Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयपूर्व–पश्चिम हुलाकी राजमार्गलाई किन विभेद ?

पूर्व–पश्चिम हुलाकी राजमार्गलाई किन विभेद ?


काठमाडौं । पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गपछि अहिले पूर्व–पश्चिम नै जोड्ने मध्यपहाडी राजमार्ग सञ्चालनमा छ । केही अघि मात्रै प्रमुख प्रतिपक्षी दलले यो मार्गबाट पश्चिम–पूर्व यात्रा सम्पन्न गरिसकेको छ । त्यसमा पूर्वको अन्तिम खण्डको करिब सय किलोमिटरभन्दा कम लम्बाइको एक ठाउँमा मात्रै जुनसुकै वाहन चल्न नसक्ने अवस्थामा रहेकोबाहेक करिब अठार सय किलोमिटर दूरीको यो मार्ग राम्रैसँग सञ्चालनमा आइरहेको त्यो यात्राले नै देखायो । यो यात्रा सामान्य प्रकारकै मोटरगाडीबाट तय भएको थियो । अठार दिनको त्यो यात्रा बाटोको खराबीका कारण रोकिएको वा वैकल्पिक मार्ग खोज्नुपरेको भन्ने कतै सुनिएन । अर्थात् यो मार्ग गुणस्तरीय नै रहेको भन्ने यसले बुझाउने कुरा हो । यो मार्गको यति लामो चर्चा किन गरियो भने योभन्दा धेरै अघि सुरु भएको तराईको पूर्व–पश्चिम जोड्ने र महेन्द्र राजमार्गले भन्दा ठूलो संख्यालाई सुविधा पुग्ने तथा लम्बाइमा पनि त्योभन्दा कममै पूरा हुने नेपालको सबैभन्दा दक्षिणी क्षेत्रमा रहेको पूर्वदेखि सुदूरपश्चिमसम्म जोड्ने हुलाकी राजमार्ग किन सरकारको बक्र दृष्टिमा परेको भन्ने हो ।

पहिला हुलाकीहरूले चिठीपत्र बोेकेर हिँड्ने यो बाटोलाई राजमार्गकारुपमा विकास गर्ने भन्ने अवधारण पचासकै दशकमा अघिसारिएको हो । यही मार्गसंग जोडन भनेर त्यतिबेला उत्तरदखिनका बाटा निर्माण हुन थाले तर खासगरी भित्री तराईका स्थानीयको आर्थिक अवस्था सुधार गरी चौतर्फी विकास गर्ने उद्देश्यले प्रस्ताव गरिएको यो हुलाकी राजमार्ग भने अहिलेसम्म जस्ताको त्यस्तै छ । यो मार्गलाई व्यवस्थित र स्तरीय बनाउन सरकारले आर्थिक वर्ष २०६६/६७ मा योजनामा समावेश गरेर बजेट पनि विनियोजन गर्न थालेको थियो । तर पछि यो मार्ग त्यहीरूपले विकास हुन सकेन । मधेश क्षेत्रले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन चलाएका कारण पनि यो मार्ग सरकारको आँखाबाट ओझेलमा पर्दै गएको बुझाइ धेरैको छ । यो मार्ग अहिलेजस्तो अवस्थामा छ त्यो एक प्रकारले मृत्युमार्ग भने पनि हुने नियतिमा छ । तराईको क्षेत्र भएका हुनाले पहाडीमार्गमा जस्तो यातायातका सधानहरू एकैचोटि खोँचहरूमा गायब नहोलान् तर तराईमा जनधनको क्षति बढी नहुने अवस्थामा पनि दुर्घटनाचाहिँ दिनहँु भइरहेकै समाचारहरू आइरहेको पाइन्छ । गोरुगाडा हिँड्ने अवस्थामै छ सडक । यसलाई आवश्यक पर्ने पुलपुलेसा पनि नबनाइएका कारण साधनहरू बाह्र महिना चल्ने अवस्था छैन । पछिल्लो समय सत्तारुढ दलका महामन्त्रीको हुलाकी मार्गबाट थालिएको संवादयात्रामा स्थानीयको मुख्य गुनासो आफूहरुलाई अर्थात् यो क्षेत्रमा सरकारले विकासमा विभेद गरेको भन्ने नै रह्यो जो दुःखद् नै मान्नुपर्छ ।

समाचार विवरणमा आएअनुसार चालू आव २०८०/८१ मा सडकमा अर्थले यो अवधिसम्म अन्य धेरै सडक आयोजनाहरूका लागि बहुवर्षीय ठेक्का सहमति दिइसकेको छ । यो हुलाकी राजमार्गका बारे भने उसको व्यवहार यस्तो देखियो जो नेपालका कुनै योजनामा नहोस् । तर यता सरकारले नै गरेको रेखांकनमा यो राजमार्ग अरूभन्दा किफायती छ । पूर्वको झापा भद्रपुर, मेची पुलदेखि पश्चिम कञ्चनपुरको दैजीसम्मको कुल लम्बाइ नौ सय ७५ किलोमिटर मात्र छ । राजमार्गको लम्बाइ जति छोटो भयो त्यो यातायातका लागि किफायती मानिन्छ । तर सरकारले भने यो मार्गलाई किन भेदभाव गरिहेको छ भन्ने बुझ्न सकिएको छैन । खासगरी मधेश प्रदेशका नेताहरू यो बेवास्ताप्रति बढी सचेत हुनुपर्ने हो । त्यस्तो पनि देखिएन । सरकार आफैँ सन्तुलित विकासको कुरा गर्छ भने यो मार्ग किन यसरी अपहेलनामा परेको हो ? सरोकारवाला निकायले यसको अविलम्ब जवाफ देओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया