Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभ्रष्टाचारमा नेतृत्वबीच सहमतिका नमुना

भ्रष्टाचारमा नेतृत्वबीच सहमतिका नमुना


काठमाडौं । गएको हप्ता भ्रष्टाचारमा शीर्ष नेतृत्वबीच कसरी सहमति बन्दो रहेछ भन्ने एउटा बेजोडको नमुना प्रकट भयो । खासगरी उच्च पदमा कर्मचारी नियुक्ति र उनको थमौतीको सन्दर्भमा जोडिएको यो विषय आर्थिक लेनदेनसँग जोडिएर आएको छ । यद्यपि त्यस्तो लेनदेनका पक्षबाट भने अध्ययन भएको छैन । तर करिब दशकजति देशमा जो–जो प्रधानमन्त्री भए ती सबैका लागि अनिवार्य पात्रका रूपमा जोडिएका उच्चपदस्थ दुईजना कर्मचारी यसपटक भने अख्तियारको छापा र थुनामा परे । विदेश भाग्ने सम्भावना देखेर अख्तियारले पक्राउका लागि छापामार्दा पनि त्यस क्षण त्यो घरमा शक्तिकेन्द्रकै प्रतिनिधित्व रहेको पाइयो । अख्तियारले छापा मार्दा आफूलाई कसैले केही गर्न नसक्ने, धेरै ठूला वडाहरू आफ्ना पक्षमा रहेको भनेर छापामा पर्नेहरूले बताइरहेका थिए । समाचार विवरणमा आएअनुसार अख्तियार भने फिर्ता भएन अर्थात् उनीहरू अनुसन्धानका लागि अख्तियारको हिरासतमा परे । अदालतले समेत थुनामा राखेर अनुसन्धान गर्नू भन्ने आदेश दियो ।

यो विवरण हो देशको सूचना प्रविधिसँग सम्बन्धित अधिकारीको जो यस बारेका राज्यले खरिद गर्ने वस्तुहरूको ठेक्कामा झण्डै दशकदेखि नै शृङ्खलाबद्ध भ्रष्टाचार गर्दै आएका थिए । छ वर्षअघि सम्बन्धित ठाउँमा नियुक्त भएकामा यी अधिकारीलाई त्यसपछिका दुईजना प्रधानमन्त्रीले म्याद थमौती र दोहोर्याएर नियुक्ति गर्ने काम भयो । सामान्यतया सरकार फेरबदल हुँदा साथ तलदेखि माथिसम्मको कर्मचारी अदलीबदली हुने गर्छन् । यसले शासनमा अस्थिरता ल्याएको भन्नेसम्मका गुनासा पनि जन्माउने गरेको थियो । तर यो ठाउँमा चर्चा गरिएका ती कर्मचारीका बारेमा भने त्यस्तो भएन । एउटा सरकार प्रमुखले नियुक्ति गरेकै ठाउँ र काममा अर्को सरकार प्रमुखले पनि तिनैलाई काम लगाइरहे । बरु त्यस्तो काम लगाउन मापदण्डसमेत फेरबदल गरिए र थप जिम्मेवारी दिइयो । त्यो यतिबेलासम्म कायम रह्यो जुनबेला अख्तियारले अर्बौँको भ्रष्टाचार गरेको भनी अभियोग लगाएर अदालतमा मुद्दा दर्ता गराएपछि अनिवार्य निलम्बनमा परेनन् । नामभन्दा प्रवृत्तिको चर्चाभएको हुँदा ती कर्मचारी को थिए भन्ने उल्लेख गरिएन । यी व्यक्तिलाई ती पदमा नियुक्ति गरिएपछि देशमा तीनजना व्यक्ति प्रधानमन्त्री भए । यी तिनैजनाले यिनलाई जोगाइरहेका कारण नै भ्रष्टाचारका लागि यी शीर्षबीच बेजोडको सहमति भएको सन्दर्भ उठेको हो । उल्लेखित तीनैजना प्रधानमन्त्रीहरू कहिले सत्ता र कहिले विपक्षी दलका नेता भइरहे । तर जता रहेको भए पनि उनका काम भने यी कर्मचारीलाई जोगाइराख्नु नै रहेको देखियो ।

यसरी तीन जना प्रधानमन्त्रीले आफ्नो पालामा बेजोडरूपले च्यापेकाहरूको योग्यता भने भ्रष्टाचार गर्नमा पोख्त रहेको भन्ने बुझिन्छ । अख्तियारले लगाएको आरोपले नै यी कुरा बताउँछन् । अदालतमा मुद्दा परेपछि त्यसमा अख्तियारको काम बाँकी रहँदैन । तर यी कर्मचारीले गरेको कामका कारण मुद्दा चलिरकै समयमा उनको निवासमा छापा मारेर पक्राउ गर्नुपरेको अवस्था प्रकट भयो । उनीहरू विदेश भाग्ने तरखरमा लागेको भन्ने सूचनाका आधारमा यस्तो छापा मारिएको बताइएको छ । यसमध्येका एक जनाले त नेपालको सरकारी कर्मचारी रहेकै बेला विदेशमा स्थायी बसोबासको बन्दोबस्त समेत मिलाइसकेका रहेछन् भने दुवै जनाले सरकारी पदमै रहँदा सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली कमिसनबापतको रकम डलरमा नै त्यसैमा जम्मा गर्ने गरेको पाइयो । सरकारका नाममा उनले खरिद गरेको वा गर्न लागेको वस्तुहरू अरूको तुलनामा चालीस प्रतिशतसम्म महँगो रहने गरेको अख्तियारको अनुसन्धानबाट देखियो । यो कलाकै कारण अरू कर्मचारी निरन्तर फेरबदल भइरहँदा तिनै जना प्रधानमन्त्रीले यिनलाई भने थमौँती दिइरहे । त्यसैकारण तीनैजना नेताहरूबीच भ्रष्टाचारमा सहमति भएको भन्ने आमबुझाइ बनेको हुनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया