Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघट्दै ब्याजदर

घट्दै ब्याजदर


काठमाडौं । गतवर्ष यतिबेला बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउने होडबाजी थियो । तर, अहिले परिस्थिति फेरिएको छ । अधिक तरलताको स्थिति आएपछि बैंक तथा वित्तीय संस्था ब्याजदर घटाउने प्रतिस्पर्धामा छन् ।

अहिले बैंकिङ प्रणालीमा कुल निक्षेप ६० खर्ब ३४ अर्ब पुगेको छ । यो निक्षेपमा बैंकहरूले ५४ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न पाउँछन् । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमाभित्र रहेर कर्जा प्रवाह गर्न पाउँछन् । तर, अहिलेसम्म ५० खर्ब पाँच अर्ब रुपैयाँ प्रवाह भएको छ । यस आधारमा बैंक तथा वित्तीय संस्था अझै चार खर्ब २५ अर्ब लगानी गर्नसक्ने क्षमतामा छन् ।

निक्षेप बढ्दै जाने तर कर्जाको माग नहुने स्थिति भएपछि बैंकहरूले ब्याजदर घटाउन थालेका छन् । सबै बैंकको निक्षेपको ब्याजदर एकल विन्दुमा छ । कर्जाको ब्याजदर पनि एकल आउन थालेको छ ।

बैंकहरूले विज्ञापन नै गरेर एकल अंकको कर्जा अफर गरिरहेका छन् । विशेषगरी व्यक्तिगत आवास कर्जामा बैंकहरूले एकल अंकको ब्याजदरमा कर्जा दिने भएका हुन् । नबिल बैंक र ग्लोबल आईएमई बैंकले एकल अंकको ब्याजदरमा नै घरकर्जा दिने भएका छन् । नबिल बैंकले ‘ढुक्क घरकर्जा’मा नौ दशमलव ९९ प्रतिशतमै ऋण दिने सूचना सार्वजनिक गरेको छ । ग्लोबल आईएमई बैंकले पनि ‘ग्लोबल होमलोन’ स्किममा सात दशमलव ९९ प्रतिशतबाट नौ दशमलव ६६ प्रतिशत ब्याजदरमै कर्जा दिने भएकोे छ ।

बैंकिङ प्रणालीमा पैसा थुप्रिँदै गएको तर कर्जा विस्तार हुन नसकेको अवस्थामा बैंकहरूलाई ब्याजदर घटाउन दबाब परेको छ ।

अन्य क्षेत्रमा कर्जाको माग नआएपछि बैंकहरूले घरकर्जा र सेयर कर्जालाई फोकस गरेर कर्जाका स्किमहरू ल्याउन सुरु गरेको एक बैंकरले बताए । अहिले घरजग्गा र सेयर कर्जाको माग पनि बिस्तारै बढ्न थालेको छ ।

आर्थिक मन्दीका कारण पछिल्लो समय खराब कर्जा अनुपात बढेर गएको छ । तर, पनि बैंकहरूलाई निक्षेप बढ्दै गएपछि कर्जा प्रवाहमा दबाब परेको छ ।

राष्ट्र बैंकले पनि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट केही नीतिगत लचकता अपनाएको छ । जसबाट ब्याजदर घट्ने अपेक्षा गरिएको छ । घरकर्जा र सेयर कर्जामा जोखिमभार घटाएपछि बैंकहरूको ऋण दिने क्षमता पनि बढ्छ ।

निक्षेपको ब्याजदर घट्दै गएपछि बैंक तथा वित्तीय संस्थाको आधार दर पनि घट्दै गएको छ । पुस महिनामा अधिकांश बैंकहरूको आधारदर एकल अंकमा आएको छ । आधारदर सार्वजनिक गरेका १० वाणिज्य बैंकमध्ये आठवटाको एकल विन्दुमा झरेको छ । कुमारी बैंक र सिटिजन्स बैंकको आधारदर १० प्रतिशतभन्दा माथि देखिएको छ । नेपाल बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधारदर एकल विन्दुमा झरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया