Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडा ईभी एक्स्पो सुरु

नाडा ईभी एक्स्पो सुरु


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा नेपालको इतिहासमै पहिलो नाडा ईभी एक्स्पो सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको चारदिने नाडा ईभी एक्स्पोको अर्थमन्त्री जनार्दन शर्माले शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । नेपालमा विद्युतीय गाडी प्रवर्द्धन गर्ने सरकारको नीति रहेको र यसबाट सरकार पछि नहट्ने उनको भनाइ थियो । ‘विद्युतीय गाडीलाई प्रवर्द्धन गर्दै आएका छौँ । त्यसबाट पछि हट्दैनौँ,’ मन्त्री शर्माले भने, ‘अब कोइला, डिजेल, पेट्रोलको युग सकियो अब ईभी, हाइड्रोजनतर्फ गइरहेका छौँ ।’ अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको समेत बताए । पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको उनले जानकारी दिए । यस्तै उनले विद्युतीय गाडीको उत्पादन नेपालमा नै गर्न पनि आग्रह गरे । त्यसको लागि विद्युत् र ब्याजमा थप सहुलियत दिन सरकार तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नाडाका अध्यक्ष धुव्र थापाले नेपालमा विद्युतीय सवारीसाधनकोे अपरिहार्यतालाई महसुस गर्दै नाडा ईभी एक्स्पोको आयोजना गरिएको बताए । विद्युतीय सावरीसाधनको महत्व बढ्दै गएको भन्दै उनले प्रदूषण कम गर्ने मात्र नभई विद्युत् खपतमा सहयोग पुग्ने बताए । वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रीन नेपालको अवधारणा साकार हुने उनको भनाइ थियो । यस्तै उनले सरकारले विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्ने बताइरहँदा एक सय किलोवाटमाथिका गाडीमा कर बढाउनु उपयुक्त नभएको बताए । ‘सरकारले एक सय किलोवाटमाथिका गाडीमा कर बढाउँदा प्रोत्साहनको सट्टा निरुत्साहन भएको छ’, अध्यक्ष थापाले अर्थमन्त्रीलाई इङ्गित गर्दै भने, ‘नेपालको भौगलिक अवस्थाअनुसार दुई सय किलोवाट क्षमतासम्मका गाडीलाई पुरानै व्यवस्थाअनुसार कर कायम गरिदिन अनुरोध गर्दछु ।’

सरकारले नेपालमै गाडी एसम्बल गर्न आग्रह गरे पनि त्यसको लागि स्थिर नीति आवश्यक रहेको अध्यक्ष थापाले बताए । सरकारले स्थिर नीति लिए व्यवसायीहरू पार्टपुर्जाको उद्योग समेत खोल्न तयार रहेको उनले बताए । यस्तै अध्यक्ष थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा नौ महिनादेखि अटो व्यवसायी मारमा परहेको जानकारी दिए । कार, जिप, भ्यान र एक सय ५० सीसीमाथिका मोटरसाइकल आयात खुला गर्न उनले अर्थमन्त्रीसँग माग समेत गरे । सवारी प्रतिबन्ध लामो समय नरहने अर्थमन्त्री शर्माले बताए । उनले अर्थतन्त्र सुधारतर्फ गइरहेको बताउँदै निर्यात वृद्धि गरी आयात खोल्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको सहुलियतका कारण ३०–३५ लाखमै गाडी पाउने अवस्था रहेको बताए । अध्यक्ष गोल्छाले पनि सरकारको नीति स्थिर रहनुपर्ने बताउँदै अन्तःशुल्क र भन्सार महशुल बढाउन नहुने उल्लेख गरे । वातावरण संरक्षण गर्नको लागि विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । नाडा ईभी एक्स्पोका सभापति अनुप बरालले एक्स्पोमा ५१ वटा स्टल रहेको जानकारी दिए । उनका अनुसार नाडा ईभी एक्स्पोमा नौवटा चारपाङ्ग्रे र एकवटा तीनपाङ्ग्रे रहेका छन् । १६ वटा दुईपाङ्ग्रे सवारीका स्टल रहेका छन् । गाडी ब्रान्डमा टाटा, हुन्डाइ, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपाङ्ग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ । यस्तै अग्नी ग्रुपले तीनपाङ्ग्रे टेरो ब्रान्डको सहभागिता गराएको छ भने दुईपाङ्ग्रे ब्रान्डहरूमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्सलगायत रहेका छन् ।

चापको व्यवस्थापनको लागि नाडाले खल्ती एपमार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई एक सय ५० रूपैयाँ र सर्वसाधारणको लागि दुई सय रूपैयाँ व्यवस्था गरेको छ । सीएटद्वारा प्रायोजित नाडा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा उपलब्ध रहेका छन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ । नाडाले १० प्रतिशत बजार हिस्सा ओगटी सकेको छ । अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने आकलन गरिएको छ । नेपाली चाडपर्वहरूको पूर्वाधारमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारीसाधनबारे अत्यधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पर्ण अटो व्यवसायीहरूको समस्टिगत प्रवर्द्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने नाडाको विश्वास छ ।

यस्तै नाडाले विद्युतीय गाडीको एक्स्पो मात्रै नभई विद्युतीय गाडीको जानकारी दिन ३ दिन ईभी चौतारी समेतको आयोजना गर्दै छ । शुक्रबारको गोष्ठीमा प्रविधि र इको सिस्टमको विषयमा छलफल हुने नाडाले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया