राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रूपमा प्रस्तुत गरिएकाले सोहीअनुसार निर्देशित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल गरी सुझावहरू सङ्कलन गर्ने उद्देश्यले ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सरकारले बजेटमा बीमासहित पुँजी बजारलाई प्राथमिकता दिएको बताए । देशका सबै क्षेत्र र वर्गलाई समेट्ने गरी समावेशीकरणमा जोड दिने, बीमा कम्पनीले नाफामुखी मात्र नहेरी सेवासहितको उत्तरदायित्व वहन गर्ने र सचेतनापूर्वक स्वतः स्फूर्तरूपले बीमा गर्ने अवस्था सिर्जना गर्नेगरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन, उनले निर्देशन दिए ।
अर्थमन्त्री शर्माले लघुवित्त र लघुबीमालाई तालमेल गरी दुवैलाई सँगसँगै जनता नठगिने किसिमले दूरदराजका गरिब एवं साना किसानसम्म पु-याउन निर्देशन दिँदै ठूला टावरका साथै सरकारी र निजी क्षेत्रका संरचनाहरूको समेत बीमा गर्ने र कृषि तथा पशुपन्छी बीमाको दाबी सजिलै पाउने गरी कृषि तथा पशुपन्छी बीमा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुपर्ने बताए ।
अर्थमन्त्री शर्माले राष्ट्रिय पुँजी निर्माण र उत्पादनमा बीमालाई परिचालन गर्नेतर्फ गम्भीरतापूर्वक ध्यान दिन आग्रह गर्दै बीमा सूचना केन्द्र स्थापना गर्न र हरेक जिल्ला तथा पालिकामा बीमासम्बन्धी शिक्षा एवं चेतना फैलाउन बीमासम्बन्धी तालिमप्राप्त जनशक्ति तयार गर्नुका साथै प्रविधि विकासमा समेत जोड आग्रह गरे । साथै, उनले सरकारको मुख्य उद्देश्य गरीबी न्यूनीकरण भएकाले गरिबी न्यूनीकरणमा ठोस योगदान पुग्ने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन समेत निर्देशन दिए ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बीमालाई आम जनताले विश्वास गर्ने गरी सुरक्षित, व्यवस्थित र विश्वसनीयरूपमा अगाडि लगेमा मात्र नागरिकको हित हुने बताए । अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले बीमा क्षेत्रमा व्यवसाय र सेवाबीच सन्तुलन कायम गरी जेष्ठ नागरिक, बिरामी र अपाङ्गता भएकाहरूलाई समेत बीमामा कसरी समेट्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्बद्ध सबै सरोकारवालाहरूको सुझाव र बीमासम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन एवं अभ्यास समेतका आधारमा राष्ट्रिय बीमा नीतिको मस्यौदा तयार गरिएको जानकारी दिँदै राष्ट्रिय बीमा नीति आएपछि सोही नीतिअनुरूप प्रदेश र स्थानीय बीमा नीति तर्जुमा हुने विश्वास व्यक्त गरे । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूको स्वागत गर्नुका साथै कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले राष्ट्रिय बीमा नीतिको मस्यौदासम्बन्धी प्रस्तुति गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, कृषि तथा पशुपन्छी, कानुन, न्याय तथा संसदीय मामिला, गृह, महिला, बालबालिका तथा समाज कल्याण, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयहरू र राष्ट्रिय योजना आयोगका सहसचिवहरू तथा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरूका साथै बीमा समितिका निर्देशकहरू पूजन ढुङ्गेल (अधिकारी) र दिनेश कुमार लालको सहभागिता रहेको थियो ।
राष्ट्रिय बीमा नीतिको मस्यौदालाई परिमार्जन गरी अन्तिम रूप दिन कार्यदल गठन
सोही कार्यक्रममा राष्ट्रिय बीमा नीतिका सम्बन्धमा प्राप्त सुझावहरूलाई समेटेर व्यवस्थापिका संसद्मा प्रस्तुत बीमा विधेयकसँग तादात्म्य मिलाउने गरी राष्ट्रिय बीमा नीतिको मस्यौदालाई परिमार्जन गरी अन्तिम रूप दिन एक कार्यदल गठन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको अध्यक्षतामा गठित कार्यदलका सदस्यहरूमा अर्थ मन्त्रालय, कानुन तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिववहरू तथा बीमा समितिका निर्देशक रहेका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया