Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफको जीवन बीमा कोषमा उच्च वृद्धि

सिटिजन लाइफको जीवन बीमा कोषमा उच्च वृद्धि


काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा उच्च अंकले वृद्धि भएको छ । कम्पनीको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससिक वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सोमा एक सय ३० प्रतिशतले वृद्धि गरेको जानकारी दिएको छ ।

गत आर्थिक वर्षको पुस मसान्तमा कम्पनीको जीवन बीमा कोष एक अर्ब चार करोड ४० लाख रहेकोमा चालू आवको पुस मसान्तमा दुई अर्ब ३९ करोड ८१ लाख पुगेको छ । यसका साथै कम्पनीले गत आवको पुस मसान्तसम्ममा कुल बीमा शुल्क ८० करोड ८८ लाख संकलन गरेकोमा यस आवको सोही अवधिमा एक अर्ब ४० करोड २१ लाख संकलन गर्न सफल भएको छ ।

यसरी हेर्दा बीमा शुल्क आर्जन ७३ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा एक सय ३० प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४२ करोड एक लाखबाट ७३ प्रतिशतले बढाएर ७२ करोड ८० लाखको उचाइ चुमाएको छ ।

साथै कम्पनीले लगानी र बीमा लेखको धितो तथा अन्यकर्जाबाट प्राप्तहुने आयमा ५४ प्रतिशतको वृद्धि गरी १५ करोड चार लाख पु¥याएको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानीतथा कर्जा रकम चार अर्ब ९६ करोडमध्ये करिब ८३ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

साथै कम्पनीले उपलब्ध गराउने सेवाहरूलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसँग बीमा, नवीनतम बीमा योजनालगायतका योजनाहरूलाई निरन्तरता दिने जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया