ।

मंगलबारको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको छ ।

बिस्केट जात्रामा हूलदङ्गा हुन नदिन र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् । उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली आवश्यकताअनुसार खटिने गरी सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेको बताइन् ।

जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हूलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनको भनाइ छ । जात्राका लागि काठमाडौँबाट समेत थप प्रहरीको मद्दत ल्याइएको छ ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया