Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय


कावासोती ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार सात सय उद्योग व्यवसाय थपिएका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार तीन सय ५४ उद्योग र एक हजार तीन सय ३७ वाणिज्य गरी कुल दुई हजार छ सय ९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विक्रम सुवेदीले बताए ।

कोरोना कहरकै बीच जिल्लामा यो संख्यामा नयाँ उद्योग थपिएको कार्यालय प्रमुख सुवेदीले बताए । थपिएका उद्योगमा कृषि, पशुपालन, पर्यटनसम्बन्धी धेरै रहेका छन् । कोरोना कहरका बीच धेरैजसो कृषि तथा पशुपालनतर्फ आकर्षित भएकाले यो समयमा समेत नयाँ उद्योग दर्ताको सङ्ख्यामा कमी नआएको कार्यालय प्रमुख सुवेदीले बताए ।

सरकारले कृषि तथा पशुपालनमा विभिन्न सुविधा तथा अनुदान उपलब्ध गराउँदा समेत यसतर्फको आकर्षण बढेको उनले बताए । उनका अनुसार राज्यले अहिले कृषि, पशुपालनमा विभिन्न सुविधा र अनुदान उपलब्ध गराउँदै आएको छ । यसैले यसतर्फ नागरिकको आकर्षण बढदै गएको हो ।

कोरोनाको असरले अन्य रोजगारका बाटो बन्द हुँदा विकल्पका रूपमा आफैँले कृषि र पशुपालन गर्नु अर्को कारण भएको उनले बताए । नवलपुर कृषि र पशुपालनका लागि उपयुक्त क्षेत्र भएकाले यहाँ धेरैजसो यसतर्फ आकर्षित हुन थालेका छन् । कृषि र पशुपालनका सहुलियत कर्जा उपलब्ध हुँदा लगानी गर्नसमेत सहज हुँदा यस क्षेत्रमा लगानी बढेको प्रमुख सुवेदीले बताए । उनका अनुसार कोरोना कहरका कारण अहिले अन्य पेशा, व्यवसाय नहुँदा, स्वरोजगारमूलक पेशाका रूपमा कृषि, पशुपालनमा लगानी गर्ने बढेका छन् ।

चालू आर्थिक वर्षको १० महिनामा पाँच सय १६ उद्योग नवीकरण भएका छन् । यसै अवधिमा छ सय ९२ व्यवसाय नवीकरण भएको कार्यालय प्रमुख सुवेदीले बताए । निषेधाज्ञाका कारण अहिले नयाँ उद्योग तथा व्यवसाय दर्ता नभएको कार्यालय प्रमुख सुवेदीले बताए । अवस्था सामान्य भएको भए नयाँ उद्योग तथा व्यवसाय थप हुने सङ्ख्या अझै बढ्नेमा निषेधाज्ञाका कारण पछिल्ला केही महिनामा दर्तामा कमी आएको उनले बताए ।

घरेलु तथा साना उद्योग कार्यालयले उद्योग र वाणिज्य दर्ता, नवीकरण, ठाउँसारी, पुँजी वृद्धि, उद्देश्य थपमार्फत १० महिनामा कूल एक करोड १९ लाख ५२ हजार दुई सय ७० रुपैयाँ राजस्व संकलन गरेको छ । उद्योग तर्फबाट ६६ लाख ३५ हजार नौ सय ७५ रुपैयाँ र वाणिज्यतर्फ ५३ लाख १६ हजार दुई सय ९५ रुपैयाँ राजस्व संकलन भएको हो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया