Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘डिजाइन काठमाडौं कन्टेस्ट’

‘डिजाइन काठमाडौं कन्टेस्ट’


काठमाडौं ।
कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि लक्षित गरिएको ‘डिजाइन काठमाडौं कन्टेस्ट’ सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले आयोजना गरिएको उक्त कार्यक्रममा देशभरबाट ५७ समूहले आफ्नो लिखित प्रस्तुति पेश गरेका थिए । कार्यक्रममा देशभरबाट कुल एक सय १६ जना विद्यार्थी सहभागी थिए ।

सहभागीमध्ये कक्षा १० का युरिसा वज्राचार्य, सुविका हमालको समूह र रिगा शर्माको समूह क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । कक्षा ११ बाट कृतज्ञ घिमिरेको समूह, दिलिशा थापा र इसहिता दहालको समूह क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै कक्षा १२ को तर्फबाट तिमिला डंगोलको समूह, विकीकुमार झाको समूह र रौनकरञ्जन मिश्रको समूह क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।

बौद्धिक प्रतिस्पर्धाका प्रत्येक कक्षागत समूहबाट प्रथम, द्वितीय र तृतीयलाई क्रमशः दश हजार, पाँच हजार र दुई हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले विद्यार्थीले बनाएका नवीनतम योजनालाई विभिन्न निकायमा पठाउनुपर्ने बताए । पूर्वविज्ञान तथा प्रविधिमन्त्री इ. गणेश शाहले आगामी दिनमा नास्टले यस्ता कार्यक्रम प्रत्येक स्थानीय तहमा लैजानुपर्ने सुझाए । स्थानीय तहमा लैजान नसके पनि प्रदेश राजधानी विकास कसरी गर्ने भन्नेबारे कन्टेस्ट आयोजना गर्नुपर्नेमा पूर्वमन्त्री साहले जोड दिए ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले हाम्रो विद्यालय शिक्षामा मौलिक चिन्तन गर्ने पाठ्यक्रममा कमी देखिएको बताए । नास्टका पूर्वउपकुलपति प्राडा जीवराज पोखरेलले विद्यार्थीहरुको पर्यावरणलाई स्वच्छ राख्ने तथा नयाँ घरमा पुराना वस्तुलाई समावेश गर्ने योजना उत्कृष्ट लागेको बताए । नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाउने बौद्धिक प्रतिस्पर्धामा निःशुल्क रुपमा आवेदन दिन पाउने व्यवस्था थियो ।

प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौं कन्टेस्ट’मा एकल वा समूहगत रुपमा प्रतिस्पर्धामा भाग लिएका थिए । काल्पनिक रुपमा विद्यार्थीहरुले कम्तीमा २० पन्ना सहरको परिकल्पना गर्नुपर्ने थियो । एसिया टाइम्सका लेखक भीम भुर्तेलले विद्यार्थीहरुलाई शोधलेखन कला सिकाउनुपर्ने बताए । नास्टका सचिव डा. महेशकुमार अधिकारीले विदेशीहरुले काठमाडौंलाई ‘ल्याण्ड अफ् गडेस’ भनेर बुझ्ने गरेको छ, त्यसलाई कसरी व्यवस्थित गर्ने योजना हुनुपर्ने बताए । नास्टका वैज्ञानिक डा. सुरेश ढुंगेलले कन्टेस्टमा सहभागी विद्यार्थीहरुको लेखन तथा कल्पनाको मूल्यांकन गर्दा उनीहरुको सोच साँच्चै काठमाडौं विकासका लागि कोशेढुंगा हुने बताए ।

आयोजक रिभोसाइन्सका सम्पादक लक्ष्मण डंगोलका अनुसार प्रतिस्पर्धीले आफ्ना परिकल्पना गर्दा काठमाडौं उपत्यकाको डिजाइन, भूगोल, वास्तुकला, समाज र सभ्यता, विज्ञान प्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु, नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवर्तन, धर्म र शिक्षा प्रणाली, सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कभर्डहल, व्यावसायिक केन्द्र र कला तथा मनोरञ्जन र अर्थ व्यवस्थापनजस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गरेका थिए । उनले दोस्रो डिजाइन काठमाडौं कन्टेस्ट आयोजना गर्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया