Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसुनचाँदी धितोमा ५१ अर्ब कर्जा प्रवाह

सुनचाँदी धितोमा ५१ अर्ब कर्जा प्रवाह


काठमाडौं । सुनचाँदीको मूल्यले दिन–दिनै नयाँ रेकर्ड कायम गरिरहँदा बैंक तथा वित्तीय संस्थाहरूले पनि सुनचाँदी धितोमा कर्जा प्रवाह बढाएका छन् । घरजग्गाजस्तै सुनचाँदी पनि सबैभन्दा सुरक्षित घितोको रूपमा लिइने भएकाले पछिल्लो समय सुनचाँदी धितोमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह बढाएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस १८ गते (बुधबार) नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन प्रतितोला एक लाख २० हजार दुई सय रूपैयाँमा कारोबार भएको छ । चाँदी भने प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भएको छ । यसरी उच्च मूल्यमा सुनको कारोबार भइरहँदा बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा ५१ अर्ब ३९ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका ५४ वटा संस्थाले गत कात्तिक मसान्तसम्म सुनचाँदी धितोमा उक्त परिमाणमा कर्जा लगानी गरेका हुन् । यो कर्जा गतवर्षको सोही अवधिको तुलनामा ७९ करोड ५० लाख रूपैयाँले बढी हो । गतवर्ष बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा कुल ५० अर्ब ६० करोड ३० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार गत कात्तिकसम्म वाणिज्य बैंकहरूले मात्रै सुनचाँदी धितोमा ४६ अर्ब ६७ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब १८ करोड ३० लाख रूपैयाँले बढी हो । गतवर्ष कात्तिकमा वाणिज्य बैंकहरूले ४५ अर्ब ४९ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

No description available.

सुनचाँदी धितोमा वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा बढेको भए पनि विकास बैंकहरूले घटाएका छन् । विकास बैंकहरूले गत कात्तिक मसान्तसम्म सुनचाँदी धितोमा तीन अर्ब ६९ करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गतवर्षको सोही अवधिमा भन्दा ३२ करोड २० लाख रूपैयाँले कम हो । गतवर्ष कात्तिकसम्म विकास बैंकहरूले सुनचाँदी धितोमा चार अर्ब ११ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरूले भने गत कात्तिक मसान्तसम्म सुनचाँदी धितोमा कुल एक अर्ब दुई करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गतवर्षको सोही अवधिको तुलनामा तीन करोड ३० लाख रूपैयाँले बढी हो । गतवर्ष कात्तिकसम्म फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा ९९ करोड ३० लाख रूपैयाँ थियो ।

सुन आयातको अवस्था : सुन धितोमा प्रवाह हुने कर्जा बढेसँगै आयात पनि बढेको छ । भन्सार विभागका अनुसार गत कात्तिक महिनासम्म आठ अर्ब २० करोड ८१ लाख रूपैयाँबराबरको सुन आयात भएको छ ।

विभागका अनुसार गत साउनमा एक अर्ब ६५ करोड रूपैयाँबराबरको दुई सय किलो सुन आयात भएको थियो । भदौमा दुई अर्ब ४७ करोड रूपैयाँबराबरको तीन सय किलो सुन आयात भएकोे छ । असोजमा तीन अर्ब २२ करोड ३९ लाख रूपैयाँ बराबरको चार सय किलो सुन आयात भएको छ । कात्तिकमा भने त्यस अघिको महिनाको तुलनामा सुन आयात घटेको छ । कात्तिक महिनामा जम्मा ८५ करोड ६० लाख रूपैयाँबराबरको एक सय किलो सुन आयात भएको छ ।

कात्तिक मसान्तसम्म कुल आठ अर्ब २० करोड ८१ लाख रूपैयाँबराबरको एक हजार किलो सुन आयात भएको छ । यो चार महिनामा सरकारले सुन आयातबाट एक अर्ब २३ करोड १२ लाख रूपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा सात अर्ब ९५ करोड १८ लाख रूपैयाँबराबरको एक हजार एक सय १६ किलो सुन आयात भएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया