Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसहिद दिवसमा सहिदकै अपमान

सहिद दिवसमा सहिदकै अपमान


काठमाडौं । सहिदहरूको सन्दर्भमा ‘वन साङ्ग्लोले घर साङ्ग्लो खाने’जस्तो अवस्था प्रकट हुँदैछ । विगतमा नै जथाभावी जुनसुकै कारणले पनि मृत्युवरण गर्न पुगेकाहरूलाई पनि सरकारले सहिद घोषणा गरेर वास्तवमा नै देशमा परिवर्तन ल्याउन जीवन अर्पण गरेकाहरूको अपमान गरेको भन्ने व्यापक गुनासो रहिआएकै बेला फेरि सरकारले एकमुष्ठरूपमा ठूलो सङ्ख्यामा सहिद थप्न खोजेको कुरा आएको छ । यो वर्षको सहिद दिवसको सेरोफेरोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले करिब तीन हजारलाई छिट्टै सहिद घोषणा गर्न लागेको भनेर सार्वजनिकरूपमा नै जानकारी गराएका छन् । उनले बताएअनुसार ‘झन्डै तीन हजार छुट भएकाको सहिद घोषणा फेरि हुँदैछ । क्याबिनेटबाट निर्णय भइसकेको छ, गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ, त्यसो गर्दा अर्को तीन हजार छुट भएका सहिदहरू पनि राष्ट्रिय सहिदमा घोषणा हुने छन् ।

यसको अर्थ हो आजभोलि नै कम्तीमा तीन हजार त थपिने नै भयो । त्यतिले पनि नपुगेर यसपछि पनि अर्को तीन हजारको संख्या थप्ने योजनामा प्रधानमन्त्री रहेको देखिन्छ । त्यसै दिनको सार्वजनिक भाषणमा उनले थप भने– अझै केही छुट भएको छ भने त्यो छुट भएको बाँकीको पनि लिस्टिङ गर्दैछौँ । त्यसलाई पनि घोषणा गरिन्छ । त्यो बेला अर्को पनि तीन हजारकै संख्या पुग्न सक्छ, यो निर्णय आफैँमा सामान्य निर्णय होइन, यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ, युद्धलाई सम्मानित गरेको छ । र, सहिदहरूलाई राष्ट्रिय सहिदको रूपमा सम्मानित गरेको छ ।

स्वाभाविक छ प्रचण्डको यो भनाइअनुसार त्यो सूचीमा पर्नेहरू सबै माओवादी नै हुने छन् । यो ठाउँमा अझ अचम्मको कुरा के हो भने शान्ति सम्झौता सम्पन्न भएको अठार वर्षको समयअन्तरमा त्यसअघिको कथित युद्धमा मारिएका यो पक्षका कार्यकर्ता यो सूचीका प्रमुख पात्र हुन् । आजको दिनमा यसको छानबिन गर्ने निकाय पनि गृह मन्त्रालय नै हो । जो माओवादीकै साथमा छ । प्रधानमन्त्रीको यस्तो घोणाप्रति नेपाली कांग्रेससहित कुनै पनि सत्ता साझेदार दलले सामान्य विरोधसमेत गरेको पाइएन । सहिद घोषणा गरेपछि तिनका परिवारलाई नियमित आर्थिक सहयोग गर्नुपर्ने हुन्छ । एउटा त नक्कली सहिद बनाइँदा वास्तविक सहिदको अपमान हुने भयो नै । साथै, देशले ठूलो आर्थिक भारसमेत व्यहोर्नुपर्ने हुन्छ । त्यसकारण पनि सहिद थप्ने कुरालाई त्यति सहजरूपले नलिन विज्ञहरूले सुझाव दिइरहेका हुनुपर्छ ।

अहिले मनाइएको सहिद दिवस १९९७ मा राणाहरूले फाँसी दिएका चार जनाका स्मरणमा हो । सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको नाम नेपाली सबैले पुज्नेमध्येमा पर्छन् । जहानिया राणा शासनविरुद्ध उहाँहरूको बलिदान सामान्य थिएन । पछि त्यसमा विभिन्न जनआन्दोलनहरूमा सहादत पाएकाहरूको पनि जोडियो । यो पनि सयको सङ्ख्या कटेको थिएन । जब माओवादीका कथित जनयुद्धको कुरा आयो अनि सहिदको सङ्ख्यामा हिसाब नै हुन छाड्यो । प्रधानमन्त्रीले भनेअनुसार पछिल्लोपटक तीन हजारको नाम थपिँदा सहिदको सङ्ख्या १५ हजारभन्दा माथि पुग्छ । कतिसम्म भने अहिले त सहिदहरूको सङ्ख्याको आधिकारिक सूची समेत छैन । विभिन्न समयमा घोषित भएका सङ्ख्या एक ठाउँमा राखिँदा करिब १२ हजारभन्दा बढी सहिद घोषणा भइसकेको भेटिन्छन् । यो तीन हजार पनि त्यसैमा थपिने हो । सहिदजस्तो अत्यन्त सम्मानित पदविलाई किन यसरी अपमानित गरिँदैछ भन्ने अध्ययन हुन जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया